अस्ट्रेलियामा आयोजना गरिएको एनआरएन कार्यक्रम जनविरोधी भएको सिड्नीमा रहेका पहिचानवादीहरूले निष्कर्ष निकालिएको छ ।
शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई अतिथि बनाएर कार्यक्रम तयारी गर्दा एनआरएन अस्ट्रेलियाले आफ्ना सदस्यको भावना र मर्म विपरीत कार्यक्रम गर्नु आपत्तिजनक रहेको बताएका छन् ।
एनआरएन अस्ट्रेलियाले यसै साता ज्ञानेन्द्र शाही ,निष्कर्मा केसी, त्रिसला गुरुङ लगायतका आधा दर्जन व्यक्ति बोलाएर सिड्नीमा च्यारीटी कार्यक्रम आयोजना गर्न लाग्दै गर्दा यहाँका जनजाति तथा पहिचानवादीहरूको समूहले यो एनआरएनको बुहसंख्यक सदस्यताको भावना विपरीत राजनीतिक षडयन्त्र भएको भन्दै आपत्ति जनाएका हुन् ।
कार्यक्रममा बोल्दै एनपीएपीएफका प्रतिनिधि टङ्क सापकोटाले एकात्मक शासन प्रणालीका पक्षधर र गणतन्त्र विरोधी व्यक्ति बोलाएर एनआरएनले जग हसाएको बताए । सापकोटाले एनआरएनको यस्तो गतिविधिले नेपाल र नेपाली जनता माथिको कुठाराघात हुने हुँदा सबैले विरोध गर्नुपर्ने बताए ।
यस्तै एनआरएनका युवा अभियन्ता तीर्थराज कार्कीले साझा संस्थाका रूपमा पहिचान बनाएको एनआरएनले राजनीतिक पूर्वाग्रह बोकेर कार्यक्रम गर्दा संस्थाको उचाइ र गरिमा घटाउने बताए ।
यस्तै कार्यक्रममा निन्फाका पेम्बालक्ष्मण गुरुङले एनआरएनको यस्तै यस्तै कार्यले यसको अस्तित्व माथि नै सङ्कट आएको बताए । ‘एनआरएन राजावादी र नस्लवादको पक्षपोषण गर्ने संस्था बन्नु दुर्भाग्य हो’‚ गुरुङले भने, ‘यसको खुलेर विरोध मात्र हैन बहिष्कार समेत गर्नुपर्दछ ।’
यसै गरी पहिचानवादी नेता चित्र तुम्बाहाम्फेले राजनीति गर्नुहुन्न भन्ने संस्थाका पदाधिकारी नै राजनीति गरिरहेको देख्दा यसको चरित्रमाथि शङ्का गर्ने ठाउँ रहेको बताए ।
कार्यक्रमका संयोजक तथा निम्फाका नेता अरुण तामाङले गणतन्त्र विरोधी शक्तिहरू बोक्नु एनआरएनको ठुलो भुल भएको बताए । ‘एनआरएनले गर्न के खोजेको हो रु यसका हजारौँ सदस्यको भावना विपरीत कार्यक्रम गरेर लोकतन्त्रको उपहास गर्नु आपत्तिजनक विषय हो’‚ उनले थपे ।
यस्तै आदिवासी जनजाति महासङ्घ अस्ट्रेलियाले एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनले आदिवासी जनजातिको अधिकारविरुद्ध राजतन्त्रको वकालत गर्ने व्यक्ति ल्याउनु संस्थाको उद्देश्य विपरीत र सदस्यको भावना विपरीत भएको भन्दै विरोध गरेको छ ।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले आफ्नो कार्यकाल सकिनै लाग्दा बलजफती यस्तो कार्यक्रम गर्दा सबै पक्ष विरोधी बनेका हुन् ।
कार्यक्रममा पत्रकार महासङ्घका सल्लाहकार डा राजु मानन्धर, सुमन न्यौपाने, सीमा सुब्बा, सनिता लामा, चिराग प्रधान, दिनेशकुमार लामा, यम धिताल लगायतको उपस्थिति रहेको थियो । यसको हामी घोर भर्त्सना गर्दछौँ ।