बौद्धनाथ क्षेत्र विकास समितिद्वारा भजन सामग्री प्रदान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
84 Shares
काठमाडौं

बौद्धनाथ क्षेत्र विकास समितिले कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई भजन सामग्री प्रदान गरिएको छ ।

आइतबार काठमाडौँ महानगरपालिका वडा नं ६ महांकाल पानी ट्याङ्कीमा रहेका भजन समितिलाई एक लाख चालीस हजार बराबरको स्पिकर, साउन्ड सिस्टम र माइक हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष राजकुमार लामाले सामग्री प्रदान गर्दै कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई प्रदान गरिएको सामग्रीको उचित प्रयोग र संरक्षण हुनेमा विश्वास गर्दै आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने बताए ।

उनले महांकालको इतिहासलाई जोगाउन महांकाल भैरव महांकाल भैरवको प्रतिमा स्थापना गर्ने बताए ।

‘बौद्धनाथ क्षेत्रभित्र रहेका सम्पूर्ण प्राचीन स्मारकहरू संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्ने र त्यसको अभिलेख राख्ने काम गर्दै आएको छ‚’ अध्यक्ष लामाले भने‚ ‘कुमारी माताको मन्दिरमा कुमारीको मूर्त स्थापनाको लागि समेत क्षेत्र विकास समितिले सहयोग गर्नेछु ।

कुमारी मन्दिरको मूर्ति धेरै वर्षअघि नै चोरी भएको हुँदा कुमारीको मूर्ति कस्तो थियो । अग्रजहरूसँग सल्लाह गरी उस्तै किसिमको मूर्ति स्थापना गर्नको लागि पनि पहल गर्ने अध्यक्ष लामाले बताए ।

बौद्धनाथ महाचैत्यको संरक्षण संवर्द्धन प्रवर्द्धन गर्नुको साथै विकास निर्माण, ऐतिहासिक पुरातात्त्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको उनले जानकारी गराए । विकास निर्माणसँगै युवा तथा महिलाहरूको सीप विकासका साथै शिक्षा‚ स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरू र जनचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ‚ उनले भने ।

बौद्धनाथ क्षेत्र विकास समितिमा विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सदस्य भए पनि कुनै राजनीतिक पूर्वाग्रह नराखी आफ्नो जिम्मेवारी निभाउँदै विकासका काममा अग्रसर रहेको कार्यकारी निर्देशक शान्ति लामाले बताइन् । त्यस्तै काठमाडौँ महानगरपालिका वडा नं ६ भित्र रहेका आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ दीर्घ रोगी तथा अशक्त बिरामीहरूको तथ्याकं सङ्कलनको लागि स्वास्थ्यकर्मीबिज्ञ सहित विद्यार्थीको समूहले सर्वेक्षण कार्य अघि बढाएको कार्यकारी निर्देशक लामाले जानकारी दिइन् ।

समितिले महिला सशक्तीकरणको लागि विभिन्न तालिम लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिँदै तालिम तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन पनि अनुरोध गरेका थिए ।

यसै गरी कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिका अध्यक्ष बिशालकुमार न्यौपानेले सहयोगको लागि बौद्ध नाथ क्षेत्र विकास समितिलाई धन्यवाद दिँदै यो सामग्री सही समय र सही काममा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा समितिका सदस्यहरू पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, इन्जिनियर रमेश धिमाल, तारा सदन स्कुलका प्रिन्सिपल रमेश गुरुङ, गंगेश्वर शिव पाञ्चायन मन्दिरका अध्यक्ष डा। रमेश न्यौपाने , कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

यसै गरी समितिका सहसचिव सुरजकुमार ढुङ्गानाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका