जातजाति र भाषागत तथ्याङ्क सार्वजनिक, तामाङको जनसंख्या सोह्र लाख नाघ्यो

सैलुङअनलाइन संवाददाता
196 Shares
काठमाडाैँ

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्याङ्कको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा १४१ ओटा जातजाति रहेका छन् भने नेपालमा बोलिने मातृभाषाको सङ्ख्या १२४ रहेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार तामाङ जातिको कूल जनसंख्या १६ लास ३९ हजार ८६६ रहेको छ जुन कूल जनसङ्ख्याको ५.६२ प्रतिशत हो । त्यसैगरी तामाङ मातृभाषा बोल्ने वक्ताको सङ्ख्या १४ लाख २३ हजार ०७५ रहेको छ जुन कूल भाषावक्ता सङ्ख्याको ४.८८ प्रतिशत हो ।

२०६८ को जनगणना अनुसार तामाङ जातिको कूल जनसङ्ख्या १५ लाख ३९ हजार ८३० थियो भने भाषावक्ताको सङ्ख्या १३ लाख ५३ हजार ३११ रहेको थियो जुन क्रमश : ५.८१ प्रतिशत र ५.१० प्रतिशत थियो ।

तामाङको जनसङ्ख्या र भाषावक्ताको सङ्ख्यामा वृद्धि भए पनि प्रतिशत भने अघिल्लो पटकको जनगणनाको भन्दा घटेको छ । यद्यपि जाति जानसङ्ख्या र भाषावक्ता सङ्ख्याले ओगटेको पाचौँ स्थान नै कायम राखेको छ ।

जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको सङ्ख्या १४२, मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ । २०६८ सालको जनगणनामा भन्दा यसपटक १७ जातजाति, १३ मातृभाषा थप भएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो ।

नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथिली हो । नेपालमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो ।

कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया