सन् २००२ मा भएको अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहिलो सम्मेलनदेखिको दुई दशक यता विश्वभरि विभिन्न देशहरूमा तामाङ समुदायको फैलावट अझै व्यापक हुँदै गएको छ । वर्तमान नेपाल, भारत, भुटान र चीनको हिमालय क्षेत्र तामाङहरूको आदिम थलो हो । तामाङहरू यी देशका रैथाने आदिवासीहरू हुन् । बहुसङ्ख्यक तामाङहरू उनीहरूको मूल भूमि नेपालको ताम्सालिङ ह्युलमा रहेको छ । आफ्नो आदिम थलोबाट इतिहासको विभिन्न कालखण्डमा तामाङहरू संसारका अन्य देशहरूमा पुगेका छन् । म्यानमार र थाइल्याण्डमा करीब ३०० वर्ष अगाडि नै उनीहरूको बसोबास भएको अनुमान छ । बीसौँ शताव्दीमा तामाङहरूको फैलावट विस्तारीत भयो । संयुक्तराज्य अमेरिका, बेलायत, हङकङ, अष्ट्रेलियादेखि युरोपका स्वीजरल्याण्ड, बेल्जियम, पोर्चुगल, आयरल्याण्ड, रोमानिया, माल्टालगायत देशहरूमा तामाङ समुदायको बसोबास बढ्दै गएको छ । यस किसिमको विस्तारलाई डायस्पोरा भन्न सकिन्छ । विगत तीन दशक यता वैदेशिक रोजगारीको लागि तामाङ युवाहरू एशियाका विभिन्न देशहरू जस्तै मलेसिया, दक्षिण कोरिया र जापानमा पुगेका छन् । त्यसैगरी मध्यपूर्व अरबका देशहरू साईप्रस, साउदीअरब, बहराईन, इराक, इजरायल, युएई, कुवेत, कतारलगायत देशहरूमा कामको लागि उनीहरू ठुलो सङ्ख्यामा पुगेका छन् । नेपालबाट मात्रै करिब १ लाख ५० हजार तामाङहरू अन्य विभिन्न देशमा रहेको अनुमान छ ।
आफ्नो आदिम थलोका देशहरूमा, डायस्पोरामा वा वैदेशिक रोजगारीमा रहेका तामाङहरूको आ-आफ्नै विशिष्ट किसिमको परिवेश र परिस्थिति छ । आफू बसोबास गर्ने वा काम गर्ने देशको राजनीतिक व्यवस्था, अवस्था र त्यहाँका नीति नियमहरूले त्यस ठाउँमा रहेका तामाङ समुदायको अवस्था, अवसर र चुनौतिहरू धेरै हदसम्म निर्धारण गर्दछ । सबै देशहरूमा आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदायको रूपमा वा श्रमिकको रूपमा उनीहरूले विभेद भोग्न बाध्य हुनुपर्ने अवस्था कम चुनौतिपूर्ण छैन । तामाङ समुदायको लागि सबै देशहरूमा आ-आफ्ना सङ्घर्ष र सम्भावनाहरू छन् । संसारभरिका विभिन्न देशमा छरिएर बसेका र विविध खालका अवस्थाहरूमा रहेका तामाङहरूको सङ्घर्ष र आकाङ्क्षाहरूमा ऐक्यवद्ध भएर जो जहाँ रहेका छन् त्यहाँ उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण र सम्बर्द्धन गर्नु अन्तर्राष्ट्रिय तामाङ परिषद्को भूमिका हो । यो विश्वको कुनै पनि स्थानमा रहेको भए पनि तामाङहरूलाई एक जातिको रूपमा गोलबन्द गर्ने एउटै कुरा छ । त्यो हो यस हिमाली भू-भागमा उनीहरूको पूर्खाले सिर्जना गरेको सुन्दर तामाङ सभ्यता, सांस्कृतिक सम्पदा र यसले हामीलाई दिने शालिन पहिचान । तामाङ सभ्यताभित्र आफ्नै भाषा, भेषभूषा, गहना, चाडपर्व, गीत-सङ्गीत, कला र विश्वदृष्टिकोण विशिष्ट छ । यो तामाङ सभ्यता र सांस्कृतिक सम्पदा तामाङ समुदायको मात्रै नभएर सम्पूर्ण मानव सभ्यताको अंग हो र सृजनाको स्रोत पनि हो । त्यसैले तामाङ सभ्यता, सांस्कृतिक सम्पदा र पहिचानको संरक्षण र सम्वर्द्धन गर्नु अन्तर्राष्ट्रिय तामाङ परिषद्को अर्को मुख्य दायित्व हो । यस सन्दर्भमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को आगामी कार्यकालको लागि निम्न प्राथमिकताहरूको प्रस्ताव प्रस्तुत गरिएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्सँग आबद्ध तथा अन्य सम्पूर्ण तामाङ संघ-संस्थाहरूले आआफ्नो देश, क्षेत्र, शहर, गाउँ र वस्तीहरूमा निम्न लक्ष्य प्राप्तिका लागि कार्यक्रमहरूको आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले यस काममा समन्वयकारी र सहयोगीको भूमिका निर्वाह गर्नेछ ।
१. तामाङ रिमठिम, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने,
तामाङ रिमठिम हाम्रो पहिचानको मुटु हो । तामाङ सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य हो । हाम्रो चाडपर्व, उत्सव, भेषभूषा, गरगहना, गीतसंगीत र कला हाम्रो निधिहरू हुन् । यस अन्तर्गत ल्होछारलाई सामूहिक उत्सवका साथै घरघरको पर्वको रूपमा व्यापक बनाउने, बुद्ध जयन्तीलाई बौद्ध शिक्षा ग्रहण र शील पालनाको दिवसको रूपमा मनाउने, फोला-डाला-स्याङलाको परम्परालाई परिष्कृत बनाउने र ताम्बा परम्पराको मौलिकतालाई निखार्ने कामलाई अभियानको रूपमा लैजाने हाम्रो एउटा प्राथमिक अभियान रहने छ ।
२. सबै देशमा साझा तामाङ पहिचानको औपचारिक मान्यता हासिल गर्ने,
नेपाल र भारतको पश्चिमबंगाल र सिक्किममा तामाङहरूले आदिवासीको रूपमा राज्यबाट मान्यता प्राप्त गरिसकेको छ । आफ्नो देशको परिस्थिति अनुसार सबै देशमा तामाङहरूले आदिवासी वा अल्पसङ्ख्यक समुदायको रूपमा मान्यता हासिल गर्ने लक्ष्य हाम्रो लागि महत्वपूर्ण छ । तामाङ पहिचानको औपचारिक मान्यतासँगै संसारभरिका तामाङहरू एउटै तामाङ पहिचानमा बाँधिन सबैले तामाङ हुनुको मर्मलाई जीवनमा आत्मसात गर्न अति आवश्यक छ । विशेषगरी हाम्रो पहिचानसँग अभिन्न रूपमा गाँसिएको हाम्रो रूइ, कुल परम्परा र आस्याङ-स्याङप्रतिको उच्च सम्मानको प्रथा अझ व्यवस्थित गर्ने ।
३. सबै देशमा तामाङहरूको मानवअधिकार र स्वतन्त्रता सुनिश्चित गर्ने,
हरेक देशमा त्यहाँका तामाङहरूको मानवअधिकार र स्वतन्त्रता सुनिश्चित गर्न उल्लङ्घनका घटनाहरू भएमा छानबिन गरी न्याय निरूपण गर्न र मानवअधिकार प्रवर्द्धन गर्न सचेतना फैलाउन नियमित कार्यक्रमहरू सञ्चालन गर्ने ।
४. नेपालमा ताम्सालिङ स्वायत्तताको स्थापनाको चाहना सफल बनाउन एकजुट हुने,
नेपालमा ताम्सालिङ स्वायत्त प्रदेश स्थापनाको लक्ष्य अझै पूरा हुन सकेको छैन । तामाङ जातिको मुल भूमिमा उनीहरूको आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताबिना उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित हुन सक्दैन । ताम्सालिङ स्वायत्तताको मुद्दा संसारभरिका सबै तामाङहरूको मुद्दा पनि हो । ताम्सालिङको उन्नयनले सबैलाई गौरव र उर्जा प्रदान गर्दछ । यो स्वशासन र समावेशी लोकतन्त्रको पक्षमा गरिने लडाइँ पनि हो । यसको लागि नेपालमा ताम्सालिङ स्वायत्तताको आवाजलाई शसक्त बनाउन सबै पक्षबाट नैतिक, भौतिक र अन्य आवश्यक सहयोग गर्ने हाम्रो अर्को प्राथमिकता हो ।
५. सबै देशमा रहेका तामाङहरूले आफ्नो मातृभाषाको प्रयोगलाई व्यापक बनाउने,
भाषा हाम्रो रिमठिम, ज्ञान दर्शन र कलाको माध्यम हो । यो तामाङ पहिचानको मुटु पक्ष हो । तामाङ भाषाको प्रयोगलाई व्यापकरूपमा विशेषगरी नयाँ पुस्तामा प्रसारण गर्ने, घरघरमा बोल्ने र यो भाषा, लिपिमा साहित्य तथा अन्य कलाहरू सृजना गर्ने अभियान चलाउने ।
६. आगामी कार्यकाललाई तामाङ युवा तथा बालबालिकाको उच्च शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान चलाउने,
अहिले संसारमा उच्चदरमा भइरहेको प्रविधिको विकाससँगै ज्ञान र श्रमको क्षेत्रमा भइरहेको परिवर्तनलाई हामी ग्लोबलाइजेशनको रूपमा पनि बुझ्छौ । यसले तामाङ जस्तो सानो जनसङ्ख्या भएको समुदायमा यसबारे चनाखो भएन भने गहिरो नकरात्मक असर पार्न पनि सक्छ । त्यसैले यो परिवर्तनको प्रवाहसँगै तामाङ युवाहरूलाई उच्चशिक्षा हासिल गर्न र उत्कृष्ट व्यवसायिक जीवन हासिल गर्न उत्प्रेरित गर्ने । यो परिवर्तनको प्रवाहमा सरिक हुँदा आफ्नो मुल जरा र पुख्र्यौली इतिहास र रिमठिमलाई आफ्नो स्वत्वको रूपमा राख्ने ।
७. जुनसुकै देशमा रहेको तामाङहरू विपदमा परेका अवस्थामा राहत र उद्धारको लागि काम गर्ने,
विपद् अहिलेको संसारको बढदो जोखिमको रूपमा अगाडि आएको छ । जलवायु परिवर्तनले हिमाली भूभाग र कमजोर वर्गलाई अत्याधिक नकरात्मक असर गर्ने देखिन्छ । सन् २०१५ मा गएको नेपालको भुकम्पलाई हामी ताम्सालिङ ट्राजेडीको रूपमा लिन्छौ । कुनैपनि देशमा रहेका तामाङहरू यस्ता प्राकृतिक वा अन्य किसिमको विपदहरूमा पर्नसक्छ । दुर्घटना, विमारी, वा अन्य किसिमका आपतहरू कसैमाथि पर्दा उद्दार र राहतको लागि सहयोग समन्वय गर्ने हाम्रो अभिभारा हो । यस्ता जोखिमहरू तामाङ श्रमिकहरूको लागि अझै बढि हुनसक्ने हुनाले यस्ता विपद्बाट जोगिन सचेतना फैलाउने र राहत तथा उद्दारका कार्यहरू गर्नु पर्दछ ।
८. सम्पुर्ण तामाङहरूको ऐक्यवद्धता र सामूहिक सहकार्य निरन्तर राख्ने,
अन्तर्राष्ट्रिय तामाङ परिषद् विश्वका तामाङहरूको साझा मञ्चको रूपमा सम्पूर्ण तामाङहरूविच मैत्रीभाव, भातृत्व, सद्भाव वृद्धि गर्नको लागि क्रियाशील मञ्ज हो । यस परिषद्सँग सम्बद्ध र अन्य फोरमहरू मार्फत आपसी संचार, छलफल र संवाद निरन्तर राख्दै अझ घनिभुत बनाइनेछ ।
९. आफु बसोबास गरिरहेका देशको अन्य आदिवासी समुदायको हक, अधिकारको सवालमा ऐक्यबद्धता जाहेर गर्ने,
तामाङहरू हिमालय पर्वतका आदिवासी हुन् । आदिवासी जीवन पद्धति र इतिहासले उनीहरूलाई विशिष्ट प्रकारको विश्व दृष्टिकोण र दर्शन दिन्छ । तर, विश्वमा वाह्य वा आन्तरिक उपनिवेशीकरणको कारणले सबै देशका आदिवासीहरूमाथि जघन्य अन्याय भएको छ। त्यसको विरूद्धमा संसारका आदिवासीहरूले आफ्नो आन्दोलनलाई अन्तर्राष्ट्रियकरण पनि गरेका छन् । यस सन्दर्भमा आदिवासीको हैसियतमा आफु बसोबास गरिरहेका देशको अन्य आदिवासी समुदायको हक अधिकारको सवालमा ऐक्यबद्धता जाहेर गर्ने हाम्रो मुक्ति आन्दोलनको एउटा पक्ष हो ।
१०. विश्वमा शान्ति, बहुलता, समानता, भातृत्व र स्वतन्त्रता प्रवर्द्धनका लागि काम गर्ने,
हामी यो संसारको बहुल सांस्कृतिक सुन्दर इन्द्रेणी रंगको एउटा सुन्दर अंग हौँ । बहुलतामा समानता हासिल गर्नु हाम्रो लक्ष्य हो । यस सन्दर्भमा विश्वमा शान्ति, बहुलता, समानता, भातृत्व र स्वतन्त्रता प्रवर्द्धनका लागि काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरूसँग हामी निरन्तर सहकार्य गर्नेछौँ ।
(सन् २०२३, जून ३-४ मा थाइल्यान्डको बैंककमा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत तथा पारित कार्ययोजना)