महिलाहरूको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित क्रिष्टल माला, चुरा, पोते बनाउने एक हप्ते तालिम सम्पन्न भएको छ ।
दीपश्री क्रियटिभ मिडियाको आयोजना र बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा जेठ २८ गतेदेखि असार ३ गतेसम्म तालिम गरिएको थियो ।
तालिमको समापन सभालाई सम्बोधन गर्दै समितिका अध्यक्ष राजकुमार लामाले तालिमले महिलाहरूमा आत्मनिर्भर बढाउनुका साथै घरैमा बसेर पनि आम्दानी गर्न सकिने अवस्था सृजना भएको विश्वास व्यक्त गरेका थिए । उनले महिलाहरू आर्थिक रूपमा कमजोर हुँदा पछाडि परेको बताउँदै सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । ‘महिला सशक्तीकरणका लागि समितिले यस्ता खालका धेरै कार्यक्रमहरू गर्दै आएको छ‚’ उनले भने‚ ‘दुई पटक कौशी खेती तालिम, कफी बनाउने तालिम लगायतका विभिन्न सीपमूलक तालिम दिएको स्मरण गरे ।’
उनले तालिममा सहभागीहरूलाई सिकेका सीपलाई व्यवहारमा लागु गर्दै आगामी दिनमा पनि महिला लक्षित सीपमूलक तालिम लगायतका कार्यक्रम गर्दै जाने उनले बताए ।
तालिम सम्पन्न पश्चात् प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यसै गरी कार्यक्रममा समितिको कार्यकारी निर्देशक शान्ति माया तामाङले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आत्मनिर्भर बन्न उत्प्रेरित गरेकी थिइन । आर्थिक रूपमा सशक्त बन्न सीप सिक्नु र त्यसलाई व्यवहारमा प्रयोग गर्न उनले जोड दिइन् ।
कार्यक्रम संयोजक समेत रहेकी दीपश्री क्रियटिभ मिडियाकी संजिता धितालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा रहेका थिए ।
तालिममा काठमाडौँ महानगरपालिका वडा नं ६ क्षेत्रमा बसोबास गर्ने २४ जना महिलाहरूको सहभागिता रहेको थियो ।
तालिममा क्रिष्टलबाट टप, औँठी, चुरा, साडीपिन, चिम्टी, हेडवेण्ड, हार, पोते, हेयर पिन लगायतका सजावटका सामग्री बनाउन सिकेको सहभागी प्रशिक्षार्थीहरुले बताएका थिए । उनीहरूले समय छोटो भएको भन्दै आगामी दिनमा अझ लामो समयको एडभान्स तालिमको आयोजना गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा समितिका पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ , प्रशिक्षक प्रमीला शाह सहित प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।
दीपश्री क्रियटिभ मिडियाका अध्यक्ष दीपक लामिछानेले सञ्चालन गरेको थियो ।