प्यूटारमा १६ हप्ते कृषक पाठशाला

प्रकाश थिङ संवाददाता
140 Shares
ललितपुर

ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा गोलभेँडा खेतीमा बढ्दो विषादीलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित १६ हप्ते कृषक पाठशाला सम्पन्न भएको छ।

मंगलबार आईपीएम कृषक पाठशाला थाङ्सिङटारको प्यूटारमा सञ्चालित आईपीएम कृषक पाठशाला कृषक दिवसको अवसर पारेर समापन गरिएको हो ।

कार्यक्रममा स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण र पर्यावरण सन्तुलन लगायतका विषयमा कृषकहरूलाई सचेत गराउने उद्देश्यले २०७९ माघ २ गतेबाट सुरुवात गरिएको थियो ।

तरकारीमा जथाभाबी विषादीको प्रयोग बढ्दै गइरहेको अवस्थामा न्यूनीकरणका लागि वडा कार्यालयको आयोजना कृषक पाठशालाको आयोजना गरिएको कृषि अधिकृत सुवास खनालले जानकारी दिए ।

खनालका खुला तथा संरक्षित संरचनामा गोलभेँडा खेती गर्दै आएका कृषकहरूले आधुनिक खेती प्रविधि अवलम्बन गर्नका लागि समस्या भोगिरहेका तथा गोलभेँडामा पात खाने किरा, डढुवा रोग, ओइलिने रोग लगायतका विभिन्न समस्या भोग्दै आएको सन्दर्भमा पाठशालाले उत्पन्न समस्याहरूको स्वपहिचान तथा समस्याको दिगो व्यवस्थापनका उपायहरूको अवलम्बन गर्न प्रेरित गरेको छ । प्रयोगात्मक पाठशालामा सहभागी कृषकहरूमा गोलभेँडा खेतीको बेर्ना तयारीदेखि फल उत्पादन सम्म विषयवस्तुको ज्ञान, नेतृत्व क्षमता विकास सङ्गठनात्मक विकास जस्ता आयामहरूको विकासमा टेवा पुगेको खनालको भनाई छ ।

समापनका प्रमुख अतिथि वडा अध्यक्ष तथा सामाजिक विकास शाखा संयोजक रामकुमार लामाले कृषकलाई वडाबाट प्रत्यक्ष लाभ हुने र आय आर्जनमा टेवा पुग्न सक्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै अर्ग्यानिक कृषि उपज उत्पादन गरेर वडालाई कृषिमा आत्मनिर्भर बनाउन लागेको बताए ।

सहभागीहरूले कृषक पाठशालाले प्रयोगात्मक कक्षाबाट धेरै कुराहरू सिक्न पाएको र स्वस्थ बाली उत्पादन गर्न, शत्रुजीवको व्यवस्थापन गर्न साथै गोलभेँडामा देखा पर्ने विभिन्न समस्याहरूको पहिचान गरी व्यवस्थापन गर्न सक्षम भएको जनाइएको छ ।

कृषक पाठशालाका अध्यक्ष विमला लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनमाया घलानले प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सहभागीहरूले विषादीको प्रयोगबारे सचेतना दिने नाटक, आइपिएम गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य सुनमाया घलान राकेश लामा वडा सचिव लोकराज ओली रोमा जिम्बा कृषि अधिकृत अस्मिता तिम्सिना कृषि शाखा तथा वडा कार्यालयका कर्मचारी थाङ्सिङटारवासी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका