अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) ले आगामी ६ महिनाभित्र विषयगत विज्ञहरूको भेला गरी समितिहरू निर्माण गर्ने भएको छ ।
शुक्रवार विज्ञप्ति जारी गर्दै थाइल्यान्डको हुवाहिन सहरमा आयोजित पाँचौँ अन्तर्राष्ट्रिय विश्व सम्मेलन उत्साह पूर्वक सम्पन्न भएको जानकारी दिँदै संशोधित विधान अनुसार विषयगत विज्ञहरू सम्मिलित विभिन्न ९ वटा विषयगत समितिहरू रहने सङ्गठनात्मक संरचना बनाएको छ ।
परिषद्ले तामाङ सांस्कृतिक पुनः उत्थान समिति, भाषा लिपि तथा शिक्षा प्रवर्द्धन समिति, प्रवासी तामाङ समन्वय सुरक्षा तथा संरक्षण समिति, वातावरण तथा तामाङ स्वः विकास परिचालन समिति, तामाङ कला संस्कृति साहित्य इतिहास लेखन समिति, अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति, अन्तर्राष्ट्रिय तामाङ उच्चस्तरीय पञ्चाङ्ग समिति, तामाङ विकास कोष निर्माण समिति र तामाङ मानव अधिकार प्रवर्द्धन समिति गठन गरिनेछन् ।
परिषद्का महासचिव टासी लामाका अनुसार आगामी ६ महिनाभित्र विषय विज्ञहरूको भेला गरी समितिहरूको निर्माण गरिने बताए । थाइल्यान्ड‚ नेपाल‚ भारत, बर्मा, अमेरिका, जापान, हङकङ, दक्षिण कोरिया, पोर्चुगल, युएई, बहराइन, रोमानिया सदस्य संस्थाहरूबाट प्रतिनिधि सहभागी रहनेछ ।
जेठ २० र २१ गते सम्पन्न भएको सम्मेलन ३०० भन्दा बढी प्रतिनिधि,ताम्बा,बोन्बो‚ लामा, बुद्धिजीवी, पत्रकार, अतिथिहरूको सहभागितामा उत्सवमय तवरले सम्पन्न गरेको परिषद्ले जनाइएको छ ।

महासचिव कार्यकारी रहने
सम्मेलनले विधान संशोधन गर्दै महासचिव कार्यकारी पद रहने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमिति कार्यकाल तीन वर्ष रहनेछ । उनीहरुलाई निर्वाचन अधिकृत अधिवक्ता डा. कुन्साङ योन्जनले पद तथा गोपीनियताको शपथ ग्रहण गराइएको थियो ।
अध्यक्षमा थाइल्यान्डका चम्म्पाडोल्मा लामा, महासचिवमा नेपालका टासी लामा तामाङ, उपमहासचिवमा अमेरिकाबाट लक्यान लामा, सचिवमा भारतका प्रेमबहादुर जिम्बा, सम्बन्धन सदस्यहरूको तर्फबाट सचिवमा दक्षिण कोरियाबाट शुभराज भोम्जन, महिला सचिवमा रोमानियाबाट बुदुमाया योञ्जन, कोषाध्यक्षमा जापानबाट हवलचन्द्र लामालाई जिम्मेवारी दिएका छन् ।
सम्मेलनले विश्व कार्य योजना,परिषद्को प्राथमिकताहरू, समसामयिक प्रस्तावहरू र संशोधित विधान सर्वसम्मतले पारित गरेको थियो ।