‘डम्फूमा बज्ने प्राय मौलिक तामाङ संगीतलाई चिन्न र बुझनको लागि सेलो राग सहयोगी बन्न सक्छ’–शुभ तामाङ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
294 Shares
काठमाडौं

सङ्गीतले जीवन र जगत् हुनुको अर्थलाई सौन्दर्यसँग जोडेर पूर्णता दिन्छ । सङ्गीतको सम्बन्ध सिधै हृदयसँग रहन्छ । हृदय संवेदनासँग जोडिन्छ । त्यो संवेदना निकै कोमल हुन्छ । त्यही कोमलताले संवेदना भाँचिन्छ र आँखाका डिलहरू भत्काउँछन् । सङ्गीतको गहिराई त्यति मात्र पनि होइन । सङ्गीतले सभ्यता, इतिहास र पुर्खाको गाथालाई बोकेर अघि सार्दछ । सङ्गीतको विषयमा जति लेखे पनि अधुरो र अपुरो हुन्छ किनभने यसको खोज अनन्त छ । यससँग सम्बन्धित हरेक खोजहरू एउटा अंश मात्र हुन् । यस्तै सङ्गीतका खोज तथा अनुसन्धानमा तल्लीन युवा सङ्गीत साधक हुन, शुभ तामाङ । वि.स. २०३६ साल पुस १३ गते साबिक घुर्काैली गाविस वडा नं.–२, हाल हरिवन नगरपालिका वडा–५ सर्लाही जिल्लामा पिता दमैसिं घलान, माता बुद्धिमाया स्याङ्तानको कोखबाट जन्मनु भएका तामाङले सङ्गीत विषयमा ललितकला क्याम्पस काठमाडौँबाट स्नातकसम्मको अध्ययन पुरा गर्नु भएको छ । उहाँ विगत पच्चीस वर्षदेखि सङ्गीत कर्मसँग सम्बन्धित हुनुहुन्छ । उहाँको पछिल्लो समय ‘तिम्रो मनमा के छ के छ, मेरो मनमा तिमी’ बोलको गीत निकै लोकप्रिय रहेको छ । सिर्जनासँगै सङ्गीत खोज र अनुसन्धानमा पनि त्यति क्रियाशील तामाङले मौलिकताभित्र सङ्गीत खोजी गर्ने क्रममा सेलो राग पुस्तक प्रकाशनमा ल्याएको छ । तामाङ डाजाङको संयोजन र प्रकाशन रहेको पुस्तकलाई डाजाङको २२ औ वार्षिक उत्सवको अवसर पारेर हालै विमोचन गरिएको हो । त्यसैसँग सम्बन्धित रहेर सैलुङअनलाइनका लागि गायक तथा सङ्गीतकार शुभ तामाङसँग कृष्णकुमार लामाले गरेको कुराकानीको अंश ।

यहाँले भर्खरै प्रकाशनमा ल्याएको सेलो राग पुस्तक सम्बन्धी छोटकरी बताइदिनुहोस् न ?

सेलो भन्न साथ यो सिधै हामी तामाङ जातिसँग जोडिएर आउने गर्व गर्ने विषय हो । हाम्रा पुर्खाहरूले प्राचीन कालदेखि नै जीवन पद्धतिसँगै सङ्गीतलाई अङ्गाल्दै आएको पाइन्छ । ती पक्षहरू आजको दिनसम्म आइपुग्दा पनि जीवित रूपमा पाउन सकिन्छ । तर पछिल्लो समय हरेक क्षेत्रमा विचलन आएको छ । यसमा सङ्गीत पनि अछुतो रहने कुरै भएन । हाम्रो मौलिक सेलो फ्युजनको नाममा होस या अन्य कुनै प्रयोगको नाममा तामाङ मौलिक सङ्गीत हराउने क्रममा छ । त्यस्तो नहोस् र हाम्रो आउने पुस्ताले सेलोलाई गर्वका साथ यो हाम्रो पुर्खाले बचाएर ल्याएको मौलिक सङ्गीत हो भनेर लिन सकियोस् भनेर सेलो राग पुस्तक प्रकाशनमा ल्याएको हो ।

सेलो रागले तामाङ मौलिक सङ्गीतलाई कसरी परिभाषित गरेको छ ?

सबैभन्दा पहिले सेलो एउटा भाका हो । तर मैले यसको अध्ययन र खोज गर्दै जाँदा यसभित्र सङ्गीतको जुन पद्धति सुर, ताल र लय हुनु पर्ने हो ती सबै पक्षहरू निहित पाइयो । यसरी हेर्दा हाम्रो मौलिक सङ्गीत यो ढाँचालाई शास्त्रीय सङ्गीतको रागभित्र राख्न सकिने आधारहरू प्रस्ट देखिएकोले सेलो रागलाई अघि सारिएको हो । जहाँसम्म यसले तामाङ मौलिक सङ्गीतलाई कसरी परिभाषित गर्छ भन्ने तपाईँको प्रश्न छ निश्चय नै मैले पुस्तकमा अघि सारेका सङ्गीतभित्रका प्राविधिक पक्षहरू हाम्रो मौलिक सङ्गीतभन्दा बाहिर देखिँदैन । यस अर्थमा मैले भइरहेको सङ्गीतकै एउटा पक्षलाई सङ्गीतकै परिधिभित्र राखेर स्थापित गर्न खोजिएको मात्र हो ।

सेलो राग मौलिक रूपमा स्थापित हुने आधारहरू के के छन्, प्रस्ट पार्नुस् न ?

राग भनेको स्वर र वर्णको सुन्दर रचना हो । रागको शास्त्रीय पक्षहरू जुन हामीले अध्ययन गर्दै आएका छौँ । ती सबै हिन्दुस्तानी सङ्गीत पद्धतिबाट आएको हो । यो हिन्दुस्तानी सङ्गीतको मौलिक पक्ष पनि हो । तर हाम्रा पुर्खाहरूले गाउँदै आएको मौलिक सङ्गीत आदिमदेखि नै हो । । त्यस्तो हो भने पहिलेदेखि नै गाउँदै आएको सङ्गीत किन मौलिक नहुने भन्ने कुराले मलाई सोच्न बाध्य बनायो । मैले यस सन्दर्भमा सेलोको सुर, ताल र लयको विषयलाई लिएर शास्त्रीय सङ्गीतसँग राखेर तुलनात्मक अध्ययन गरे । अध्ययनको क्रममा शास्त्रीय सङ्गीतको खमाज थाँट अन्तर्गत सेलो राग बगेको पाइयो । खमाज थाँटबाट उत्पन्न धेरै रागहरू छन् । त्यसमध्ये १२÷१३ वटा रागहरू तुलनात्मक अध्ययन गर्दा थाँट मिल्दोजुल्दो भए पनि रागको बहब पृथक् पाइयो । यही पृथक् पक्ष नै मौलिक पक्षको रूपमा लिन सकिन्छ । त्यसपछि म निचोडमा पुगे सेलो यसै मौलिक शब्द यसले सांगीतिक भावलाई चित्रण गर्दछ । रागको शास्त्रीय ढङ्गले पद्धतिमा जाँदा मौलिक रूपमा गाउँदै आएको भावलाई रागसँग संयोजन गरी सेलो राग नाम दिएको हो ।

सेलो राग पुस्तकले तामाङ मौलिक सङ्गीत हो या होइन भन्नको लागि व्याकरणको काम गर्छ भन्न सकिन्छ ?

मैले स्थापित गर्न खोजिएको कुरा पनि यही हो । अहिले बजारमा चल्तीका सङ्गीतहरू तामाङ सेलो भनेर आए पनि ती सबै सेलोभित्र अटाउने सङ्गीतका प्राविधिक संरचनामा बाँधिएका छैनन् । त्यसलाई तामाङ मौलिक सेलो भन्ने आधार देखिँदैन । यसले हाम्रो मौलिक सङ्गीतलाई ओझेलमा पार्ने सम्भावना पनि देखिएकोले यो पुस्तकको महसुस गरिएको हो । यस अर्थ डम्फुमा बज्ने प्राय मौलिक तामाङ सङ्गीतलाई चिन्न र बुझ्नको लागि यो पुस्तक सहयोगी बन्न सक्छ ।

तामाङ मौलिक सङ्गीतका कुन कुन भाकाहरूलाई सेलो रागले समेटिन्छ त ?

सेलो रागभित्र फापरे भाका, सेलो भाका, खान्दोके भाका, ताम्बा छेवार भाका आदिलाई समेटिन्छ । यस विषयमा चर्चामा रहेको पुराना नयाँ चर्चित गीतहरूको लिपि÷नोटेशन सहित पुस्तकमा राखेको छु । यसले सेलो रागलाई बुझ्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ । त्यससँगै सेलो रागभित्र हुनको लागि सङ्गीतको निश्चित पद्धतिभित्र रहनु पर्छ भनेर पुस्तकमा विस्तृत वर्णन गरेको छु ।

यो अभियानलाई आगामी दिनहरूमा कसरी बढाउने सोच बनाउनु भएको छ ?

यो हामीसँगै भएकै कुरा हो । मैले त बस यसलाई एउटा सङ्गीतको पद्धतिमा ढाल्ने काम मात्र गरेको हो । यो काम मैले सुरु गरे पनि थुप्रै साथीहरू जोडिन आउनु भयो । अहिले हामी एघार जना समूहमा छौँ । जसमा गायक फूलकुमार बमजन, कान्छा रिदम (कान्छामान लामा) स्वयंवरसिं लमा घलान, चन्द्रलाल तामाङ, अन्जु लामा, पार्वती लामा, सरिता लामा, मिङ्मा लामा, प्रमीला तामाङ, सरोजराज तामाङ र उदयबहादुर तामाङ, रहेका छन् । साथीहरूको सहयोग र अग्रज सङ्गीतकर्मीहरूको आशीर्वादले आजको यो रूपमा ल्याउन सफल भएको हो । अझै पनि यसमा केही कमजोरीहरू अवश्य हुनसक्छ । आगामी दिनहरूमा सकारात्मक प्रतिक्रियालाई आत्मसात् गर्दागर्दै यस अभियानलाई स्थापित गर्ने हाम्रो लक्ष्य हो ।

अन्तमा केही छुटेका कुरा ?

करिब करिब कुरा त यति नै जस्तो लाग्छ । सेलो राग हाम्रो मौलिक सङ्गीतको आधार हो । यसको संरक्षण र प्रवर्द्धन हामीबाट मात्र सम्भव छ किनभने यो त हाम्रै सम्पदा हो । तामाङ मौलिक सङ्गीतलाई माया गरौँ । मेरो विचार राख्ने मौका दिनु भयो यहाँलाई पनि धेरै धन्यवाद ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका