अलिकति फुर्सद र बिदाको दिन पर्यो कि नजिक टाढा जहाँ भए नि घुम्न मन लागिहाल्छ। यो मलाई मात्र होइन, जो कोहीलाई नि यस्तै हुन्छ होला। यसपालीको दुइटा बडा बडा चाडले बिदा मागेर अगाडि गइसकेको थियो । मनमा ती चाडले जत्ति उमङ्ग र उत्साह भर्नु पर्ने थियो, त्यो भएको थिएन । अब त्यसको बदलामा त्यो रिक्तता र अभाव मेटाउन कतै नयाँ गन्तव्यमा पाइला चल्न पाए हुने थियो भनेर स्वैरकल्पनामा डुबेको थिएँ ।
° ° °
लगभग एक साताको बिदाको सदुपयोग गर्न सधैँ भेटिरहने, मिल्ने साथीहरू मिलेर एउटा योजना बनायौँ। योजना अनुसार मकवानपुरको फापरबारी राई गाउँ हुँदै सर्लाही निस्केर कात्तिकको २२ गते छठ हेर्न तराइ जाने पक्कापक्की भयो। तीन वटा नयाँ एफजेड बाइक तम्तयार पारेर ६ जना जाने कुरा नि पक्का भयो । फर्किँदा बर्दिबास हुँदै सिन्धुलीको बिपी हाइवे भएर आउने कुराको निधो भयो। यो योजना जानु भन्दा ४/५ दिन अगाडि बनेको थियो।
रात गएपछि अग्राख पलाउँछ भने झैँ जाने मिति र योजनामा भारी परिवर्तन आयो। यो अवधिमा मेरो मोबाइल प्राविधिक कारणले कल निषेध थियो। यसो सामाजिक सञ्जालतिर आँखा के लगाएको थिएँ, मोबाइलको भित्ताभरि आलोपालो गरेर, कारण सहितको अर्को डिजाइन तयार भएको खबर आयो।
° ° °
मलाइ यो अलि हजम लागेन । लाग्नु पनि कसरी । हिजोअस्ती भएको योजना अनुसार मन र मस्तिष्कले एक खालको आकृति सेट गरिसकेको थियो। कागजमा कोरेको भए मेट्न सकिन्थ्यो । मोबाइल या कम्प्युटरमा भए डिलेट गर्न सकिन्थ्यो । तर अन्तरमनमा कोरेको चित्र बिगार्न मलाई गाह्रो भयो।
° ° °
यो मारमा मै मात्र होला । म बरु नजिकै कतै कहिल्यै नगएको ठाउँमा जाउँला । जान चाहिँ जसरी नि जाने । एक्लै भए नि जाने, भन्नेतिर दिमाग मोडियो। तर यसो बुझ्दा त अरू एक दुई जना साथीलाई पनि पछिल्लो डिजाइन अनुसार जान जाँगर चलेनछ। त्यसपछि त मैले एउटा हितैषी दौँतरी श्रीकृष्ण तिमल्सिनालाई दुई भएर जाऊँ भनी प्रस्ताव गरेँ। ‘बरु नजिकै जाऊँ, जे होस बिदाको सदुपयोग गरौँ’ भने, साथीले त नजिकै के जानु गएसी अलि ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक पक्षसित जोडिएको क्षेत्रमा जाने भन्ने कुरा आयो । यसमा म मन्जुर भएँ । ‘ल उसो भए कहाँ जाने तरु’ कुरो भयो, ‘खोटाङ हलेसी जाने। एकै दिनमा पुग्छ जाऊँ । आँटेसी आँटेको आँट्याइ हुन्छ, के गर्ने पो रु’ भनेर भिडियो कलमा कुरा भो। मलाइ त झन् ढुङ्गो खोज्दा देउता मिले झैँ लाग्यो। कहिल्यै नपुगेको ठाउँ त्यसमाथि झन् प्रसिद्ध हलेसी महादेवको थातथलो टेक्न पाइने। मैले कुनै विलम्ब नगरी सहमति जनाएँ।
° ° °
रातो लामो झोला भिरेर २०७९ कार्तिक २३ गते बिहान साँढे सात बजे घरबाट हिँडेँ। साथी पनि ठिकठाक भएर बसेको रहेछ। हामी दुई साथीको नि अर्को साथी थियो एफजेट नयाँ बाइक । चिसो आइसकेको थियो, त्यसैले बाक्लो बाक्लो लुगा लगाएर बन्दोबस्तीका साथ यात्रा तय गर्यौँ। उता अर्को साथीहरू भने स्कर्पियो जिप रिजर्भ गरेर तराई लागेका रहेछन् । कोही बसमा हिँडिसकेछन । घुमक्कड मान्छेहरू यत्रतत्र छरिएर आ-आफ्नो सहजताको सारमा बिदाको सदुपयोग गर्नतिर लागिसकेछन्।
° ° °
पिच बाटोबाटै सुरु भएको हाम्रो यात्रा कस्तो कस्तो बाटोमा दौडिनु पर्ने हो त्यो तपसिलमै थियो । बिहानको मायालु घामका किरणमा काठमाडौँ उपत्यका शिर हिमाल घमाइलो घाम ताप्दै थियो। लाग्थ्यो जाडो हामीलाई मात्रै होइन, उसलाई पनि लागिरहेको छ।
° ° °
काठमाडौँ उपत्यकाको सवारी साधनको जाम छिचोल्न अलि समय लाग्यो । सबैभन्दा बढी समय कोटेश्वरमा लाग्यो। बरु आकाशमा चार पाँच वटा हवाईजहाजले उडान भरेर आधा गन्तव्य तय गरी सक्दा पनि हात बाँधेर बस्नु सिवाय केही लागेन। बल्लतल्ल खोरमा थुनेर राखेको कुखुरा बाख्रा फुकाए झैँ ट्राफिक दाजुभाइहरूले फिरिरि सिट्ठी बजाउँदै जानलाई इशारा गरे । त्यसपछि बेतोडले पूर्व दिशा सोझ्याएर भक्तपुरको छेउछेउ काभ्रे साँगा पुग्यो । शिवजी पनि ठिङ्ग उभिएर जाडोको कुनै परवाह नगरी पार्वतीलाई कुरे झैँ लाग्यो । त्यही भएर हामी दुई शिवजीसित केही नबोली कुलेलाम ठोक्यौँ बनेपा बजार छिचोल्दै बिपी हाइवे।
भीमकाय चट्टानको काखमा रहेको हलेसीको अदभूत बनावट देखेर भगवानलाई दुई हात मिलाएर प्रदर्शन गरेँ । विश्वमा शान्ति फैलियोस्, हर प्राणीको जय होस भन्दै महादेवसित कामना गरेँ ।
° ° °
चिरिच्याट्टको मोटर बाटोमा अनेक घुम्तीहरू थिए जसले हामीलाई घुमाइको घुम ओढे जस्तै भयो । भकुन्डेबेंसीमा कोही पनि भकुन्डो खेल खेलिरहेका थिएनन् । त्यसैले हामी सरासर अघि बढिरह्यौँ । रोशीको ओरालोमा ओर्लिँदै दुम्जा पुगेर खाना खाइवरि पुनः हाम्रो यात्रा अघि बढ्यो । सुनकोसीको तिरैतिर गफिँदै एकसुरमा गुड्दै गरेको हामीद्वयलाई पारीबाट रामेछापका बनपाखा, बस्ती र बाटाहरूले एकोहोरो हेरिरहेका थिए । ठाउँ ठाउँमा पुल देखाउँदै डाकिरहेका थिए रामेछापले । त्यस्तै सुनकोसीले कत्ती सुन बोकेर बग्दै थिए थाहा भएन तर हामी कत्तिखेर खोटाङको हलेसी पुगेला भन्ने धुन बोक्दै गुडेको चाहिँ पक्का थियो।
उनको गन्तव्य कहाँ हो निश्चित थिएन तर हाम्रो गन्तव्य आजलाई निश्चित थियो । खुर्कोटबाट बिपी हाइवेलाई छोडेर बायाँ सगरमाथा हाइवेतिर लाग्यौँ । यो सबै बाटो देखाउन गुगल म्यापले हाम्रो निगरानी गर्दै गन्तव्य पुग्न लाग्ने समय र दुरी बताइरहेका थिए, जसले गर्दा हामी कतै अलपत्र परिहाल्छौँ कि, भन्ने कुनै दुबिधा र डर थिएन ।
° ° °
सिन्धुलीको भूगोलमा लगभग दिनभरि जस्तै सुनकोसी सँगसँगै कुदिराख्यौँ । कुद्दाकुद्दै अपराह्नमा उदयपुर घुर्मी हुँदै ओखलढुङ्गाको हर्कपुरमा पुग्यौँ । हर्कपुरमा पुगेपछि सिद्धिचरण हाइवेले गुनगुनाउँदै प्यारो ओखलढुङ्गामा स्वागत गरे। मैले पनि युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झिँदै ‘तिम्रै सुन्दर हरियालीमा , तिम्रै शीतल वक्षस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो खेल्यो वनकुन्ज घुम्यो … मेरो प्यारो ओखलढुङ्गा …’ भन्दै स्वैरकल्पनामा नै ओखलढुङ्गाको सेरोफेरो डुलेँ। हामी हाम्रै बाटो लागिरहेँ । अविरल बग्ने सुनकोसीले विश्राम गर्न मानेन । ऊ आफ्नो बाटो एकोहोरो लागिरहे ।
° ° °
एक छिनमा दुधकोशीसित भेट भयो । दूध जस्तै पवित्र गङ्गा भई एकोहोरो बग्दै थिई । दुधकोशी नदीमाथिको पक्की मोटर गुड्ने पुल पार गरेपछि खोटाङको काखमा पुग्यौँ । हिउँदमा मात्रै यातायात सञ्चालन हुने बाध्यतालाई यो भर्खर भर्खर बनेको पुलले बार्है महिना गाडी आवतजावत गर्न सहज बनाएको रहेछ । कालो रातलाई उज्यालो बनाउन निस्केको घाम पृथ्वीको अर्को भागमा भएको अँध्यारोलाई हटाउन यताबाट पश्चिम क्षितिजको दैलो उघारेर भित्र पसिसकेका थिए । उकालो घुमाउरो पिच उक्केर बिग्रेको बाटोमा एकतमास मेरो मित्रले एक्सिलेटर बटारेको थियो ।
कहिल्यै तिर्सना नमेटिने रहेछ। हामी रैथानेलाई त हिमाल र डाँडाकाँडाप्रती यस्तो मोह छ भने अरू विदेशीहरूलाई कस्तो हुँदो हो ! यस्तै कुरा मनमनै गुन्दै, फूलको थुङ्गा उने जसरी हृदयमा ती कल्पनाहरू उन्दै बाइकको पछाडि मक्ख पर्दै यात्रा गरिरहेँ ।
° ° °
हामी दुईको आजको गन्तव्य खोटाङको हलेसी थियो। गन्तव्य पुग्न सात बज्छ भनेर मोबाइलको गुगल म्यापले देखाइ रहेको थियो। ६ बजे नै झमक्क साँझ परिसकेको थियो । उज्यालो बाटोबाट हाम्रो यात्रा केही क्षणलाई अन्धकार छिचोलेर अघि बढ्नुपर्ने भयो ।
° ° °
जून थिएन आकाशमा ,ताराहरू मात्रै थिए । नभमा चम्किएका तारा झैँ धर्तीमा पनि ठाउँ ठाउँमा तिनकै झल्को दिने गरी बत्तीहरू चम्किरहेका थिए । जहाँ बत्तीहरू बाक्लो गरी बलेको देखिन्थ्यो त्यहाँ सहजै बाक्लै मानव बस्ती भएको अनुमान लगाउन सकिन्थ्यो उज्यालो विहीन अन्धकार भएको ठाउँमा भने वनजंगल, भिर या आबाद नभएको ठाउँ होला भनी त्यस्तै अन्दाज गर्न सकिन्थ्यो । अलि पर अलि गुचुमुचु झिलिमिली बत्ती बलेको ठाउँ देखियो । त्यही नै हो क्यारे हलेसी महादेवको थान भनेर हामी त्यतै लाग्यौँ तर त्यो त रिसोर्ट पो रहेछ । हलेसी त अझै त्यहाँबाट दुई तीन किलोमिटर पर पो रहेछ ।
° ° °
गाउँले परिवेशमा भिरालो भिरालो भित्तामा रहेको हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ को सानो बजार क्षेत्रमा निर्धारित समयमा नै पुर्याइदिए गुगल म्यापले । कोही साथीहरू मधेस प्रदेश पुगे भने हामी १ नं प्रदेशमा पुग्यौँ । साथीहरू दक्षिण पुगे । हामी दुई पूर्व । ती साथीहरू जहाँ पुगे पनि हाम्रो दोहोरो कुराकानी सवाल जवाफ निरन्तर भइरहेको थियो । हामीलाई सर्लाहीमा आउन आग्रह गर्दै थिए । बिहानको नयाँ दृश्यावलोकन गर्ने हुटहुटीमा त्यहाँको सफा राम्रो होटेलमा दिनभरिको थकाइलाई बिसायौँ ।
° ° °
निलो सफा आकाश, सिरसिर मन्द बतास , नयाँ परिवेश हाम्रा लागि हामी दुई मात्रै पुरानो अरू सबै नवीन थियो । हामी बसेको ठाउँबाट हलेसी महादेवको थान नजिकै रहेछ । घामभन्दा अघि हामी पुग्यौँ अझ हामीभन्दा पहिला अरू नै पुगिसकेको रहेछन् । बौद्ध र हिन्दु दुवै धर्मावलम्बीको आस्थाको सम्पदा उक्त मन्दिर र प्राकृतिक गुफाको द्वारमै आकर्षक गुम्बा रहेछ । जहाँ लामा गुरुहरूले मोलम पाठ गर्दै थिए । भीमकाय चट्टानको काखमा रहेको हलेसीको अदभूत बनावट देखेर भगवानलाई दुई हात मिलाएर प्रदर्शन गरेँ । विश्वमा शान्ति फैलियोस्, हर प्राणीको जय होस भन्दै महादेवसित कामना गरेँ । मन आनन्दित भयो । प्रफुल्लित भयो । गुम्बाको बाहिरी भित्तामा भएका आकृति र शब्द वाणीलाई निकै बेर घोत्लिएर हेरेँ । गुफाभित्र भित्र सम्मै दुवैतिर दृश्यावलोकन गर्दै तस्बिर लिँदै फुरुङ्ग भएको मन मस्तिष्क लिएर त्यतै टहलियौँ । समुन्द्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा अवस्थित हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनी, किराँत धर्मावलम्बीले आदि भूमि ठान्छन् । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्रि र तिजमा गरी वर्षमा चार पटक मेला लाग्छ ।
° ° °
त्यहाँ वरपर घुम्दै गर्दा नयाँ रुटको बारे पनि कुराकानी भयो । भोजपुर हुँदै धरानको रुट पनि खोज्यौँ । सोलु हुँदै दोलखा निस्केर आउन पो सकिन्छ कि भनेर सोधखोज गर्यौँ तर हामी मधेस प्रदेश या बागमती प्रदेश जता गए नि सिन्धुली खुर्कोटसम्म हिजैको रुट फर्किनु पर्ने थियो । अन्ततोगत्वा हामी मधेशको छठीमाईको छनक हेरेर त्यताको मित्रको मन राख्न सर्लाही नै जाने निर्णय भयो । बिहान हल्का नास्ता खाइ ‘खोटाङ जिल्ला दिक्तेल बजार… दिक्तेल बजार लै लै… सम्झनीमा आउँछौ हजार …’ त्यस्तै अर्को गीत ‘खोटाङ हलेसी छुट्नै मन ला छैन, तिम्लाई भेटिसी….’ भन्दै दिक्तेल बजारलाई वरैबाट हात हल्लाउँदै हामीद्व्य फर्कियौँ ।
° ° °
उत्तरका हिमशृखलाहरुले खुलेर हामीलाई मुस्कान सहितको रूप देखाइ रह्यो । हामीले धित मर्ने गरी हेरिरह्यौँ एकोहोरो, तर गफसफ भएन । मात्र हेराहेर भयो । टाढैबाट भए पनि मेरो जन्मस्थलबाट नि हिमाल देखिन्छ । तै पनि हिमालको निश्चलता हेरेर कहिल्यै नपुग्ने रहेछ । कहिल्यै तिर्सना नमेटिने रहेछ। हामी रैथानेलाई त हिमाल र डाँडाकाँडाप्रती यस्तो मोह छ भने अरू विदेशीहरूलाई कस्तो हुँदो हो ! यस्तै कुरा मनमनै गुन्दै, फूलको थुङ्गा उने जसरी हृदयमा ती कल्पनाहरू उन्दै बाइकको पछाडि मक्ख पर्दै यात्रा गरिरहेँ । पारीपट्टि ओखलढुङ्गा वारि खोटाङका रनबन, पाखा पखेरोहरूलाई नियाल्दै हाम्रो यात्रा हिजोको पाइला मेट्दै निरन्तर फर्कियौँ। आउँदा आउँदै खोटाङको खोपिल्टोमा रहेको एउटा होटेलमा मज्जाले मिक्स भेज थुक्पाको स्वाद लिँदै खोटाङको माया बोकेर आयौँ ।
° ° °
सिन्धुलीको खुर्कोटबाट बर्दिबासतर्फको बिपी हाइवे उकालो उकालो नागबेली बाटो यत्ति राम्रो थियो कि, जुन प्राकृतिक छटा नभईकन कृत्रिम भएर पनि अति सुन्दर र मनमोहक लाग्यो । हेरिरहूँ लाग्ने । त्यसकै समीपमा बसेर दिनरातको हिसाबकिताब गरिरहूँ जस्तो लाग्ने थियो । जहाँ लम्पसार परेर सुते पनि कुनै धुलो लाग्ने थिएन । बरु राजधानीको छिमेकी मेरो ललितपुरको बाटो त्यस्तो थिएन । थुक्क ! कस्तो बाटो भन्दै नाक मुख छोपेर धिक्कार्दै हिँड्नुपर्ने बाध्यता छ । सडक त एउटा प्रतिनिधि उदाहरण मात्रै हो त्यस्ता बेथितिको चाङ लामो छ । यो कुरा यहाँ गरी साध्य छैन ।
° ° °
यस यात्रामा भेटिएका अनुभूतिको बिस्कुन अझै छ तर एकै बसाइँमा पढ्नेलाई पट्यार लाग्न सक्छ। जमाना छोटिँदै गएको छ । अहिले त कविताहरू पनि छोटो (छोटो मात्रै पढ्दो रहेछ । त्यसैले यो यात्राका यादका कुरा यत्ति नै ।
(लेखक तामाङ पत्रकार संघ ललितपुर शाखाका कोषाध्यक्ष हुन् । )