रेशम चौधरीले पाए आममाफी, १४ वर्ष जेल सजाय मिनाहा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

टीकापुर घटनाका दोषी ठहर भएर जन्मकैदको जेल सजाय भोगिरहेका रेशमलाल चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् ।

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।

यस पटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवलदार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हवलदार ललित साउद, सहायक हवलदार रामबिहारी चौधरी, प्रहरी जवान जनक नेगी र डेढ वर्षीय बालक टेकबहादुर साउद मारिएका थिए । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशमलाई अभियोजन गरिएको थियो । ५८ जनाविरुद्ध अभियोजन गरिएकामा ३१ जना हालसम्म फरार छन्, २७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका