तामाङको उत्थानका लागि राष्ट्रिय क्रान्ति आवश्यक : अध्यक्ष गोले

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
420 Shares
काठमाडौं

नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायको सामाजिक, आर्थिक, राजनीतिक, उत्थानका लागी तामाङ राष्ट्रिय मुक्ति क्रान्तिको विकल्प नभएको बताएका छन् ।

शनिवार नेपाल तामाङ घेदुङ सङ्घीय कार्यालयले काठमाडौँमा आयोजित सल्लाहकारसँगको भेटघाट तथा छार म्हेन्दो स्मारिका विमोचन कार्यक्रममा अध्यक्ष गोलेले तामाङ समुदायको उत्थानका लागि गाउँ गाउँमा घेदुङ अभियान सञ्चालन गरी अगाडी बढ्नुपर्ने उल्लेख गरिएको हो ।

यस्तै राजनीतिक गुटबन्दीले घेदुङलाई कमजोर बनाएको भन्दै पार्टीगत रूपमा हस्तक्षेप नगर्न सम्बन्धित सबैलाई उनले आग्रह गरे । उनले तामाङ मातृभाषा शिक्षा कार्यक्रम १० ओटा पालिकाका केही सामुदायिक विद्यालयमा लागु भइसकेको र केही विद्यालयमा लागु गर्न गराउन घेदुङले पहल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार तथा पूर्व अध्यक्ष परशुराम तामाङले तामाङ समुदायको साझा मुद्दालाई निस्वार्थ भएर घेदुङले उठाउनुपर्ने बताए । नेपाल तामाङ घेदुङ तामाङ समुदायको एक मात्र राष्ट्रिय साझा संस्था भएकाले दलीय भागबन्डा गर्न नहुने भन्दै उनले निस्वार्थ रूपमा तामाङ समुदायको साझा मुद्दामा केन्द्रित हुन आग्रह गरे ।

सल्लाहकार एवं पूर्व मन्त्री दावा तामाङले ग्रेन गे दिम खरिद अभियानलाई तीव्र रूपमा अगाडी बढाउनुपर्ने उल्लेख गरे । ग्रेन गे दिम खरिद अभियानमा सबै सल्लाहकार तथा कार्यसमितिले आ-आफ्नो दायित्व पुरा गरे अभियान सफल हुने सल्लाहकार तामाङको भनाई छ ।

यस्तै पुर्वराज्यमन्त्री तथा सल्लाहकार परशुराम तामाङले यो खरिद अभियानमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ग्रेम गे दिम खरिदका लागि घेदुङले हाल सम्म ५७ लाख ६१ हजार ४ सय ६५ रुपैयाँ आर्थिक सङ्कलन भएको जनाएको छ ।

यस्तै कार्यक्रममा बोल्दै सल्लाहकार एवं पूर्व सांसद शान्ति पाख्रिनले तामाङ जातीको यकिन तथ्याङ्क सङ्कलनका लागि नामको पछाडि तामाङ अनिवार्य लेख्ने लेखाउने अभियान तामाङ घेदुङले चलाउनुपर्ने सुझाव दिइन् । तामाङ समुदायको सांस्कृतिक तथा सामाजिक कार्यहरूमा महिलाको सहभागिता न्यून रहेको भन्दै उनले समान सहभागिताका लागि सृजनात्मक अभियान चलाउन घेदुङलाई आग्रह गरिन् ।

कार्यक्रममा सल्लाहाकारद्वय जय प्रसाद गोले र अधिवक्ता तथा सल्लाहकार डा। कुन्साङ योन्जनले नेपाल तामाङ घेदुङको वेबसाइटमा घेदुङले गरेका सम्पूर्ण गतिविधिलाई राखेर सबैले हेर्न र पढ्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नवौँ महाधिवेशन पछि भएका कार्य समिक्षा तथा आगामी दिनका लागी सुझाव सङ्कलनका साथै बैककमा हुने अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तामाङ घेदुङको भूमिकाको विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सह अध्यक्ष कुमार घिसिङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया