रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा भएको दोस्रो पालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि रिसाङ भूमि ठाडेले हात पारेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा जुनतारा युवा क्लबलाई हराउँदै रिसाङभुमिले उपाधि जितेका हुन् । रिसाङभूमिले नगद २ लाखसहित शिल्ड‚ मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यस्तै दोस्रो स्थानमा चित्त बुझाउँदै जुनतारा युवा क्लब ग्रेले नगद १ लाख ५० हजारसहित ट्रफि प्रमाणपत्र प्राप्त गरेका हुन् ।
तृतीय स्थान यार्सा टिमले हात पारे । उनीहरूले १ लाख नगद सहित प्रमाणपत्र लिएका छन् । सान्त्वना हुनेलाई ५० हजार र प्रमाणपत्र प्रदान गरेको छ ।
गोसाईंकुण्ड गाउँपालिका को आयोजनामा ‘जलविद्युत , पर्यटन , रसुवागढी नाका ,पूर्वाधार ,शिक्षा सुसंस्कृत र समृद्ध गोसाईंकुण्ड , लाङटाङ हाम्रो सदिक्षा भन्ने मूल नाराका साथ दोस्रो पालिका अध्यक्ष कप २०८०’ जेठ १२ गतेबाट सुरु भई जेठ १५ गते समापन भएको थियो ।
खेलको माध्यमबाट गोसाईंकुण्ड गाउँपालिकाभित्र रहेको कला‚ संस्कृति लगायत पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा सहयोग पुग्ने बताइएको छ।
दोस्रो पालिका अध्यक्ष कप तथा बृहत् सांस्कृतिक कार्यक्रममा जेठ १५ गते साँझ चर्चित गायिका मेलिना राईको साथमा चर्चित म्हेन्दोमाया गायक सागर एस वाइबा, आरम्भ तामाङ र स्थानीय म्हेन्दोमाया गायक शिशिर थोकरले साङ्गीतिक प्रस्तुति दिएका छन् ।
गणतन्त्र दिवसलाई लक्षित गरी आयोजना गरिएको दोस्रो पालिका कप भलिबल प्रतियोगिता गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा भएको हो । र गणतन्त्र दिवस भव्य र सभ्य तरिकाले मनाउन जिल्ला समन्वय समिति रसुवा र जिल्ला प्रशासन कार्यालयको समेत समन्वय रहेको थियो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका सभापति अशोक घिमिरे, उपसभापति विजय लामा,प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी,गोसाईंकुण्ड गाउँपालिका प्रमुख कैसाङ तामाङ,प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ,विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि , जिल्ला मा रहेको चार वटा सुरक्षा निकायका प्रमुख, ६ वटै वडाका वडा अध्यक्ष,खेलाडी कोच,सञ्चारकर्मी, सङ्घसंस्थाका प्रमुख लगायतका विशिष्ट व्यक्ति हरूको उपस्थिति रहेको थियो।