नेपाल पुलिस स्कुल धरानको आयोजनामा प्रदेश नं. १ स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
सामुदायिक प्रहरीको साझेदारीमा ६४ औं प्रहरी दिवसको अवसर पारेर सुनसरीको धरानमा आयोजना गरेका चित्रकला प्रतियोगिता धरान–१८स्थित डिपोट मावि प्रथम भएको छ । माविका छात्रा मिङ्सो यावा लिम्बुले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी प्रतियोगितामा धरान–१२स्थित पब्लिक माविका रुपक राई दोस्रो बन्दै नगद ४ हजार र सैनिक आवासीय महाविद्यालय धरान–१३का अनिल चौधरी तेस्रो बन्दै नगद ३ हजार र प्रमाणपत्र पाएका थिए । चित्रकलाका विषय महिला र बालबालिकाविरुद्धको हिंसा रहेको थियो ।
उनीहरूलाई यही असोज २४ गते प्रहरी दिवसका अवसरमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक विश्वास राईले जानकारी दिए ।
निर्णायकमा चित्रकार महेन्द्र राई, प्रनोद दत्त, हरिलाल उदास रहेका थिए । कार्यक्रममा नेपाल पुलिस स्कुलका प्राचार्य डिकेन्द्र राय, विद्यालय समादेशक प्रहरी निरीक्षक निलमप्रसाद उप्रेतीलगायतको उपस्थितिरहेको थियो ।