बिरामीको नाममा रकम उठाउने अर्जुनविरुद्ध उजुरी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1631 Shares
काठमाडौं
तस्विर : अर्जुन लामाको फेसबुकबाट लिएको स्क्रिनसट

‘मिक्मार दोर्जे लामा बचाउ अभियान’ को नाममा सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर ठगी गरेको आरोपमा एक जना विरुद्ध प्रहरीमा उजुरी दिएको छ।

सिन्धुपाल्चोक लिसंखुपाखर–४ अत्तरपुरका कलेजो रोगी मिक्मार दोर्जे लामाको नाममा अर्जुन लामा नाम गरेको व्यक्तिले सामाजिक सञ्जालमार्फत ठगी गरेकोले नेपाल प्रहरीको साइबर ब्युरोमा बुधवार उजुरी दिएका हुन् ।

‘मिक्मार दोर्जे लामा बचाउ अभियान’ का अभियन्ता गौतम लामाका अनुसार अर्जुन लामा नाम गरेको व्यक्तिले विदेशका सङ्घसंस्था र व्यक्तिहरूसँग डिल गरेर विना जानकारी रकम उठाउन खोजेकोले उनीविरुद्व उजुरी दिएको बताए ।

मिक्मार लामा वैशाख ४ गतेदेखि वीर अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था कमजोर भएको हुँदा हामीले अभियान चलाएर सहयोग जुटाउँदै आएको थियो‚ अभियन्ता गौतमले भने‚ ‘त्यस्तै स्थानीय क्लबहरूले समेत बिरामी मिक्मारको लागी अभियान सञ्चालन गरेको थियो । अभियानबाट सङ्कलित रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिसकेका छन् ।’

रकम हस्तान्तरणपछि अमेरिका बाहेकका अन्य देशमा तत्काललाई अभियान स्थगित गरेको अभियन्ता गौतमको भनाइ छ ।

यसरी अभियान नै बन्द रहेको अवस्थामा अर्जुन नाम गरेको फेसबुकबाट बिरामीका लागि सहयोग भन्दै आफ्ना सिद्धार्थ बैङ्कको खाता र ई सेवा नम्बर राखेर रकम सङ्कलन गरेको पाएपछि साइबर ब्युरोमा उजुरी दिएको अभियन्ता गौतमले बताए । अभियन्ता गौतमका अनुसार आरोपी अर्जुनले बिरामी मिक्मारका लागि सहयोग सङ्कलन गर्न तयार पारेर फेसबुकमा अपिल गरेका सन्देश हुबहु आफ्ना फेसबुकमा हालेर भ्रमित पारिरहेका छन् ।

त्यसै गरी अमेरिकामा रहेका समाजसेवी विनोद मोक्तान, सोनी लामा र दुबईमा रहेका मकर मोक्तानबाहेक अन्यसँग बिरामी मिक्मारका लागि समन्वय नगरेको अभियन्ता लामाले बताए । बिरामीका लागि सहयोग गर्न चाहना भएकाले सम्बन्धित पक्षसँग समन्वय गरेर मात्र सहयोग गर्न पनि अभियन्ता गौतमले अनुरोध गरेका छन् ।

अभियन्ता गौतमका अनुसार आरोपी अर्जुनले फेसबुक प्रोफाइलमा प्रहरीको पोसाक लगाएको फोटो राखेका छन् । आरोपी अर्जुनले फेसबुकमा प्रहरीलाई बढुवा हुँदा बधाई दिएको पोस्ट राखेका छन् । उनले विभिन्न सहयोग मूलक सन्देश पनि बेलाबेलामा फेसबुकमा पोस्ट गरेको देखिन्छ । आरोपी अर्जुनलाई कल गर्दा बारम्बार व्यस्त रहेको सन्देश आइरहेको छ ।

बिरामी मिक्मारका लागि आरोपी अर्जुनले साझा मञ्च साउदीका अध्यक्ष अञ्जन गुभाजुलाई समेत पटक पटक सहयोगका भन्दै मेसेन्जरमा अनुरोध गरेको खुलेको छ । मैले पनि सहयोग गर्नै लाग्दा साउदी, दुबई लगायतबाट अर्जुनमार्फत गरेको आर्थिक सहयोग सम्बन्धित व्यक्तिसम्म नपुगेको गुनासो सुनेपछि नगरेको हो, मञ्चका अध्यक्ष गुभाजुले बताए ।

सामाजिक सञ्जाललाई सकारात्मक प्रयोग नहुँदा ठगी खाने भाँडो बनेको देखिन्छ । सम्बन्धित निकायले नियमन गर्न नसक्दा सामाजिक सञ्जाल प्रयोग गरेर ठग्नेहरू पछिल्ला दिनमा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया