स्नातकोत्तर पढ्दै गरेकी कल्पना विष्टले आफ्नो जीवन यसरी एकाएक उजाडिएला भन्ने सपनामा पनि चिताएको थिएन । काखमा छोरी, श्रीमान् जागीरे । डडेल्धुरा जिल्ला सदरमुकामको बसाइ । खुशी र सुखी जीवन । तर, एउटा सडक दुर्घटनाबाट डडेल्धुरा अमरगढी नगरपालिका- ४ की कल्पनाको सुखी परिवार मात्रै खोसिएन, उनी आफैँ पनि अर्काको सहाराविना बाँच्न नसक्ने भइन् । विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका वडा नं. २ (तत्कालीन छतिवन गाविस वडा नं. ५) कट्पत्तेमा भएको बस दुर्घटनाले यस्तो अकल्पनीय विपद् ल्याइदिएको हो । त्यस दुर्घटनामा कल्पनाले आफ्नो श्रीमान् र छोरी मात्रै गुमाएन, आफू पनि कहिल्यै निको नहुने गरी घाइते भइन् ।
दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्रै सँगै जिउने र सँगै मर्ने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह बन्धनमा बाँधिएकी कल्पना अहिले न त सँगै जीउन सक्ने, न त सँगै मर्न नै सक्ने । उनी अहिले काभ्रेको स्पाइनल इञ्जुरी पुनःस्थापना केन्द्रमा छिन् ।
जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैंको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको उक्त दूर्दान्त बस दुर्घटनाले कल्पनाको जीवन नै उजाड बनाइदियो । मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएर बाँचिरहेकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको शवसमेत हेर्न पाएन । दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जिउने आश मारिसकेकी थियो । उपचार गर्ने चिकित्सकले निको हुन्छ भनेपछि उनी पहिलेजस्तै हिँड्डुल गर्न सक्ने आशामा छिन् । ‘तत्कालै सात महिनासम्म भारत लखनऊको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठिक हुन्छ भनेर फिर्ता पठाए’, कल्पना भन्छिन्- ‘तर, घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसें । निको भएन ।’ एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्रै कल्पनालाई थाहा लाग्यो, अब आफू कहिल्यै हिँड्न सक्दिनन् । मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उनीलाई दिल्लीमा थाहा भयो ।
भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि फेरि कल्पना नेपालको काभ्रे गइन् । दिसापिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूरै निष्क्रिय भएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षाघात भएकाहरुले कसरी जीउने भन्ने कला सिकाइयो । अहिले उनी त्यही पुनःस्थापना केन्द्रमा परामर्शकर्ताका रुपमा काम गरिरहेको छ । आफ्ना पीडा सम्झँदै कल्पना भन्छिन्- ‘यो अवस्था होला भन्ने सोचेकी थिइनँ । हाँसीखुशी जीवन बित्छ भन्ने लागेको थियो तर, अर्काको सहारामा बाँच्नु पर्ने भयो ।’ आफ्नो परिवारै गुमाएकी कल्पनाले हिम्मत भने हार्नु भएको छैन । उनी अगाडि भन्छिन्- ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ । जे भयो त्यही कुरा सम्झेर के गर्नु ?’
कल्पनाको जस्तै उजाडिएको अर्को जीवन हो ३५ वर्षीया कृष्णा शाहीको । कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार दशैं मनाउन जिल्लाको जोरायल गाउँपालिकामा आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आएका श्रीमान/श्रीमतीलाई उक्त घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो । कृष्णाका श्रीमान् राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पना जस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहेकी छन् । ‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौं,’ कृष्णाका भतिजा शेरबहादुर शाही भन्छन्- ‘काकाहरुको जीवन हाँसीखुशी बितेको थियो तर, दैवले एकाएक उजाड पारिदियो ।’ मेरुदण्ड पक्षाघात भएर दिसा पिसाब भएकोसमेत थाहा नपाउने कृष्णालाई अहिले उनका नाबालक छोराछोरी र भतिजा बुहारीहरुले जीउन सहारा दिइरहेका छन् ।
विसं २०७१ असोज महिनामा दशैंको भोलिपल्ट ना ३ ख ५७०७ नं को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी स्थानीय २९ जनाको अकालमै ज्यान गयो भने अन्य ६८ जना घाइते भएका थिए । बसमा १२५ जनाभन्दा बढी यात्रु रहेको बताइन्छ । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो । बस चालक बिष्णु साहु अहिले कारागारमा आफूले गरेको गल्तीको सजाय भुक्तान गरिरहेका छन् । जिल्लामा वर्षेनी दशैं र तिहारको समयमा गाडी दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढी जसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आएको छ । यद्यपि, चालकको लापर्वाही र बढी यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम बढ्न थालेको दीपायलका समाजसेवी घनश्याम पाठकले बताए । उनले भने- ‘चाडपर्वकै बेलामा जिल्लामा ठूला सवारी दुर्घटना हुन्छन् । प्रहरी पनि यसैबेला बढी सक्रिय हुन्छन् तर, पनि दुघटना रोकिएको छैन ।’
चाडपर्वमा भएका सवारी दुघटनामा मात्रै यस जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको तथ्याङ्क छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामी गाउँका सडकमा ट्राफिक प्रहरी नहुने र चालकले आफू खुशी गाडीको क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका कारण वर्षेनी दुर्घटना हुने गरेको बताउँछन् । उनी भन्छिन्- ‘हाम्रो जनशक्ति ग्रामीण सडकमा छैन । चालकले मनपरि गर्ने गरेका कारण दुर्घटना बढ्ने गरेको छ ।’