कोन्ज्योसोमको मनकामना मन्दिर परिसरमा प्रथम कृषि जैविक विविधता प्रदर्शनी मेला सम्पन्न भएको छ ।
कोन्ज्योसोम गाउँपालिकाद्वारा आयोजित मेला सोमबार सम्पन्न भएको हो ।
‘जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता’ नाराका साथ आयोजित मेलामा दर्जन बढी कृषक तथा फर्महरू सहभागी भएको पालिका कृषि शाखा प्रमुख सुसन बानियाले जानकारी दिए ।
मेलामा सहभागी कृषि तथा फार्महरूमध्येबाट पहिलो‚ दोस्रो र तेस्रोलाई पुरस्कृत गरिएको ३ नं वडाका अध्यक्ष तिलक बहादुर भोम्जनले जानकारी दिए।
मगर गाउँ कालीदेवी कृषि तथा पशु फर्म शंखु २ पहिलो‚ मखमली महिला कृषि सहकारी संस्था दलचोकी ३ दोस्रो एवम् नामसदिम अर्ग्यानिक कृषि तथा पशु फर्म १ र सरस्वती स्वास्थ्य आमा समूह ३ ले छनोटमा परेको छ। छनोट समितिका सदस्य एवम् गाउँपालिका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बताए।
पहिलो दोस्रो र तेस्रोलाई क्रमशः नगद १०, ५ र ३ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बताए। उनले भने, ‘सहभागी व्यक्ति तथा फर्महरूलाई सम्मान पत्र र एक हजार नगद सहित ११ जनालाई सान्त्वना पुरुस्कारद्धारा पुरस्कृत गरियो।’
मेलामा सिस्नु, फापर, घ्यु, लोकल कुखुरा कृषि सामग्री लोकल बोका‚ भाले जस्ता उत्पादन प्रदर्शन तथा विक्री गरेका मखमली कृषि सहकारीका प्रमुख व्यवस्थापक रिना लामाले बताइन्।
यस्तै जीवन र जगतको निरन्तरताका लागि जैविक विविधताको संरक्षण अपरिहार्य रहेको बाली विकास केन्द्रका प्रमुख डा. रामकृषि श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा जतासुकैबाट कृषिका नाममा अनुदान लिन हात पार्ने तर यस्तो जैविक कार्यक्रम बहिष्कार गर्नेहरू पालीकामा बढेकोप्रति निवर्तमान उपाध्यक्ष एवम् माओवादी नेतृत्व निंमा लामाले कटाक्ष गरिन्। त्यस्ताहरूलाई स्थानीय सरकारले काखी नच्याप्न सुझाव समेत दिइन्।
साखु मगर गाउँ माविका कृषिका विद्यार्थीहरूले भने आफूहरूलाई प्रतियोगितामा सहभागिता नराई आयोजकले भेदभाव गरेकोप्रति आरोप लगाएका थिए।