‘अन्तर्राष्ट्रिय तामाङ परिषद्लाई साँच्चिकै अन्तर्राष्ट्रिय संस्थाको रुपमा विकास गर्ने गरी संगठनात्मक संरचना निर्माण गर्दैछौँ’-टाशी लामा

काठमाडाैँ

(सन् २००० मा स्थापना भएको अन्तर्राष्ट्रिय तामाङ परिषद् (आईटीसी)ले स्थापनाको दुई दशक पार गरिसकेको छ । विश्वभरि विभिन्न मुलुकमा बसोबास गर्दै आएका तामाङहरूलाई जोड्दै तामाङ समुदायको वृहत् हितका निम्ति काम गर्ने उद्देश्यले परिषद्को स्थापना भएको हो । विश्वका ११ मुलुकका तामाङ सङ्गठनहरू अन्तर्राष्ट्रिय तामाङ परिषद्मा परिषद् सदस्यको रूपमा आबद्ध रहेका छन् ।

यतिबेला अन्तर्राष्ट्रिय तामाङ परिषद् पाँचौँ सम्मेलनको अन्तिम तयारीमा जुटिरहेको छ । आगामी जेठ २० र २१ गते (जुन ३ र ४ तारिख) दुई दिन थाइल्यान्डको राजधानी बैंककमा पाँचौँ सम्मेलन हुँदै छ । परिषद्ले सम्मेलनको नारा ‘जम्मुलिङ खोरला जोम्जा ङ्हा, तामाङ रिमठिम तेन्बा ङा’ तय गरिएको छ । यसै सन्दर्भमा प्रस्तुत छ- परिषद्, परिषद्को पाँचौँ सम्मेलन तयारी र सम्मेलनका मुख्य एजेन्डाका विषयमा केन्द्रित रहेर परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामा तामाङसँग सैलुङअनलाइनले गरेको कुराकानी )

टाशी जी ! स्वागत छ यहाँलाई सैलुङअनलाइनमा ।

धन्यवाद !

व्यस्त हुनुहुन्छ होला, अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) को सम्मेलनको तयारीमा ।

हजुर, पाँचौँ सम्मेलनको तयारीमा छौँ ।

कुराकानीको आरम्भ, अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) संस्थाबाटै गरौँ । अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) के हो ? परिषद्का स्थापनाका मूलभूत उद्देश्यहरू के के हुन् ?

तामाङ जातिको आफ्नो मौलिक पहिचानको विकास नेपालको मध्य पहाडी भेग जसलाई हामी ताम्सालिङ भन्छौँ क्षेत्रमा भयो । तामाङहरूको छुट्टै इतिहास (दोङराप), भाषा, संस्कृतिको विकास भयो, हाम्रा पुर्खाहरू जो यसै क्षेत्रमा हजारौँ वर्षको बसाइको क्रममा । इतिहासका विभिन्न कालखण्डहरूमा दक्षिण पूर्वी एशियाका विभिन्न भू-भागहरूमा तामाङहरूको बसोबास, बस्तीहरू विस्तार हुँदै गयो । राज्यका आधुनिक सिमाङ्कनको क्रममा ती भू-भागहरू भारत, बङ्गलादेश, भुटान, बर्मा, थाइल्यान्ड, मलेसियालगायत देशहरूमा पर्न गए । आधुनिक राज्यको सिमाङ्कनले तामाङहरूलाई विभिन्न देशका नागरिकहरूको रूपमा छुट्याइ दिए ।

पछिल्लो समयमा अध्ययन, रोजगार र अन्य विभिन्न कारणले अमेरिका, त्यसै गरी युरोपका विभिन्न देशहरू अस्ट्रेलिया, क्यानडा जस्ता देशहरूमा पनि पुगे । त्यहाँका आप्रवासी कानुन अनुसार उनीहरूले त्यहीँको नागरिकता लिने अधिकार पाए, नागरिकता प्राप्त लिए, उतैका स्थायी बासिन्दा भए । स्थायी बासिन्दाकै रूपमा उनीहरू ती देशका नागरिकको रूपमा बस्दै आए ।

उनीहरू देशको राजनीतिक सीमाका हिसाबले कोही भारतीय, कोही बर्मेली, कोही अमेरिकन, कोही युरोपियन हुन गए । नागरिकताको हिसाबले उनीहरू विभिन्न देशका नागरिक भए तर पहिचानको हिसाबले उनीहरू तामाङ नै हुन् । पहिचानको हिसाबले संसारको जुन सुकै देशमा पुगे पनि उनीहरू तामाङ नै हुन्, हाम्रा सन्तान हुन्, हाम्रा आफन्तजन हुन् । त्यस कारण यी सबै जसलाई राज्यको सीमाले छुट्याइ दिए, उनीहरू सबैलाई जोड्ने पुलको रूपमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को स्थापना गरेका हौँ । यही रूपमा काम गरिराखेका छौँ हामीले । जुन जुन देशमा तामाङ छन्, तामाङ सन्तानहरु छन्, उनीहरू बिचमा भ्रातृत्व, एकता, सद्भाव, मित्रता कायम गर्ने र हामी संसारको जुनसुकै ठाउँमा रहे पनि तामाङ हौँ भन्ने पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय परिषद्ले काम गरिराखेका छौँ ।

परिषद् (आइटीसी)का संस्थागत संरचना बारे बताई दिनुहोस् न ।

संसारका विभिन्न देशमा बस्ने हामीहरु सबै तामाङ हौँ, सँगै विभिन्न देशका नागरिक पनि । जस्तो, भारतमा बस्ने तामाङहरु भारतीय तामाङ हुन् । बर्मामा बस्ने बर्मिज तामाङ । अमेरिकामा बस्ने अमेरिकन तामाङ हुन् । नागरिकको हिसाबले उहाँहरु बिभिन्न मुलुकको नागरिक हुनुहुन्छ । उहाँहरु र हामीहरु जहाँ बसे पनि तामाङ हौँ तर नागरिकको हिसाबले विभिन्न देशका नागरिक पनि हौँ । त्यसकारण हामीले संगठनको नाम अन्तर्राष्ट्रिय तामाङ परिषद् भनेका हौँ ।

विभिन्न देशमा बस्ने हाम्रा आफन्तहरु बिच सम्बन्ध स्थापित गर्ने गरी संगठनको निर्माण गर्नु पर्ने रहेछ । हामीले स्थापनाकालदेखि नै भन्दै आएको कुरा सम्मेलन जुन देशले आयोजना गर्यो त्यही देशको अध्यक्ष हुनेछ । त्यसले हामीहरु बिचमा प्रतिस्पर्धा भन्दा पनि सद्भाव, एकता र मित्रता कायम गर्दछ । यसमा हामीहरु बिच को ठूलो ? को सानो ? भन्ने नै हुँदैन ।

कुनै देशमा तामाङको जनसंख्या ठूलो होला, कुनैमा सानो जनसंख्या होला । हामीहरु बिचको सम्बन्ध चाहीँ मित्रताको सम्बन्ध हुन्छ । भातृत्व, एकता र सद्भावको सम्बन्ध हुन्छ । हामीहरु बिच आदेश वा निर्देश दिने नभएर एक अर्काका बिच सद्भाव निर्माण गर्ने संगठन हो यो । संगठनको संरचना त्यही अनुसार निर्माण गरिएको छ । अघि पनि मैले भने चौथो सम्मेलन भारतको दार्जीलिङ मिरिकमा भयो, अध्यक्ष पनि भारतकै हुनुहुन्छ के एम तितुङ जी । अबको सम्मेलन थाइल्यन्डमा हुँदैछ, अध्यक्ष पनि थाइल्यन्डकै हुन्छ । त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा भ्रातृत्व, एकता र सद्भावको आधारमा संगठन पनि त्यही विषयहरुलाई प्रतिनिधित्व हुने गरी संगठनात्मक संरचना बनाउनु पर्ने हुन्छ । त्यही संगठनात्मक संरचना हामी अभ्यास गर्दैछौँ ।

टाशी जी ! तपाईं सन् २०१८ मा भारतको दार्जिलङ मिरिकमा सम्पन्न चौथो सम्मेलनबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । मिरिक सम्मेलनले त्यतिबेला १३ बुँदे घोषणापत्र पनि जारी गरेको थियो । घोषणापत्रमा केही महत्वपूर्ण र उल्लेख्य बुँदाहरु थिए- तामाङ भाषा प्रवद्र्धन र तामाङ समुदायको शैक्षिक अवस्था सुधारका सम्बन्धमा । जस्तो, तामाङ भाषा प्रवद्र्धनका सम्बन्धमा तामाङ भाषा विद्यालय सञ्चालन, तामाङ भाषा अनलाइन कोर्स सञ्चालन, तामाङ-अंग्रेजी-नेपाली यान्त्रिक अनुवाद सफ्टवेयर निर्माण गर्ने भनेर तामाङ भाषा प्रवद्र्धन तर्फ घोषणा सार्वजनिक गरेका थिए । तामाङ समुदायको शैक्षिक अवस्थामा थप सुधारका लागि भनेर तामाङ नमूना विद्यालयहरु सञ्चालन र अन्र्तराष्ट्रिय स्तरमै एउटा शैक्षिक सहयोग कोष स्थापन गर्ने घोषणा पनि गरिएको थियो । यी घोषणाहरु कार्यान्वयनमा आए ?

अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्यहरूको सम्बन्धमा चाहिँ कस्तो हुँदो रहेछ भने जस्तो, म पदीय हिसाबले वरिष्ठ उपाध्यक्ष छु तर अन्तर्राष्ट्रिय तामाङ परिषद्को सदस्य होइन । म पदाधिकारीमा त छु तर नेपाल तामाङ घेदुङको प्रतिनिधिको हैसियतले छु । यहाँ बुझ्नु पर्ने कुरा अन्तर्राष्ट्रिय तामाङ परिषद्को सदस्य चाहिँ संस्था हुन्छ । विभिन्न देशका संस्थाहरू अन्तर्राष्ट्रिय तामाङ परिषद्को सदस्य हुन्छन् ।

त्यसैले घोषणापत्रमा जुन जुन विषयहरू उल्लेख गरेका छौँ त्यसको कार्यान्वयन चाहिँ कुनै पनि देशको परिषद्सँग सम्बन्धित सदस्य संस्था मार्फत लागु गर्नु पर्ने हुँदो रहेछ । सम्बन्धित सदस्य संस्थाहरूले गर्ने काम कार्यवाही नै अन्तर्राष्ट्रिय तामाङ परिषद्को काम कार्यवाही भनेर बुझ्नु पर्ने रहेछ । स्वतन्त्र रूपले छुट्टै संस्थाले गर्ने भन्दा पनि सम्बन्धित देशको सदस्य संस्थाले गर्ने काम भन्ने बुझ्नु पर्ने रहेछ यहाँ । नेपालको सन्दर्भमा भन्दा नेपाल तामाङ घेदुङ परिषद्को सदस्य संस्था हो, यो बुझ्नु पर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले घोषणापत्रमा उल्लेख गरेका विषयहरू कार्यान्वयन गर्नका निम्ति समन्वयकारी भूमिका खेल्नु पर्ने हुँदो रहेछ । त्यसैले भाषाको सन्दर्भमा तामाङ भाषा प्रवर्द्धनका लागि भच्र्युअल क्लासहरू निर्माण तथा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

अर्को, हाम्रो भएको चाहिँ के हो भन्दा चार वर्षे कार्यकालमा पहिलो वर्ष सङ्गठन निर्माणमै बित्यो । पहिलो वर्ष हामीले निर्धारण गरेका विश्वका विभिन्न क्षेत्रहरू दक्षिण पूर्वी एसिया क्षेत्र, दक्षिण एसिया, खाडी क्षेत्रहरूमा सम्मेलनहरू गर्ने, सङ्गठनलाई मजबुत गर्ने काममा बित्यो । पहिलो वर्ष मार्चमा युरोपको बेल्जियममा सम्मेलन सम्पन्न गरेयता कोभिडका कारण आवतजावत नै रोकियो र कार्यक्रमको विषयहरू कम हुँदै गयो । कार्यक्रमहरू गर्न सकेन । त्यसपछि अन्तिम वर्ष सम्मेलनको तयारी गर्नै पर्‍यो ।

अर्को कुरा नेपालमा स्थानीय चुनाव, नेपाल तामाङ घेदुङकै सम्मेलन आदिले गर्दा अन्तिम वर्ष उक्त कामहरू प्रभावकारी ढङ्गले गर्न सक्ने अवस्था नबन्दो रहेछ । अन्तिम वर्ष चाहिँ आधारभूत रूपले अर्को सम्मेलनको तयारीमा जाँदोरहेछ ।

आवधिक सम्मेलन, आन्तरिक मूल्याङ्कन आदि जीवित सङ्गठनहरूको अनिवार्य विषय हुन् । त्यस कारण अन्तिम वर्ष चाहिँ सम्मेलनको तयारी गर्ने, सकेको बाँकी काम कारवाहीहरु गर्ने र सङ्गठनलाई एउटा फ्रेममा राख्ने काममा नै बढी समय बित्यो । त्यस कारण परिषद्ले घोषणापत्रमा घोषण गरेका विषयहरू जुन छ त्यो प्रभावकारी ढङ्गले चाहिँ लागु भएन । तथापि हामीले भाषाको सन्दर्भमा, शिक्षाको सन्दर्भमा हाम्रा सदस्य संस्थाहरू मार्फत् जस्तो कि विभिन्न देशहरूमा हाम्रा सदस्य संस्थाहरूको शैक्षिक कोषहरू छन् ती आ-आफ्नो देशमा आ-आफ्नै तरिकाले चलाउने भन्ने परिषद्को नीति अनुसार नै चलिराखेका छन् ।

केन्द्रीकृत नगरीकन आ-आफ्ना देशले जो हाम्रा सदस्य संस्थाहरू हुन् उहाँहरू नै यसको कार्यान्वयन गर्ने जिम्मेवार संस्थाहरू हुन् । उहाँहरूले कार्यान्वयन गर्ने विषय नै फेरि पनि अन्तर्राष्ट्रिय तामाङ परिषद्को विषय हो । त्यस कारण शैक्षिक कोष बनाउने कुरा, तामाङ भाषा संस्थागत गर्ने कुरामा तामाङ अन्तर्राष्ट्रिय परिषद्को समन्वयकारी भूमिका रह्यो ।

फेरि घोषणापत्रमै जाउँं । मिरिक सम्मेलनद्वारा जारी घोषणापत्रमा अर्को उल्लेख्य कुरा-‘अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहलमा बुद्धको जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माणको लागि अखिल भारतीय तामाङ बौद्ध सङ्घको नाममा नेपाल सरकारबाट जग्गा प्राप्त भइसकेको हुँदा उक्त जमिनमा अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा धर्मशाला निर्माण गर्न एक स्वायत्त संस्थाको रूपमा ‘अन्तर्राष्ट्रिय तामाङ गुम्बा निर्माण समिति गठन गरी काम अघि बढाइने’ थियो । प्रक्रिया अघि बढ्यो त ?

