‘सोक्ला रक क्लाईम्विङ महोत्सव २०८०’ को तयारी पूरा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

‘सोक्ला रक क्लाईम्विङ महोत्सव २०८०’ को तयारी पूरा भएको छ ।

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेठ १८ र १९ गते दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ मा हुने सोक्ला रक क्लाईम्विङको तयारी पुरा भएको जानकारी दिएका हुन् ।

शोक्लाश्वरी पर्यटन विकास समाजद्वारा सोक्ला भ्याली क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धनका लागि सोक्ला रक क्लाईम्विङ महोत्सवको आयोजना गरिएको हो ।

सम्मेलनमा आयोजक संस्थाका संयोजक अर्जुन तामाङले माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) का अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे शेर्पा र महासचिव रामकाजी तिवारीको टिमले सोक्ला रक क्लाईम्विङ रुट क्लियर तथा फिक्सिङ गरिसकेको बताए ।

उनले भने‚ ‘सो टिमले जेठ ११ देखि १४ गतेसम्म रक रुट क्लियर गरेका हुन् । ६ ‘ए’ लेबलको रक रुट रहेको छ । अहिले दुई वटा रक रुट (सिङ्गल पिच) निर्माण गरिएको हो । चार सय मिटर उचाइमा रहेको सोक्लाको भीरमा अहिले २५ मिटर मात्रै रक रुट क्लियर गरिएको हो । यो वर्ष सोक्ला रक क्लाईम्विङ रुट प्रवर्द्धन वर्षको रूपमा अघि सारिएको हो । हरेक वर्ष सोक्ला रक क्लाईम्विङ सम्बन्धी गतिविधि हुनेछ ।’

महोत्सवको कुल १० लाख खर्च अनुमान गरिएको संयोजक तामाङले जानकारी दिए । ‘रक क्लाईम्विङमा २ सय ५० जनाले रक क्लाईम्विङ गर्ने अपेक्षा छ’ उनले भने ।

महोत्सवमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाल आर्मीको टिमले समेत रक क्लाईम्विङमा सहभागी हुनेछ । साथै, सगरमाथा आरोही रक क्लाईम्वरहरुको टिम पनि हुनेछन् ।

निःशुल्क रूपमा रक क्लाईम्विङमा सहभागी हुन पाउने छन् ।

महोत्सवमा स्काउट टिमको विशेष सहयोग रहनेछ । आन्तरिक पर्यटन प्रवर्द्धनसँगै साहसिक पर्यटन प्रवर्द्धनमा खास भूमिका रहनेछ ।

४०० मिटर उचाइमा रहेको सोक्लाको भीरमा हुने रक क्लाईम्विङले यहाँको ग्रामीण विकास, सडक सञ्जालको स्तरउन्नती, ग्रामीण पर्यटन प्रवर्द्धन, होमस्टेको अवधारणाको विकास गर्ने र स्थानीयमा आत्मनिर्भर तथा हुने अर्ग्यानिक उत्पादनमा समेत टेवा पुग्नेछ ।

कार्यक्रमको लागि नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग रहेको आयोजक संस्थाले जनाइएको छ ।

दुई दिने महोत्सवको सह आयोजक भीमेश्वर नगरपालिका पनि रहेको छ भने सहयोगी संस्थाहरू नेपाल पर्वतारोहण सङ्घ (एनएमए)‚ ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)‚ ग्रामीण पर्यटन विकास समाज(भिटोफ)‚ द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन र आशीर्वाद कोरियन भाषा स्कुल रहेका छन् । त्यस्तै प्राविधिक सहयोगमा माउन्टेन गाइड एसोसिएसन अफ नेपालले गरेका छन् ।

तपाईको प्रतिक्रिया