टोखा नगरपालिकाले नयाँ निर्वाचित जनप्रतिनिधि पाएको एक वर्ष पुरा भएको छ । नगर प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा मुरारी तामाङ निर्वाचित भएर आएको एक वर्ष पुरा भएको छ ।
नगर प्रमुखमा अधिकारीको दोस्रो कार्यकाल हो । पहिलो कार्यकालको काम कै कारण उनलाई जनताले दोस्रो कार्यकालको लागि पुनः निर्वाचित गराएका हुन् । नेकपा एमालेबाट निर्वाचित अधिकारी पहिलो कार्यकालका बाँकी रहेका काम गर्ने उर्जा र अनुभवका साथ लागेका छन् ।
उपप्रमुखमा निर्वाचित मुरारी तामाङको भने पहिलो कार्यकाल हो । खेलकुद पृष्ठभूमि तामाङ समाजसेवा र खेलकुद मार्फत् जनताको सेवामा सक्रिय थिए । नेपाली कांग्रेसबाट निर्वाचित तामाङ सबैका मनमा बस्न सफल व्यक्ति पनि हुन । त्यसैकारण उनी अत्याधिक मतका साथ विजयी भएर आएका हुन् । उनमा समृद्ध नगर निर्माण गर्ने नयाँ जोश र विकासको स्पष्ट खाका भरिपूर्ण भावना छ ।
नगर प्रमुख र उपप्रमुख टोखा नगरको विकासमा एक जुट भएर लागेका छन् । दुबै जनामा नगरको विकास नै प्रमुख लक्ष्य भएको कारण फरक फरक पार्टीबाट निर्वाचित भएर आएको भए तापनि साझा अवधारण र योजना निर्माणमा केन्द्रीत रहेका छन् । जनसरोकारका विषयमा दुबै गम्भिर रहेको देखिन्छ ।
टोखा नगरको भौतिक पूर्वाधारतर्फ उल्लेख्य काम भएको देखिन्छ । नगरभित्रका अधिकांश सडकहरु कतै ढलान त कतै कालोपत्रे भएका छन् । नगरका गौरवका योजना मध्ये एक टोखा नगरपालिका वडा नं. ८ र ११ जोड्ने बानियाँटार विष्णुमति खोलामा पुल निर्माण द्रुत गतिमा भइरहेको छ । त्यसैगरी अन्य गौरवका योजनाहरु निर्माणकै क्रममा रहेको नगर प्रमुख अधिकारीले जानकारी दिए । एक वडा एक पार्क नीति अन्तर्गत अहिले केही वडामा पार्क निर्माण भइसकेका छन् भने अन्यमा बन्ने प्रक्रियामा रहेको पनि प्रमुख अधिकारीले बताए । उनका अनुसार नगरभित्र रहेका मन्दिरहरुको जिणोद्वार भएका छन् भने केही नयाँ मन्दिर पनि निर्माण भएका छन् । त्यसैगरी टोखा चण्डेश्वरीदेखि महांकाल हुँदै बौडेश्वर जाने पदर्मागको पनि निर्माण भएको जानकारी दिए ।
नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने नगरभित्रका वडाहरुको वडा भवन भने अधिकांशको निर्माण कार्य सम्पन्न भइसकेको छ भने केही वडा भवनहरु निर्माणको अन्तिम छन् । अबको केही समय पश्चात नै नगरपालिकाका प्रशासनिक कामहरु आफ्नै भवनबाट प्रवाह हुने नगर प्रमुख अधिकारीले जानकारी दिए ।
टोखा नगरपालिकामा मेयर उज्यालो कार्यक्रम पनि एक महत्वपूर्ण कार्यक्रम हो । यस अन्तर्गत सबै वडामा सडक बत्ति जडान गरिएको छ । त्यसको मर्मतका लागि प्राविधिक टोली समेत खटाएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
सांस्कृतिक नगरको टोखा नगरपालिकामा भौतिक विकाससगैँ स्वास्थ्य क्षेत्रमा धेरै काम भएका छन् । ‘टोखा नगरपालिका मेयर दिर्घायू कार्यक्रम’ सबैभन्दा बढी प्रभावकारी रहेको देखिन्छ । ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षणदेखि औषधी उपलब्ध गराउने यो कार्यक्रमले नगरभित्रका आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई बरदान सावित भएको नगरबासी बताउँछन् । नगरले ११ ओटै वडामा स्वास्थ्यचौकी मार्फत् नगरबासीहरुलाई सरल, सहज तथा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । नगरका सबै वडामा नियमित रुपमा कोभिड बुस्टर डोज खोप अभियान पनि जारी नै छ । त्यसैगरी वडा नं. २ मा नयाँ आधारभूत स्वास्थ्य संस्थाको स्थापना भएको छ भने वडा नं. ११ मा ल्याव सेवाको स्तरोन्तति हुन लागेको नगर प्रमुख अधिकारीले जानकारी दिए । नगर प्रमुख अधिकारीले जनता सामू निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप काम गर्ने स्पष्ट पारे ।
शिक्षा क्षेत्रको विकासको लागि पनि नगरले उल्लेख्य काम गरेको पाइन्छ । सामुदायिक विद्यालयहरुमा मेयर दिवा खाजा कार्यक्रम, सेनिटरी प्याड वितरण, एसइइ तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । जसका कारण सबै विद्यार्थीहरुलाई उत्कृष्ट बन्न प्रेरित गर्ने नगर प्रमुख अधिकारीको भनाइ छ । नागरिकहरुको अध्ययन गर्ने बानिको विकासका लागि तीन विभिन्न स्थानहरुमा पुस्तकालय पनि सञ्चालनमा ल्याएका छन् ।
टोखा नगरले खेलकुदलाई पनि विशेष प्राथामिकतामा राकेको पाइन्छ । राष्ट्रिपति रनिङ शिल्ड तथा मेयर कपहरु आयोजना भएका छन् । नगरभित्र क्रियाशील विभिन्न क्लवहरुका संयोजकत्वमा विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् । त्यसैगरी युवाहरुलाई लागू पदार्थ दुव्र्यसनबाट जोगाउन पनि नगरले विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गरिराखेका छन् ।
कृषि तथा पशु प्रर्वद्धन अन्तर्गत नगरले कौशीखेतीलाई जोड दिँदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । यसले घरबाट निस्कने कुहिने फोहोरको व्यवस्थापन हुनुका साथै घरमै अर्गानिक तरकारी फलाउन सफल पनि छन् । नगरभित्रका किसानहरुलाई हिउँदे तरकारीको बीउ, इएम मल, गहुँको बीउ, धानको बीउ, टनेल प्लास्टिक वितरण, ५० प्रतिशत अनुदानमा डिजेल मिनि टिलर वितरण, प्राङ्गारिक तथा व्यवसायीक खेती तालिम, स्थलगत घुम्ति तालिम, कृषि चुन तालिम, कम्पोष्ट मल, स्प्रे वितरणलगायतका काम भएको छ । पशु कार्यक्रम अन्तर्गत नगरपालिका किसानहरुले पालेको पशुहरुको निःशुल्क उपचार, गाईभैँसीलाई विभिन्न रोग विरुद्धको खोपका साथै गाईभैँसीको कृतिम गर्भारण कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुकुरलाई रेविज विरुद्धका सुई तथा बन्ध्याकरणको सेवा पनि नगरले दिँदै आएको छ ।
सूचनाप्रविधिलाई नगरले प्रमुख प्राथमिकतामा राखेको छ । नगरबाट प्रदान हुने सेवाहरुलाई प्रविधिको माध्यमबाट सहज बनाउँदै लगेको छ । हाल नगरले सम्पन्न गरेका योजना कार्यक्रमहरुको अनलाइन भुत्तानी भइरहेको छ भने एकिकृत स्वःचालित प्रणाली पनि लागु गर्ने तयारीमा नगर रहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नगरभित्रका ५० जनालाई ८० दिन रोजगारी दिइएको छ । यस कार्यक्रम अन्तर्गत पहिरो पन्छाउने, नालि सफा गर्ने, बाटो साइड ड्रेन, कुलो सरसफाई, मन्दिर ममर्त सम्भार आदि काम भएका छन् ।
नगरको मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि सम्बन्धीत निकायहरुसँगको सहकार्यमा कार्यहरु अगाडि बढाउँदै लगेका छन् । फोहोरोमैला व्यवस्थापनका लागि पनि नगरले विभिन्न विकल्पमा काम गरिरहेको नगर प्रमुख अधिकारी बताउँछन् र दिघो समाधानको प्रयास भइरहेको उनको दावी छ ।
टोखा नगरपालिकाले विभिन्न विपदमा परेकाहरुलाई राहत तथा पुर्ननिर्माणका लागि आर्थिक सहयोग गर्दै आएको छ । अग्नी नियन्त्रण तथा नेपाली सेनासँगको सहकार्यमा विपद व्यवस्थापन सम्बन्धी तालिम नगरपालिकाले सञ्चालन गरेको थियो ।
टोखाको संस्कृति संरक्षणदेखि यहाँको चाकुको उत्पादनलाई अन्र्तराष्ट्रिय ब्राण्ड बनाउन पनि नगरले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख अधिकारी बताउँछन् । स्थानीय उत्पादनलाई बजार प्रर्वद्धन गर्न सधै नगरपािलकाले साथ र सहयोग गर्ने प्रतिबद्धता अधिकारीको छ । समृद्ध टोखा नगरपालिका बनाउन लागि परेको र बाँकी कार्यकालमा सम्पूर्ण काम सम्पन्न गर्ने उनले प्रष्ट पारे । आफ्नो कार्यकाल पछि आउने जनप्रतिनिधिलाई कुनै काम गर्न नपर्ने गरी काम गरिरहेको नगर प्रमुख अधिकारीको दाबी छ ।
न्यायिक कार्य सम्पादनदेखि विकास निर्माणलाई गुणस्तरीय बनाउन दृढ रहेको उपप्रमुख मुराती तामाङ बताउँछन् । अहिले न्यायीक समितिको काम सफ्टवेयर मार्फत हुने थालेको छ । टोखा नगरपालिका भित्र भएका कामको गुणस्तर कायम गर्न नियमित अनुगमन गर्दै आएको र गुणस्तरमा कुनै सम्झौता नगर्ने तामाङले स्पष्ट पारे । जनतालाई दिएको बाचा अनुसार काम गर्ने उनले स्पष्ट पारे । नताको काम गर्न आएको हुँदा अन्य कुरामा ध्यान नदिने उपप्रमुख तामाङ बताउँछन् ।
लघु उद्यम कार्यक्रमबाट नगरका महिला, वेरोजगार युवालाई सिपमूलक तालिमबाट सक्षम बनाउँदै स्वरोजगार बनाउन नगर लागेको उनी बताउँछन् । प्रत्येक वडामा ब्यूटिसियन, सिलाई बुनाई, अचार बनाउने, स्यानिटरी प्यान निर्माण तालिम, झोल तथा डल्ले साबुन बनाउने, कफि तालिम, झोला बनाउने, माला बनाउने, मन्टेश्वरी तालिम, नेतृत्व विकास तालिम जस्ता तालिमहरु सञ्चालन भएका छन् । इलेक्ट्रीसियन, प्लम्बर, वाइल्डिङ, मोवाइल रिपेरिङ टेक्निसियन, अटो मेकानिक, टायल मार्वल फिक्सिङ जस्ता तालिमहरु बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँगको सहकार्यमा दिइएको उपप्रमुख तामाङले जानकारी दिए । यो बेरोजगार तथा सिप नभएका युवालाई प्रभावकारी हुने विश्वास तामाङले लिएका छन् ।
उपमेयरसँग बालबालिका कार्यक्रमले बालबालिकाहरुको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलकोको छ । नगरभित्र गठन भएका महिला तथा बालबालिकासम्बन्धी विभिन्न समितिहरु प्नि सक्रिय छन् । नगरभित्र सञ्चालित बालगृहको अनुगमन तथा सहयोग नगरपालिकाले गर्दै आएको तामाङले बताए ।
जनताको काम गर्न जनताले पठाएको हुँदा सुशासनका साथै जनताले अनुभूति गर्ने गरी काम भइरहेको तामाङ दाबी गर्छन् । अब बजार अनुगमनलाई पनि तिब्र बनाउने उपप्रमुख मुरारी तामाङ बताउँछन् ।
नगर क्षेत्रको विकास र समृद्धिको लागि योजनाबद्ध ढङ्गबाट नगरका जनप्रतिनिधिहरु सक्रिय भएर लागेका छन् । एक वर्षमा नगरको भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक, खेलकुद र धार्मिक सांस्कृतिक क्षेत्रमा धेरै काम भएका छन् । जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर नगरको योजना कार्यान्वयन भएका छन् ।
‘जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ भनेर नगर प्रमख र उपप्रमुखलगायत सबै जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी सक्रिय छन्,’ नगर प्रमुख अधिकारी भन्छन्, ‘जनताको गुनासो सम्बोधन गर्न हामी सँधै तत्पर छौँ ।’