नेपाल टेलिभिजनका महाप्रबन्धक एवं सञ्चारकर्मी फूलमान बलद्वारा निर्देशन गरिएको चलचित्र ‘नीरफूल’ शुक्रवार (आज) देखि प्रदर्शनमा आएको छ ।
चलचित्रमा अभिनेता दयाहाङ राई‚ बुद्धि तामाङ, शान्ति वाइबा‚ जिग्मेछ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।
नीरफूलमा हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको निर्देशक फुलमान बलले जानकारी दिए ।
चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ। चलचित्र भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुर्नःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको छ । चलचित्रले अहिलेको शासन व्यवस्थालाई उजागर गरेको छ । भाषिक हिसाबले आदिवासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि चलचित्रमा प्रस्तुत गरिएको छ ।
चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा (नेपाल) ले निर्माण गरेका हुन् । त्यस्तै सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् ।
चलचित्रलाई काफिया फिल्मसबाट गोविन्द शाहीले वितरण गर्दै छन् ।
नीरफुलको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।
सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।
यसअघि नीरफुलको बुधवार प्रिमियर शो गरेको थियो । नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको निर्माण पक्षले जानकारी दिएका छन् ।