बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरूप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले आर्थिक वर्षमा समानीकरण अनुदान बापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए।
प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ ।
आगामी आर्थिक वर्षमा हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामाले उल्लेख गरे ।
उनले आगामी आर्थिक वर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर पठनपाठन सुरु गरिने बताए ।
यस्तै आगामी वर्षमा सरकारले प्रदेश भित्रका प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखाना स्थापना गर्न ५ करोड रुपैँया विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा सरकारले प्रदेशभित्रका किसानलाई कृषक परिचयपत्र प्रदान गर्ने उल्लेख गरेका छन् । कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रमा विपद्का कारण भएको क्षति न्यूनीकरण गर्न आवश्यक रकम विनियोजन गरिएको समेत मन्त्री लामाले उल्लेख गरे ।
त्यस्तै प्रदेशमा रहेका रैथाने जातका कृषि बाली उत्पादनलाई प्रोत्साहन गर्न रकम विनियोजन भएको छ ।