धेरै राम्रो जिज्ञासा राख्नु भयो । त्यतिखेर पारित गरेको विषय चाहिँ के थियो भन्दा लुम्बिनी, बुद्धको जन्मभूमिमा अखिल भारतीय तामाङ बौद्ध सङ्घले एक चाक्ला जमिन गुम्बा निर्माणको निम्ति प्राप्त गरेको थियो । त्यसलाई कार्यान्वयन गर्नका निम्ति अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहलमा एउटा स्वतन्त्र संस्था निर्माण गर्ने भनेका थियौँ किनभने त्यो परिषद्ले प्राप्त गरेको जग्गा थिएन । अखिल भारतीय तामाङ बौद्ध सङ्घले प्राप्त गरेको जग्गा थियो त्यो । गठित समितिले चाहिँ भवन निर्माणको काम सुरु गर्ने भन्ने त्यस बुँदाको आशय थियो र निर्णय पनि त्यही हो ।

परिषद्को पूर्वअध्यक्ष महेन्द्रजंग तामाङको अध्यक्षतामा समिति निर्माण गर्‍यौँ । अखिल भारतीय तामाङ बौद्ध सङ्घले प्राप्त गरेको जग्गा र छुट्टै स्वतन्त्र समिति बनाउँदाखेरि कतिपय प्राविधिक कठिनाइ हुँदो रहेछ । हामीलाई प्राप्त जानकारी अनुसार अखिल भारतीय तामाङ बौद्ध सङ्घले प्राप्त गरेको जग्गा र हामीले छुट्टै निर्माण गरेको कमिटीले काम गर्दा त्यो आधिकारिक रूपले स्वीकार्य हुन्छ कि हुँदैन भन्ने प्राविधिक कठिनाइ आएको भन्ने छ । तथापि आउने सम्मेलनमा हाम्रा पूर्वअध्यक्ष वा समितिको अध्यक्ष महेन्द्रजंगज्यू पनि जाँदै हुनुहुन्छ । उहाँले नै सम्मेलनमा परिषद्लाई सो बारे विस्तृत जानकारी गराउनु हुनेछ ।

पाँचौँ सम्मेलनको मिति नजिकिँदै छ । सम्मेलनको तयारी कहाँ पुग्यो ? कसरी अगाडि बढिरहेको छ ?

हामी सम्मेलनको पूर्व तयारीको अन्तिम चरणमा छौँ । जस्तो कि सदस्य संस्थाहरू नवीकरण गर्नुपर्ने, प्रतिनिधिहरूको छनोट र दर्ता, व्यवस्थापकीय पक्ष आयोजक देशले गर्नु पर्ने व्यवस्थापनको पक्ष (हलहरूको व्यवस्थापन, मञ्च व्यवस्थापन) आदि अन्तिम चरणमा पुगेको छ । त्यो सँगसँगै सम्मेलनमा प्रस्तुत हुने विधान, प्रतिवेदनको तयारी, एजेन्डा निर्माणका लागि हामीले विभिन्न समितिहरू निर्माण गरेका छौँ, सबै समितिहरूले उहाँहरूको जिम्मेवारी अनुसार अन्तिम तयारी गर्दै हुनुहुन्छ ।

सम्मेलनमा कुन कुन देशबाट कति प्रतिनिधिहरू सहभागी हुँदै छन् ? प्रतिनिधि छनोट प्रक्रिया सकियो ?

नेपाल र भारतबाट त धेरै प्रतिनिधिहरू जाने नै छन् । यसमा विधानले व्यवस्था गरेको चाहिँ के हो भन्दा नेपाल र भारत बाहेक अन्य देशहरूबाट कम्तीमा पाँच जना प्रतिनिधि भनेका छौँ र बाँकी चाहिँ पर्यवेक्षक हुनेछन् । त्यसपछि सम्मेलन आयोजक देशले सम्मेलन उद्घाटन समारोहमा मास प्रदर्शन, झाँकी प्रदर्शन आदि काम गर्नु पर्ने नै हुन्छ । त्यस कारण बर्मा र थाइल्यान्डबाट सम्मेलनमा ठुलो सङ्ख्यामा तामाङको सहभागिता रहने नै छ । त्यस बाहेक सदस्य संस्थाहरूले आ–आफ्नो देशबाट पर्यवेक्षकहरू पठाउनु हुनेछ ।

पाँचौँ सम्मेलनको मुख्य आकर्षण वा पाँचौँ सम्मेलनमा तामाङहरूको अन्तर्राष्ट्रिय सवालहरू के के उठान गर्दै हुनु हुन्छ ? सम्मेलनमा प्रस्तुत गर्ने प्रस्ताव (एजेन्डा) हरू के के छन् ?

हामीले के मूल्याङ्कन गरेका छौँ भने परिषद्ले अहिलेसम्म विभिन्न घोषणापत्रहरू जरी गर्‍यो, योजनाहरू बनायो । तर, ती घोषणाहरू, योजनाहरू कसरी कार्यान्वयन गर्ने भन्ने कार्यविधि चाहिँ बनाएन । परिषद् एउटा अन्तर्राष्ट्रिय संस्था भएकोले यसले सदस्य संस्थाहरू बिच कसरी योजना कार्यक्रमहरूको कार्यान्वयन गर्छ भन्ने ‘कन्फ्युजन’ सिर्जना गर्‍यो । विधानमा स्पष्ट व्यवस्था भए पनि बुझाइमा अलि गाह्रो भयो । त्यसैले यसपालिको सम्मेलनमा हामीले ‘ग्लोबल प्लान अफ एक्सन’ बनाउँदै छौँ । यसको फ्रेम वर्क तयार गर्दै छौँ । सम्मेलनमा हामी योजना, कार्यक्रम कार्यान्वयन कार्यविधि निर्माणमा केन्द्रित हुँदै छौँ । आगामी सम्मेलनको मुख्य विषय यही हुनेछ ।

आगामी सम्मेलनबाट परिषद्को साङ्गठनिक संरचना परिवर्तन गर्ने गरी विधान संशोधनको तयारी पनि हुँदै छ भन्ने कुरा आएको छ । के के संशोधन गर्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय संस्था भनेपछि अन्तर्राष्ट्रिय मर्म प्रतिनिधित्व गर्ने गरी सङ्गठनको संरचना निर्माण गर्नु पर्ने हुन्छ । तामाङहरूको अन्तर्राष्ट्रिय आयामहरू चाहिँ विविध प्रकारका छन् । तामाङहरू विभिन्न देशमा पहिले नै पुगेको भन्ने एउटा आयाम छ । अर्को आयाम चाहिँ नेपाली नागरिक नै हुन् तर कामको सिलसिलामा विभिन्न देशहरूमा प्रवासी हैसियतमा बसिरहेको तामाङहरूको बसोबास छन् । परिषद्को सङ्गठनात्मक संरचना यही आयामहरूलाई समेट्ने गरी निर्माण गर्नुपर्ने हुन्छ । मैले सुरुमै के निवेदन गरेँ भने जुन देशले सम्मेलन आयोजना गर्‍यो त्यही देशको अध्यक्ष हुने भन्ने चाहिँ सेरेमोनियल संरचना हो । परिषद्ले चौथो सम्मेलनसम्म आइपुग्दा आर्जन गरेका अनुभवहरू र काम कारवाहीहरुलाई संश्लेषण गरेर सङ्गठनात्मक संरचना पनि त्यही अनुसारको बनाउने छौँ । पहिले उठेको कुरा प्रवासी सङ्गठनहरू जम्मा गरेर अन्तर्राष्ट्रिय हुन्छ त भन्ने विषयहरू थियो । अहिले अन्तर्राष्ट्रिय र प्रवास दुवै हैसियत हुने हाम्रा परिषद्का सदस्य हुन् । त्यस कारण हामीले परिषद्लाई एउटा साँच्चिकै अन्तर्राष्ट्रिय संस्थाको रूपमा विकास गर्ने गरी सङ्गठनात्मक संरचना निर्माण गर्दैछौँ ।

तपाईको प्रतिक्रिया