फिल्मी पत्रकारिताका सुखदुःख

काठमाडाैँ

पहिले फिल्मी किरो, त्यसपछि पत्रिकाको । काठमाडौँ स्वयम्भूमा हुर्किएँ । सानैबाट धेरै फिल्म हेर्थेँ । एक रुपैयाँमा टिकट काटेर हलमा गएर फिल्म हेर्ने चलन थियो । तर, १५ दिनमा एकचोटिमात्र । तर, हप्तामै दुईचोटि भिसिआरबाट फिल्म हेर्ने व्यवस्था स्वयम्भूतिरै मिल्थ्यो । एउटा फिल्मको दुईदेखि तीन रुपैयाँ तिरेर हेर्दा सुकुलमाथि बसेर हेर्न पाइन्थ्यो । सानैबाट फिल्मको किरो भइसकेछु ।

त्यसपछि लगनखेलको नमूना मछिन्द्र स्कुलमा भर्ना भएँ । पाटनमा बस्न थालेँ । सानैबाट पत्रिका पढ्थेँ । २०४८ सालतिरको कुरा बालपत्रिका बालमञ्च पढ्थेँ । युवामञ्च पढ्न थालेँ । पछि मुना पनि आयो । दैनिक पत्रिका पनि अलिअलि पढ्थेँ । हिन्दी कमिक्स त धेरै नै पढ्थेँ । नेपालमा प्रकाशनमा आएका लगभग सबै पत्रिका विमोचन, कामना मासिक, मूल्याङ्कन, हिमाल, नेपाल सबै पढ्थेँ । हिन्दी सिने पत्रिकाहरु फिल्मफेयर, मायापुरी, स्टारडस्ट सबै पढ्थेँ ।

नेपाली सिनेपत्रिका गीताञ्जली, कामना, रोशनी, कलापुञ्ज, मनोकामना यस्तै खाले पत्रिकाहरु नियमित पढ्थेँ । पत्रपत्रिकामा छापिने फिल्मसम्बन्धी समाचारहरु सबै पढ्थेँ । हुँदाहुँदा ‘राइटिङ सेन्स’ आएछ क्यारे !

पाठक प्रतियोगितामा पहिलो

२०५५ मा आजको समाचारपत्रमा पाठक बिच लेख प्रतियोगिता आह्वान गर्यो । अहिलेको नेपाल समाचारपत्र । नेपाली चलचित्र उद्योगको विकासका लागि के गर्नुपर्छ ? यो शीर्षकमा प्रतियोगिता आह्वान भयो । म पनि सहभागी भएँ । मैले लेखेको लेख पहिलो भएछ । पाँचवटा पाठक लेख छापिएको थियो, मेरो लेख ‘बोल्ड’मा छापिएको थियो ।

पुल्चोकमा बस्थेँ त्यो बेला । तीन-तीन महिनासम्म पत्रिका मेरो डेरामा आउनथाल्यो । पुरस्कार त्यही थियो । नियमित पढेपछि पत्रिका पढ्ने रस बढ्यो । लेखनतिर झन् आकर्षित भएँ । कामनामा लामो समय आर्टिकल पठाएँ । राम्रो स्थान दिएर छापियो । पछि नियमित नै छापिन थाल्यो ।

फिल्मी क्षेत्रमै केही गर्ने लोभ थियो त्यो बेलाबाटै । त्यतिबेला मसँग थोत्रो मोटरसाइकल पनि थियो । त्यहाँ अच्युत कोइराला भन्ने साथी भएकोले म भेट्न गएँ । उनैसँग कार्यक्रम, सुटिङ, पार्टीतिर जान्थेँ । स्ट्रिंगरको रूपमा यसरी फिल्मी पत्रकारितामा इन्ट्री भयो ।

पत्रकारिता तालिमपछि

२०५६ मा मिडिया पोइन्टमा पत्रकारिता तालिमका लागि भर्ना भएँ । अनामनगरमा थियो मिडिया पोइन्ट । एक वर्ष तालिम लिएँ । प्रतिमहिना ८०० रुपैयाँ तिर्नुपथ्र्यो । तालिमका बिचमा पनि कामनामा लेखिरहेँ । तालिममा एकसे एक मान्छेहरु आएका थिए । कलेज पढ्दै गरेका वासुदेव तिमल्सिना, दिवस गुरागाईं, कपिल ज्ञवालीजस्ता साथीहरूसँग भेट भयो ।

त्यसबेला फिल्मसम्बन्धीमात्र पेज हेर्ने गरी हङकङबाट प्रकाशन हुने एभरेस्ट दैनिकमा काम थालेँ । गणेश राई सम्पादक, मैतीदेवीमा अफिस थियो । पिडिएफ तयार गरेर पठाएपछि उता छापिन्थ्यो । आनन्द पी राई र कुमार यात्रु, गोरखापत्रका श्रीधर आचार्य भेट्ने मौका त्यहीँ पाएको । ‘पार्ट टाइम’ त हो, फेरि तलब पनि ढिला दिन थाले । अर्कोचाहिँ मैले लेखेको कुरा यहाँ देखाउन पनि नसकिने पत्रिका नेपालमा नआउने भएपछि नेपालकै पत्रिकामा काम गर्नुपर्छ भन्ने भइरहेको थियो ।

तालिम सकिन लागेको बेला कपिल ज्ञवालीले नयाँ पत्रिका निस्कन लागेको छ जाउँ भने । नयाँ सडक रहेछ पत्रिकाको नाम । २०५७ साल साउनतिर । किशोर नेपालको पत्रिका रहेछ । सुरूमै स्ट्रिंगर हुन्छ भने । फुलस्केपमा हातैले लेखेर समाचार बुझाउनु पथ्र्यो । पोस्टकार्ड साइजको फोटो पनि अट्याच गरी राख्नु पथ्र्यो । कुनै समाचार छापिने कुनै नछापिने । घरडेरामा पुगेर अन्तर्वार्ता लिन्थेँ । हामीसँग कलाकारको फोटोको अर्काइभ नै बन्थ्यो ।

कहिलेकहीँ एउटाको अन्तर्वार्ता फोटो अर्को मान्छेको छापिएर आउँथे । विष्णु रिजाल भन्ने हिरोको इन्टरभ्यु लिएको थियो, फोटोचाहिँ महादेव त्रिपाठीको छापिएर आएछ ।

२२ हजारको बाइक

त्यतिबेला आर्थिक अभाव थियो तर भाग्यवश भनौँ, विदेशीलाई नेपाली कोचिङ पढाउने मौका मिल्यो । एक दिन पढाएको सयदेखि डेढ सय पाउँथेँ । दुईटा क्लास लिन्थेँ । महिनाको सात हजार स्पैयाँ जति पैसा कमाएपछि जोगाएर सेकेण्ड ह्याण्डको बाइक किने, २२ हजारको ।

दुई-तीन हप्तापछि तलबमै काम गर्ने गरी राखे । त्यतिबेला फिचर चिफ लीलाराज खतिवडा थिए । मेरो ह्यान्डराइटिङ राम्रो भएकोले राखेके भन्थे उनी ।

फिल्म पेज जिम्मा लिएँ । सिनियर कोही थिएन फिल्मी पेजमा । कमान्ड मैले पाएँ । १६÷१७ महिना चलेपछि अचानक बन्द भयो । त्यो बेला कोठा भाडा ८०० पथ्र्याे । तलब ४५०० थियो ।

त्यसपछि नेपाल समाचार पत्रका प्रकाशक पुष्करलाल श्रेष्ठलाई फोन गरे । पत्रिका बन्द हुने खबर सुनाउँदै कामको बारेमा कुरा गरेँ । खेल पत्रकार विनोद पाण्डेले त्यहाँ खाली छ भनेपछि आँट आएको थियो । दीपक रौनियारले छाडेका रहेछन् ।

सीधै फोन गरेको भोलिपल्टै भेट्न भने । बिना हिचकिचाहट फोन गरेको देखेर होला, खेल र मनोरञ्जन दुबै हेर्ने गरी काम पाएँ । साँझ ५ बजेसम्म एपी, एएफपी, पिटिआइबाट आएका खेल समाचार अनुवाद गरेपछि साँझबाट फिल्मी पेजमा लाग्थे । खेलकुद पत्रकारको सम्मेलनमा पनि जान्थेँ । रंगशाला पनि जान्थेँ ।

दुई महिनापछि इन्टरटेन्टमेन्ट हेर्नेगरी जिम्मा पाएँ । नेपाल समाचारपत्रमा १८ महिना काम गरेँ । त्यसपछि नेपाल स्पेसटाइममा आबद्ध भएँ ।

तीनतिर काम, बाझैबोझ

पैसा बढाउँछु यता आउनु भनेर स्पेस टाइमबाट अफर आयो । लाजिम्पाटमा अफिस थियो । सम्पादक योगेश उपाध्याय । सेकेन्ड म्यान विष्णु निष्ठुरी थिए । २० महिना काम गरेँ । फेरि तलब ढिला हुन थाल्यो । त्यसपछि काम छाडेँ । तलब सबै क्लियर नै गरिदियो ।

लगत्तै नेपाल म्यागेजिनमा स्ट्रिंगर भएर फेरि काम थालेँ । तलब कम, हङकङमा निस्कने एभरेस्ट दैनिक साप्ताहिक हुन थालेको थियो । त्यहाँ फिल्म पेज हेर्ने गरी जोइन भएँ । तैपनि गाह्रो भयो । कमाइ कम थियो । पछि नेपाल म्यागजिन छाडेर २०६४ मा नयाँ पत्रिका आएँ ।

कमलपोखरीमा अफिस थियो । त्यतिबेला तलब कम नै थियो । हङकङको काम छाडिनँ । राजधानीको कतार संस्करणमा पनि काम गरे । तीनतिर काम गर्दा २१ हजारभन्दा बढी तलब हुन्थ्यो । त्यतिवेला अरू पत्रकारको तलब बढीमा १२ हजार हुन्थ्यो ।
तर, तनाव धेरै हुन्थ्यो । नयाँ पत्रिकामा दिनदिनै पेज भर्नुपर्ने । ६५ सालतिर नागरिक दैनिक आउने कुरा भयो । त्यहीबेला नागरिकमा अफर आयो । युवराज घिमिरेले याक एण्ड यतीमा बोलाए । विनोदराज ज्ञवालीले धेरैतिर घुमन्ते रहेछौ, अब फिक्स्ड भएर काम गर्नू भनेर ल्यापटपमा तलब लेखेर देखाए- २१ हजार चानचुन ।

छ महिनापछि बल्ल पत्रिका प्रकाशन भयो । पत्रिका प्रकाशनपूर्व नारायण वाग्ले, अमित ढकाल, गुणराज लुईटेल पनि जोइन भए । यही नै मेरो धेरै ऊर्जाशील समय बित्यो । यहाँ साढे आठ वर्ष काम गरेँ ।

सम्पादकको जिम्मेवारी, निर्देशनको यात्रा

तलब सोचेजस्तो बढेन । त्यहीबेला नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटाले बोलाए । तलब राम्रै आउने भएपछि गज्जबमा फर्किएँ । नागरिकमा हुँदा नै ‘घामपानी’ सुटिङ सुरु भइसकेको थियो । २०७४ वैशाखमा त घामपानी रिलिज नै भयो । गज्जबमा १४ महिना काम गरेपछि छाडेँ ।

फरकधार अनलाइन आयो । किशोर नेपाल आउने कुरा थियो । लञ्चको दिनमै उहाँ नआउनुभएपछि संस्थापक सम्पादकका रूपमा काम गरे । दुई/तीन महिनामै काम छाडे । त्यसपछि ‘गोपी’ फिल्म सुरू भयो । ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ गर्दै ‘नाङ्गो गाउँ’सम्म आइपुगेको छु । पत्रकारितामा लगभग १८ वर्ष काम गरेछु ।

फिल्म समीक्षाका दुःख

पहिले फिल्म हेराइ नै आलाकाँचो थियो । नवयुवामा गोविन्द वर्तमानले छद्म नाममा निर्मम समीक्षा गर्थे । प्रेसर नआओस् भनेर होला । त्यसबेला फिल्मबारे यस्तो लेख्नुपर्छ भन्ने लाग्यो । ‘नेपाली बाबु’ले राम्रो व्यापार गर्यो । तर, नेपाली बाबुको क्रिटिकल (आलोचनात्मक) समीक्षा आयो । यस्तो फिल्म किन घातक छ भन्ने कारणसहित ।

२०५७ सालमा नवीन सुब्बा, छिरिङरितार शेर्पा, नाटकतिर अनुप बराल, सुनिल पोखरेलसँग भेट भयो । यसले फिल्म बुझ्न थप मद्दत पुग्यो ।

त्यसपछि फ्रान्सेली केन्द्रले फ्रेञ्च फिल्म देखाउँथ्यो, रसियन कल्चर सेन्टरले रसियन फिल्म, इजरायलीले त्यहाँका फिल्म, चिनियाँ दूतावासले चिनियाँ, भारतीय दूतावासहरुले पनि क्लासिक फिल्म देखाउँथ्यो । फरकखालको फिल्म हेरेपछि आँखा उघ्रियो, फिल्ममा हल्काफुल्का मनोरञ्जनभन्दा जीवन जोडिएको हुनुपर्छ भन्ने लाग्यो । अर्थपूर्ण फिल्म चाहिने रहेछ भन्ने लाग्यो । त्यसपछि त्यस्ता फिल्ममाथि बहस गर्ने, लेख्ने, नेपाली फिल्ममा पनि त्यस्तो आधार खोज्ने हुन थाल्यो ।

जाँडरक्सी खाइनँ, आर्थिक प्रलोभनमा परिनँ सबै सम्पादकसँग नजिक रहेर काम गर्ने मौका पाए । म जाँडरक्सी खान्नथेँ । इमान्दारिता कायम राखेँ । फिल्मबारे राम्रो भनेर लेखक निर्देशक नजिक हुन खोज्थे । म त्यस्तो प्रभावमा परिनँ । त्यसैले पनि क्रिटिकल्ली समीक्षा लेख्न सकेँ । कसैले के गर्ला के भन्ला भन्ने डर बोकिनँ । मैले लेखेको कुरामा धेरै कलाकारसँग द्वन्द्व भयो नयाँ सडकबाटै । चलेको फिल्मबारे क्रिटिकल्ली लेख्दा असहज हुने रहेछन् । त्यसपछि निर्देशक, कलाकारले अफिसको ल्यान्डलाइनमै फोन गरेर थर्काउँथे । कार्यक्रमतिर भेट्दा मुखमुखै लाग्ने । त्यही मलाई मजा लाग्थ्यो ।

एउटा फिल्ममा झगडा गर्थे । पछि अर्को फिल्म त बनाउनै पथ्र्यो । समाचार लेखाउनैपर्ने । त्यसका लागि फेरि उनीहरु सम्बन्ध सुधार गरिहाल्थे । क्षणिक आवेग आए पनि दीर्घकालीन रिस राख्दैनथे । मेरो लेखनमा सम्पादकहरुको साथ रह्यो ।

म्पादकहरुले राम्रो लेख भन्थे कहिलेकही । राम्रो नलागे म लेख्दिनँथे । सम्पादकहरुले अर्कैलाई लेख्न लगाउँथे । दम नभए म छाप्न पनि रोक्दिन्थेँ ।

लेखक निर्देशककै हो आलोचना हुने । बढी गाली खाने ‘राइटर’, ‘डाइरेक्टर’ र ‘प्रोड्युसर’ । नेपालमा आलोचना फेस गर्न अहिले पनि गाह्रै छ । त्यतिबेला कलाकार राष्ट्रका गहना भन्दै पुल्पुलिएका थिए । आलोचना सुन्नै सक्दैनथे । अहिले त समीक्षकलेभन्दा कडा फेसबुकमै भेट्छन् कलाकारले गाली ।

भुवन केसी फिल्मको प्रोड्युसर पनि हो । दुई-तीन पटक लफडा भयो । ‘सुपरस्टार’ २०५८ तिर आयो । ‘रंगीला’बाट चोरेको भनेर छर्लंग पारे । त्यसबेला पार्टीमा भेट हुँदा आवेग देखाए भुवनले । पछि ‘म तिमीबिना मरिहाल्छु’ भन्ने फिल्म आयो । चल्नु त चल्यो तर राम्रो व्यापार गरेन । समीक्षा कडै गएछ । अफिसमै आइपुगेछन् । आवेग क्षणिक हो । अहिले राम्रै छ । आफूलाई परिस्कृत गर्दै लानुपर्छ । फिल्म मेकरभन्दा एक कदम माथि हुनुपर्छ आफू । यो हरेक बिटमा हुनुपर्छ । यसले राम्रै लेख्छ भन्ने इमेज दिनुपर्छ । अचेल पनि समीक्षा आउँछ । तर, त्यसलाई अरूले नै उडाइरहेको देखिन्छ । समीक्षाको नाममा कुतर्क गर्नुहुन्न भन्ने हो ।

न्युजरुममा तामाङ भेट्नै मुस्किल

पर्सेप्सन ‘भोटेको छोराले के लेख्न सक्छ र’ भन्ने हुन्थ्यो । मैले विभेद त फेस गर्नुपरेन तर कतिपय ठाउँमा मंगोलियन फेसमा म एक्लै पाउँथेँ । तामाङ समुदायको म एक्लै नै हुन्थेँ । जनजातिको मेन स्ट्रिममा म एक्लै हुने । अड लाग्थ्यो । फिल्ममा जनजातिका कथा पनि आउँदैनथे । कतिपय डेस्क चिफले मेरो लेखलाई देखाउँदै नेपाली मातृभाषी पत्रकारलाई थर्काउँथे– हेर तिमी बाहुन, यो भोटेको छोरा । यस्तो लेख्ने तिमी ? भनेर ।

तामाङ सञ्चार समूहमा कहिलेकाहीँ भेट्ने हो । कुमार यात्रुबाहेक मूलधारको न्युजरूममा कोही तामाङ पत्रकारसँग भेट भएन । फिल्म विषयबाहेक अरू तामाङ कन्टेन्ट आउँदा छाँटकाँट भएर छोटकरीमा जान्थ्यो । तामाङ विषयवस्तुले ठाउँ पाउन मुस्किलै हुन्थ्यो ।

हिरो बन्ने जाँगर चलेन

छस्सछुस्स गेस्ट रोल गर्ने चलन छ फिल्मी पत्रकारले । तर, मलाई यो इच्छा जागेन । ‘घामपानी’भन्दा अघि ‘नागबेली’मा स्क्रिप्ट लेखेँ गोविन्द राईको जोडबलले ।

सानैदेखि फिल्मी किरो भएकोले एक्टिङ पनि सिकेको थिएँ । यस्तो सिन छ आउनु भन्थे । तर, मलाई फिल्मी क्षेत्रमा आएपछि पर्दापछाडि बसेरै काम गर्नुपर्छ भन्ने लाग्यो ।

फिल्ममा राम्रो नभएको भए ब्याक हुन्थें पत्रकारितामा । अहिले ब्याक हुनुपर्ने अवस्था आइसकेको छैन । ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ पछि ‘नाङ्गो गाउँ’मा काम हुँदैछ ।
पत्रकारितामा के पाएँ ?

आमाले हुर्काउनुभएको मलाई । बुवा सानैमा बित्नुभएको । आमाबाट कुनै रोकतोक भएन पत्रकारितामा लाग्न । जे गरे पनि राम्रोसँग गर भन्नुहुन्थ्यो । स्वयम्भूमा तामाङ र नेवारको मिक्स बसाइ थियो । पाटनमा नेवारमात्र । समाजको फेस गर्नुपरेन । सुवर्णपुरमा बसेको भए केही आलोचना हुन्थ्यो कि । पछि त्यहाँ जाँदा पनि राम्रै मान्थे पत्रकार भनेर । पत्रकारितामा लागेर बर्बाद गरे भनेर कुरा काट्ने मान्छेको कुरा सुन्ने फुर्सद पनि भएन ।

आर्थिकरुपमा गाह्रै थियो सबैलाई । हामी सञ्चार समूहमा जुट्दा सबैको अवस्था त्यस्तै थियो । कसरी आर्थिकरुपमा सक्षम हुने भन्ने नै थियो । जीविकोपार्जनकै विषयमा हामी कुरा गथ्र्यौँ । त्यहीबेला मिडियामा समवेशिताको कुरा आयो । दोस्रो जनआन्दोलनअघि थिएन समावेशीको कुरा । मिडियामा जबरजस्ती जनजातिका कुरा ल्याउने आँट नै थिएन । संविधानसभाको चुनावपछि बल्ल यी कुरा बलियो हुँदै आयो ।

१८ वर्ष पत्रकारिता गर्दा कमाएको भनेको पब्लिक रिलेसन हो । कला क्षेत्रमा भिज्ने मौका पाएँ । धेरै पढ्न पाउँदा आफ्नो ज्ञान पनि बढ्यो । समाज बुझेँ । बुझाइको लेभल बढ्यो । अहिले फिल्म बनाउँदा फाइदा भइरहेको छ । पुरस्कारको नाममा एकपटक ललितकला पत्रकारिता पुरस्कार पाएँ, त्यत्ति हो । कुनै दलमा नलागेकोले कुनै पुरस्कार पाउन सकिनँ ।

पत्रकारिताबाट एक किसिमले सन्तृप्त भएँ भनौ न । एकै मान्छेको कति कुरा लेख्ने ? नयाँ कन्टेन्ट आएन । जहिल्यै त्यही कुरा, त्यही पात्र, नयाँ मान्छे भेट्दा केही नयाँ कुरा आउनु पर्यो नि हैन ? अनि तलबको कुरा पनि त्यस्तै भएपछि यस क्षेत्र बिट मारेँ । अन्तिम समयमा शुक्रबार साप्ताहिकमा सम्पादकको अफर आएको थियो । दुई नम्बरी फिल्मको तयारीमा लागिसकेको थिएँ । म फिल्ममा व्यस्त भएँ भनेर टारे ।

(तामाङ पत्रकार संघका पूर्वअध्यक्ष लामाको यस लेख संघका प्रकाशन कलमजीवीबाट साभार गरिएको हो ।)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका