शैलुङको महिमा र महत्व

3.5k Shares
काठमाडाैँ

तामाङ जातिका लागि शैलुङ पर्वतको महिमा र महत्व ज्यादै पवित्र र ठूलो रहेको छ । त्यस्तै अन्य समुदायका लागि पनि । शैलुङ लेकको नामाकरणबारे भिन्न भिन्नै खालका किंवदन्तीहरु पाइन्छन् । यस लेकको चुचुरोमा सयवटा थुम्काहरु भएकाले यसको नाम शैलुङ हुन गएको भन्ने एउटा जनश्रुति प्रचलनमा छ । हिमाली भाषामा थुमलाई ‘लुङ’ पनि भनिन्छ अथवा ठूलो पर्वतको वरपरका पर्वतमालाहरु । ‘लुङ’ (जोडिएको पर्वत) का नामहरु नेपालमा प्रशस्त छन् । अर्काथरी जनश्रुति अनुसार सेलयुङ गाङ (दर्शनढुङ्गे डाँडा) पनि भनिन्छ । त्यसको फेदी (तल्लो भाग) मा मेलुङ (अग्नि प्रज्वलन) भन्ने ठाउँ विद्यमान छ । ‘सेल युङबारि मे लुङ्बा’ (दर्शन ढुङ्गामा आगो बल्ने) त झुलो चकमक खेलाउँने जो कोहीले पनि जान्दछन् । यसबाट सैलुङ पर्वत सेलयुङ् गाङ (दर्शनढुङ्गे पर्वत) को अर्थमा पनि बुझ्न सकिन्छ । अर्को पक्षले शैलुङ वरिपरिको प्राकृतिक बनोटलाई लिएर सायि लुङ (भूश्रृङ्खला वा भूमि साङ्ला) भनि अर्थ्याउने पनि गर्दछन् । हुन पनि महाभारत पर्वत श्रृङ्खलाको उत्तरपट्टि र हिमालय पर्वतको दक्षिण भागमा अवस्थित पहाडी भू-भागले शैलुङ पर्वतको वरिपरि घेरिएको आकारमा रहेका छन् । त्यस्तै धार्मिक दृष्टिबाट यस पर्वतलाई से (बोन सङ्केत ध्वनीको अर्थमा देवत) र लुङ (आगम) बोली हुन् । यो अर्थमा देवागम पर्वत पनि भनिएको छ । बोन भाषामा सैखार (देवगढ/देउराली) र सैखाङ (देवालय) हुन् । शैलुङ देववाणीको अर्थमा पनि प्रयोग भएको पाइन्छ ।

धार्मिक दृष्टिबाट यस पर्वतलाई से (बोन सङ्केत ध्वनीको अर्थमा देवत) र लुङ (आगम) बोली हुन् । यो अर्थमा देवागम पर्वत पनि भनिएको छ । बोन भाषामा सैखार (देवगढ/देउराली) र सैखाङ (देवालय) हुन् । शैलुङ देववाणीको अर्थमा पनि प्रयोग भएको पाइन्छ ।

आगम र निगम (मूलतन्त्र र उपविद्या) तन्त्रज्ञानसँग सम्बन्धित छन् । भगवान शीवले देवी पार्वतीलाई बताउनु भएको सबै तन्त्रज्ञान ‘आगम’ हुन् भने देवी पार्वतीले शिवजीलाई श्रवण गराएको सबै तन्त्रविद्यालाई निगम भनिन्छ । भगवान शीव हिमालय कैलाशसँग जोडिएको छ भने देवी पार्वती पर्वतीय क्षेत्रसँग गाँसिएको छ । हिमालय कैलाश र पर्वतीय पहाड शीव-पार्वतीका बासस्थान मानिएको छ । बौद्धहरुको तान्त्रिक ज्ञान सम्बन्धि विषयका ग्रन्थहरुको विभाजन गरी खण्डिकरण गर्दा निम्नतन्त्रका दुई भाग (क्रियातन्त्र र चर्यातन्त्र) र उच्चतन्त्रका दुई भाग (योगतन्त्र र अतियोगतन्त्र) मध्ये अतियोगतन्त्रलाई पनि दुई भागमा विभाजन गर्दा (१) फाग्युद (पितृतन्त्र) र (२) माग्युदा (मातृतन्त्र) भनि नामाकरण गरिएको हुन्छ । जुन आगमतन्त्र र निगमतन्त्र जस्तै नमहरु हुन् । पितृतन्त्र र मातृतन्त्र भन्दा उच्चतम भाग ञीमेद् ग्युद (अद्वैत तन्त्र) हो ।  लुङ (आगम) भन्नुको मतलव कुनै पनि जटिल ज्ञानलाई शब्दमा ल्याएर मन्त्रको रुपमा अनुयायी श्रोताको कानले सुन्ने गरी बताउनु हो ।

वन विरुवाको हिसाबले से स्यिङ (ठिङ्रे सल्ला) प्रशस्त भएकोले पनि से लुङ (ठिङ्रे सल्ला) को पाखाको रुपमा पनि चिनिन्छ । मौसमको दृष्टिकोणले (१) थेन (अनावृष्टि), (२) सेर (असीना) को वर्षा र (३) से (बाह्रै महिना धुम्मिनु) मध्ये सेलुङमा (उहिले घनाघोर जंगल) भएको र यसक्षेत्र हिँउदमा हिँउ वर्षिने र वर्षादमा पानी वर्षिने हुँदा शैलुङ ‘धुम्मिएर बस्ने क्षेत्र’को रुपमा पनि लिइन्थ्यो । ला (लेकको पहाड) र लुङ (चुचुरोभन्दा मुनि फेदीभन्दा माथिको बिचभागको लुम्सो÷पारो) लाई जनाउँछ । त्यसैगरी स्योङ (खोल्सा) जस्ता भौगोलिक बनौट हुन् भने मेः (फेदी) । यसरी भौगोलिक, धार्मिक, वनस्पति, वातावरण आदिको भाषागत भिन्नभिन्नै अर्थहरु समेटिएका छन् जसले विषयगत रुपमा सहि अर्थ फेला पार्न सघाउँछ ।

तिर्थस्थलको हिसाबमा शैलुङ पर्वतको उत्तरपट्टि शैलुङेश्वर (कामेश्वर) महादेवको गुफा छ । यो प्राकृत बोन, शैव र बौद्धसमेतको साझा पुज्यस्थाल हो । लामाहरु यो पर्वतको शीरमा ७ औं शताब्दीमा गुरु पद्यसम्भवले पदार्पण गरेको कुरामा विश्वास गर्छन् । प्राकृत बोनहरु यो पर्वत (सेललुङ) नै देवताको प्रतिक मान्दछन् । बोनहरुका लागि सेलयुङ (दर्शन ढुङ्गा) पनि एउटा दैवी प्रतिक नै हुन् । शैलुङको दक्षिणी भागको स्वर्णगुफामा यस पर्वतको संरक्षण गर्ने एकदन्ते देवी विराजमान रहेको विश्वास गरिन्छ । पृथ्वीको नाइटो (भूमण्डलको नाभि) का माझ केन्द्र (जाम्बुलिङला पेते) को रुपमा मानिने यो पर्वत वास्तवमा माणिमाणिक्य, ज्ञानशास्त्र र तन्त्रमन्त्रको अक्षय कोष नै हुन् भनिन्छ । त्यसकारण यहाँ विभिन्न दिशामा विभिन्न वर्ण, आसन र मुद्रामा खालखाले देवी–देवताहरु यो पर्वतको रक्षार्थ बसेका छन् भनिन्छ । यस्तो तिर्थस्थललाई बौद्धहरु तन्त्र साधनाका निम्ति अति उत्तम थलो भनि मन्ने गर्दछन् । देवाधिदेव महादेव (ल्हाछेन्पो) र शक्ति (देवी) दुवैको आसन (स्थान) भएको ठाउँमा सबै देवी-देवतालगायत असुर, गन्धर्व, यम, नाग, यक्ष, मारुत, अग्नि, बरुण, भूदेव, किन्नर, मातृका आदि सबैको गणमण्डल बस्ने गर्छन् ।

पहाड पर्वतलाई देवीदेवताको संज्ञा दिने र देवता सरी मान्ने प्रचलन विश्वभरिकै जात-जातिमा छ । यो मानव जातिको अति प्राचिन परम्परा हो । प्रकृतिका अपार शक्ति र प्राकृतिक सम्पदाको मानवहितका लागि उपयोगिताको महत्वलाई बुझ्न थालेपछि त्यसप्रकारको धाराणा विकास हुन गएको मानिन्छ । धार्मिक मान्यताको हकमा यो ध्रुव सत्य नै ठान्ने गर्छ । यस्ता सामाजिक आस्थाको इतिहास बोकेको पहाड-पर्वतसँग अनेक खालको वर (शक्ति) मात्र होइन खडेरी पर्दा वर्षाको पनि माग गर्दछन् । बोनधर्ममा कैलाश पर्वत र हिमालय पर्वतको ठूलो महत्व छ । अर्थात् तिनीहरु ती हिमालयलाई ज्योबो-ज्योमो (देवी-देवता) को रुपमा पुज्ने गर्छन् । तामाङहरुमा हिमालयलाई ज्यामोगाङ (गौरीपर्वत) भन्ने चलन छ । हिन्दु परम्परामा पनि गोबर्धन पहाडको कथा र श्रीकृष्णले ‘म पर्वतहरु मध्ये हिमालय हुँ’ भन्ने गीताको वाक्यांशले पनि त्यही कुराको पुष्टि गर्दछ ।

बोनहरुको कथनमा गाङरि कर्पो (सेतो हिमाल), साङरि मार्पो (रातो/ताम्र पर्वत), ज्योरि नाक्पो (कालो वन पाखो) गरि तीन प्रकारका पहाडहरु छन् । जुन तीनै लोकका प्रतिक हुन् । हिमालयलाई सुमेरु पर्वत वा कैलाश पर्वतको रुपमा मानेर त्यसको शिखरमा देवी-देवताको बसोबास भएको मानिन्छ र बाह्रै महिना सेतो हिउँले ढाकिएको हुन्छ । बिचको शितले डढेको रातो ढुङ्गेन पहाड भीरमा चन शिकारीको निवासस्थान भएको र तल्लो कालो बन क्षेत्र पहाडको फेदमा वन भूतलगायत नाग-नागिनीहरुका बासस्थान हुन् भनिन्छ । यसलाई स्वर्ग, अन्तरिक्ष र मानवलोकको रुपमा पनि वर्गिकरण गरिने गर्छन् । अरुपलोक, रुपलोक र कामलोक गरी तीनै धातु (खाम सुम) को समेत प्रतिक मानिने हिमालयको त्यो वर्गिकरण प्रणाली सेलयुङ गाङ (दर्शनढुङ्गे पर्वत) मा पनि लागु गरेको पाइन्छ । माथिल्लो चुचुरोलाई सेलयुङ गाङको संज्ञाले सेतो दर्शन ढुङ्गाको उपमा दिएर सेतो पारदर्शी दर्शन ढुङ्गा देवालय (देवलोक) मानिएको छ । बिचको भीरलाई रातोभीर पनि भन्ने गरेको छ । तल्लो क्षेत्र भूते खोला र भूतको वनपाखा अझै पनि छँदैछ । हिन्दु मतानुसार यो सत्व गुण, रजो गुण र तमो गुणसमेत त्रिगुणात्मक मानव स्वभावसँग दाँज्न पनि मिल्छ । त्यो मानव चेतना (मष्तिस्क,) मानव हृदय (मुटु) र मानव जनेन्द्रीय (लिङ्ग) गरी तीन तहमा रहेको एउटै शरीरको महत्वपूर्ण तीन अंगहरु हुन् ।

पहिले जन्म-सृष्टि, अन्न-उपज र जीवन-मृत्यु सबै दैवी लीला हुन् भन्ने विचारले काम गथ्र्यो । अर्को शब्दमा हरेक प्राकृतिक द्वन्द र गतिको पछाडि एउटा अदृष्र्य शक्ति (सर्वव्यापी महान शक्ति) वा दैवी शक्ति रहेको विश्वास बोन समाजमा फैलिएको थियो । यस्तो विचार प्राकृत बोनमा मात्र नभइ सभ्यताको अन्य भागमा पनि रहेको पाइन्छ । अग्नि (आगोको देवता), बरुण (पानीको देवता), मारुत (वायुको देवता), भूधर/भूदेव (जमीन वा पृथ्वीको देवता) र त्यस्तै सूर्य-चन्द्र (लगायत कैयन ग्रह, नक्षत्रका मालिकहरु पनि छन्) लाई मान्ने प्रथा पनि सोही ‘दैवी शक्ति’लाई मान्ने विचारबाट प्रेरित छन् ।

शैलुङ पर्वतको चारैतिर तामाङ जातिको घनावस्ती रहेको छ । परापूर्वकालमा यस क्षेत्रमा पहिलो बसोबास तामाङ समुदायकै हुनु पर्छ । तामाङ जातिले आफ्नो प्रवासको जीवन दार्जिलिङ, सिक्किम, आसाम वा अरुणाचल प्रदेश र भूटानसम्म पुग्दा पनि शैलुङको महिमा गाउँन छोडेका छैनन् । यो शैलुङ पर्वत एक किसिमको तामाङ जातिको ह्युल ल्हा (देशीय देवता) नै हुन् । तामाङहरुले बौद्धधर्म ग्रहण गर्नु भन्दा अगावै यो पर्वतसँग उसको मनोगत आस्था तथा व्यवहारगत बसोबासको सम्बान्ध भएकोले नै यो पर्वतको नाम बोन शास्त्रीय नाम से लुङ (देवागम पर्वत) रहन गएको हो । लामा शास्त्रीय भाषामा देवागम पर्वतलाई ‘ल्हा-लुङ गाङ’ भन्ने हुन्छ । त्यसकारण तामाङ जातिको उपस्थिति यो क्षेत्रमा पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा धेरै पहिले भएको अनुमान लगाउन सकिन्छ ।

शैलुङ पर्वत एक किसिमको तामाङ जातिको ह्युल ल्हा (देशीय देवता) नै हुन् । तामाङहरुले बौद्धधर्म ग्रहण गर्नु भन्दा अगावै यो पर्वतसँग उसको मनोगत आस्था तथा व्यवहारगत बसोबासको सम्बान्ध भएकोले नै यो पर्वतको नाम बोन शास्त्रीय नाम से लुङ (देवागम पर्वत) रहन गएको हो ।

एक लेखोट अनुसार शैलुङ पर्वतको चारैतिर पहिले तामाङ जातिका पाँच थरी (योन्जन, घिसिङ, मोक्तान, बल र ब्रोक्चन) जसलाई खे ङा (पाँच पूर्खा) भन्ने गर्छन्ले मात्र बसोबास जमाएका हुन् भन्ने तर्क एकथरी तामाङ इतिहासका शोधकार्यमा लागेका विद्वानहरुले पेश गर्ने गर्छन् । तर, त्यस्तो तर्क समष्टिगत रुपमा सहि सावित गराउन अर्को तथ्यहरुको पनि खाँचो पर्ने हुन्छ । त्यो भनाइले अन्य तामाङ थरीहरु पछि कुटुम्बीय नाताबाट प्रवेश भएको ठहरिन्छ । त्यसो त नेपालको पूर्वीय भागमा एकीकरण पूर्व जातीय वा कुलवंशीय जमात (कुलीन तन्त्र) को बोलवाला थियो । पाल्लो किराँत, वल्लो किराँत र माझ किराँत, लिम्बुवान, तेह्रथुम, आठराई यी सबै त्यही खाले आवादी मानिएको छ । जुन भाषागत वंशीय कविलायी समुदायले आ-आफ्ना क्षेत्रमा प्रभूत्व जमाएका थिए ।

प्राकृतिक बनौटको दृष्टिले उत्तरमा आमबामारी (आमा सीत पर्वत/हिमाल), पूर्वमा तामाकोशी, पश्चिममा सुनकोशी र दक्षीणमा बेनीघाट जाहाँ तामाकोशी र सुनकोशी दुई नदीको धार मिलन हुन्छ, त्यसको माझकेन्द्रमा रहेको शैलुङ पर्वतलाई प्रकृतिले नै उउटा सामाजिक क्षेत्रको केन्द्रमा स्थापित गरेको हामी देख्न सक्छौ । तर, तामाङ बसोबासको बाहुल्यताको हिसाबमा पूर्वमा दूधकोशी, पश्चिममा शविपुरी, नगरकोट, साँगा डाँडा र महाभारत पर्वत, उत्तरमा हिमालय र दक्षिणमा महाभारत पर्वत भित्र पर्ने शैलुङ क्षेत्रलाई पूर्वी तामाङ क्षेत्र भन्न नसिकने होइन । त्यसो गर्दा वर्तमान मध्यमाञ्चलको चारदिशामा चारवटा तामाङ क्षेत्र कायम हुनु सक्छ । जहाँ तिनका बसोबास अन्य अञ्चलमा भन्दा अत्यधिक रहेको छ ।

शैलुङ धार्मिक महत्व बोकेको पर्वत हो । शैलुङको वरिपरी एकदमै प्राचीन बौद्ध गुम्बाहरु छन् । दक्षिणमा फुलासी घ्याङ र डोङ्मे घ्याङ रहेका छन् भने पूर्वमा भेट्पु घ्याङ, फस्कु घ्याङ र चरी घ्याङ रहेका छन् । उत्तरमा विर्ता घ्याङ, त्यसैगरी पश्चिममा पोङ्दि घ्याङ, रिस्याङ्गु घ्याङ, बाङथलि घ्याङ र नाङरे घ्याङ रहेका छन् ।

शैलुङ धार्मिक महत्व बोकेको पर्वत हो । शैलुङको वरिपरी एकदमै प्राचीन बौद्ध गुम्बाहरु छन् । दक्षिणमा फुलासी घ्याङ र डोङ्मे घ्याङ रहेका छन् भने पूर्वमा भेट्पु घ्याङ, फस्कु घ्याङ र चरी घ्याङ रहेका छन् । उत्तरमा विर्ता घ्याङ, त्यसैगरी पश्चिममा पोङ्दि घ्याङ, रिस्याङ्गु घ्याङ, बाङथलि घ्याङ र नाङरे घ्याङ रहेका छन् । त्यसैगरी सुनकोशी पश्चिम तेमाल १२ घ्याङ र हेलम्बु ४ घ्याङ अनि काठमाडौं बौद्धको पुरानो बौद्ध घ्याङ, स्वयम्भू घ्याङ र रसुवाको स्याब्ब्रु घ्याङहरु सबै सम्बन्धित थियो । ती घ्याङहरुको गुठी तथा किपटीय भूमि जंगबहादुरको उदय पश्चात जहानीय शासन कालमा नेपाल-भोट युद्ध (प्रथम) पछि खोसिएका हुन् । स्वयम्भू घ्याङ लगायत सम्पूर्ण घ्याङ गुठीहरु रैकरमा परिणत गरी फूलबारीको नाममा दैनिक पूजा सञ्चालन गर्न थोरै जग्गाहरु मात्र पूजारी लामाको नाममा दिएको भनिन्छ । गुठी हरण भएपछि घ्याङको परम्परागत धार्मिक चाडपर्व समेत मनाउन नसकिने अवस्था सिर्जना भएर धार्मिक संस्कृतिमा धक्का पुग्न गएको देखिन्छ । अधिग्रहण गरेका घ्याङ गुठीहरु मध्ये डोङ्मे घ्याङको गुठी पलाञ्चोक गुठीमा, रिस्याङ्गु घ्याङको गुठी पलाञ्चोक तौथलीमाईको गुठीमा, चरी घ्याङ र भेट्पु घ्याङको गुठी भीमेश्वर गुठीमा हस्तान्तरण गरेका छन् । यी घ्याङ गुठीहरु राज्यको उपल्लो तहबाट प्रदान गरेको र थामिएको हुँदा गुठी हरण गर्नु सजिलो थिएन । ती गुठीयारहरु स्वभावतः राणा शासन पूर्वका काजी व्यवस्थाका समर्थकमा गनिन्थ्यो । नेपाल-भोट युद्धको बेलामा सत्रुपक्षलाई सघाएको भनेर ‘देशद्रोही’ हो आरोप लगाएर मात्र त्यो सबै गर्न राणा शासनलाई सम्भव भएको मानिन्छ । त्यसो त काजी व्यवस्थामा राज्यको उच्चतहमा कार्यरत सैनिक अधिकृत र पुुरोहित वर्गको पनि बेग, विर्ता खोसेर आफ्ना समर्थक पक्षलाई हस्तानतरण पनि गरेका छन् । त्यस्तो गुठी, बेग, विर्ता हरण गर्ने र बक्सने काण्ड र निगाहजन्य काम कारवाही हरेक सत्ता परिवर्तनको घटनाहरुसँगसँगै आउने जाने गथ्र्यो, त्यो युगमा । तथापि घ्याङ गुठीका भने पुनस्थापना हुन सकेन ।

धार्मिक तिर्थस्थलको दृष्टिकोणले हेर्दा शैलुङ वरिपरी प्रशस्त तिर्थस्थलहरु पनि छन् । स्थानपति महादेव पिङ्खुरि, बेणी घाट, दुम्जाको गौखुरेश्वर महादेव, पुँडिलेकको सानु शैलुङ महादेव गुफा, दोलखा भिमेश्वर, कालिनचोक भवती आदि थुप्रै प्रसिद्ध देवी-देउराली रहेका छन् । ती स्थान र तिर्थस्थलहरुमा माघको बालचर्तुदशी, श्रावनको जनैपूर्णिमा छेक धुमधामको धार्मिक मेलाहरु परम्परादेखि चल्दै आएको छ । यस्तो धार्मिक मेलाले त्यो स्थानहरुको महिमालाई जोगाई राखेको छ ।

प्राकृत बोन, हिन्दु र बौद्ध यी तीनै थरी धर्मको पवित्र तिर्थस्थल मानिने शैलुङको प्राकृतिक बनोट, त्यसको इतिहास र धार्मिक तथा सामाजिक महत्व बारे शोधकार्य हुनु जरुरी छ । कैयन मिथकीय कथाहरुको पनि सङ्कलन हुनु आवश्यक छ । मानव जातिले आफ्नो बासस्थानको प्राकृतिक सौन्दर्यको वर्णन र त्यसको महिमा गाउन थालेपछि उसको वैचारिक जगतमा मातृभूमिप्रति लामा नादीनाला, बनपाखा र वन्यजन्तु, मौसम परिवर्तन, मेघ (कुहिरो), विजुली, भूमि, वृक्ष र मानवीय संवेदनाको बखानहरु नै प्राचीन ‘वेद’ हुन् भन्ने अहिलेका काव्य-साहित्य जगत हुन् । त्यसै क्रममा अनेक अलौकिक परिकल्पनाहरु र अध्यात्मिक ध्यान योगको पनि विकास गरेका छन् । विशाल पहाडमा, पाखापखेरुहरुमा पाइने विभिन्न जातका जडिबुटीले हाम्रा रोगव्याधीको निदान अहिलेसम्म गरिँदै आइहेको छ । मानिसको गाँस, बास, इन्धन (काठपात), औषधमूलोसम्म उपलब्ध हुने स्रोतको रुपमा रहेको र हरेक महिनाको संक्रान्ति सँगसँगै आउने चाडपर्वसँग सम्बन्धित हाम्रो पर्वतमालाको महिमाको गीत हामी किन नगाउने ?

पौराणिक ग्रन्थमा वर्णन गरिएको ध्यानमग्न शीवजी झै अचल र स्थीर शैलुङ पर्वत स्वयं भूमे (भूदेव/जमीनका मालिक) हुन्, उसको गलामा पहिरिएको नाग (सर्प) झै तलतिर सबैतिरबाट बग्ने खोलानाला नै सिमे (नाग) हुन् । शैलुङ पर्वतलाई अलौकिक सिद्धि र लौकिक सम्पदाको प्रतिकको रुपमा विश्वास गर्नेहरुलाई त्यसको दर्शन मात्रले पनि आनन्द मिल्न सक्छ । मानव सभ्यताको इतिहासको क्रममा विभिन्न देवीदेवताको परिकल्पना पछि देवधीदेव महादेवको स्थापनाले नै सर्वोच्च ईश्वरको चिन्तनमा मानिस पुगेका हुन् । त्यसैलाई सृष्टि, स्थिति र प्रलयको कालखण्डमा विभाजन गरी ब्रह्म, विष्णु र महेश्वरको संज्ञा दिएका हुन् । फेरी उही महादेवलाई प्रकृति (भौतिक तत्व) र पुरुष (चिन्तन तत्व) मा विभाजन गरी शिव-पार्वतीको स्वरुपमा परिभाषित गरेका हुन् । प्राकृत बोनहरु यसलाई नाम (आकाश) र सा (धरती) को रुपमा व्याख्या गर्दछन् । अर्थात् भौतिक तत्व र चेतना तत्वको संयोग नै जीवन-जगत हो । ती दुबै तत्व अन्योन्याश्रित छन् । एकको अभावमा अर्काको अस्तितवबोध हुन सक्दैन । जब हामीले जीव जगत र भौतिक संसारको सम्बन्ध गाग्री र पानी जसरी रहेको बुझ्दछौं तब मात्र हामीले उपभोग र बसोबास गर्ने स्थान सबभन्दा महत्वपूर्ण र पवित्र ठाउँ भनि चिन्न सक्छौं । त्यसैकारण पूर्खाहरुले भीर-पहरा, घाँस-दाउरा, खोला-नाला, मेला-पात, वन-जंगल, पहाड-पर्वत, लेक-बेँसी, हिउँद-वर्षा, झरी-बादल, रुख-विरुवा र सुख-दुखको गीत संक्षेपमा देशभक्तका गीत गाएका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका