फरक शैलीमा निर्मित नीरफूल

डा. कृष्ण भट्टचन समाजशास्त्री
644 Shares
काठमाडाैँ

फूलमान बलजीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नीरफूल’ हेर्ने मौका पाएँ । हेर्न अनुकुल हुने जो कोहीले पनि र अझ विशेष गरी आदिवासीहरुले हेर्दा बेस हुनेछ ।

बलजीले उपनिवेशवादी चलचित्रको कथा भन्ने फम्र्याट भित्र रहेर बजारलाई मात्र केन्द्र बिन्दुमा राख्ने तथा आदिवासीको जीवन पद्धतिलाई विकृत रुपमा देखाउने अधिकांश नेपाली चलचित्रहरु भन्दा नितान्त फरक शैलीमा नीरफूललाई प्रस्तुत गर्नुभएको छ ।

नीरफूल एउटा तामाङ आदिवासीको प्रथाजनित स्वःशासन पद्धतिको अभ्यासलाई निरन्तरता दिइरहेको पाङसाङ (खस नेपाली भाषामा कथित रुबीभ्याली) र अर्को तामाङले याम्बु भन्ने उपनिवेशवादी, बाहुनवादी तथा नश्लवादी शासन व्यवस्था भएको काठमाडौँको कथालाई तेल र पानी जस्तै सर्लक्क छुट्याउन सफल छ ।

सतहमा हेर्दा नीरफूल भुइँचालोले छिन्नभिन्न पारेको परिवारको कथामा आधारित चलचित्र हो । तर, अन्तर्यमा चलचित्रमा आदिवासी तामाङ एकातिर तथा उपनिवेशवादी, बाहुनवादी तथा नश्लवादी शासन अर्कोतिर आमनेसामने राखेर दुबै बिच भूइँचालो भन्दा पनि अत्यन्त डरलाग्दो, कहालीलाग्दो गहिरो नश्लीय, बाहुनवादी, उपनिवेशवादी असरको कथाले तामाङप्रति दर्शकको डबल करुणा भाव झल्कन्छ ।

साथै, एउटा प्रकृतिसँग अत्यन्त आत्मिय तथा विशेष सम्बन्ध रहेको आदिवासीको प्रथाजनित जीवन पद्धतिको कथा र अर्को उपनिवेशवादीको अत्यन्त अमानवीय, क्रुर तथा प्रष्ट रुपमा भ्रष्ट जीवन पद्धतिको कथा प्रष्ट अनुभूत हुन्छ । एउटा देशकोले अर्को देशको मानिसको जीवनको भाषा बुझ्दैन । पाङसाङ राज्यमा जीवन सुन्दर फूल हो भने याम्बु परदेशको जिवन पद्धति आदिवासीका लागि अत्यन्त क्रुर फोहोरको डुङ्गुर परदेश । कसैले यी दुई बिच रोज्नु परे कुन रोज्छ होला ?

नीरफूल चलचित्रको शुरु तामाङ गाउँखाने कथाको माध्यमबाट पाङसाङ राज्यको केही साँध सिमाना बताएर हुन्छ र अन्त्यमा तामाङको आस्थाको देवतालाई नचढ्ने नीरफूल नदीमा बगाएर सकिन्छ । उपनिवेशवादीको नीरफूल उनीहरुको अर्थमा ‘सहानुभूति’ वा ‘म सम्झी रहन्छु’ वा ‘विदाइ’को बिम्बको रुपमा प्रयोग भए पनि आदिवासी तामाङको लागि पहिला नचल्ने परदेशी फूल भएकोमा अबको वयस्क पुस्ताले चलाउने भने पनि नयाँ युवा पुस्ता चल्दैन भन्नेमा सजग देखाइएको छ ।

आज तामाङ राष्ट्रमा तामाङ जीवनको अभिन्न अङ्ग भएका म्हेन्दो (फूल)हरु खास गरी टोटला, ताफोले र लाम्हेन्दो, गेसेरेम्हेन्दो, कोम्हेन्दो, कोकोम्हेन्दो, दिङदिङम्हेन्दो, क्लेम्हेन्दो, गुरगुरम्हेन्दो, यलिम्हेन्दो, च्युलिम्हेन्दो, ताताम्हेन्दो, धयाँरोम्हेन्दो, सल्दाम्हेन्दो, जप्काम्हेन्दो, जिप्काम्हेन्दोलगायत म्हेन्दोको सट्टा परदेशी नीरफूललाई केन्द्र बिन्दुमा राखेर नश्लवादीको उपनिवेश हुँदै गएको दुखद् अवस्था सिर्जना भएको इङ्गित गरिएको छ । यसले आदिवासी विद्रोहको विकल्प नभएको प्रष्ट बुझिन्छ ।

नीरफूल आदिवासी तामाङलाई केन्द्र बिन्दुमा राखेर तामाङ मातृभाषाको प्रयोग, भेँडीगोठको जीवन, बोम्बो र लामा बिचको समन्वय, प्रकृतिसँग नजिकको विशेष सम्बन्धलाई देखाएर उपनिवेशवादी, बाहुनवादी तथा नश्लवादी तथा केही वंश गद्दारले तामाङहरुलाई कसरी चरम भेदभाव तथा हिंसा गर्दछ भन्ने विषयलाई उजागर गर्ने चलचित्र भए पनि यो आदिवासी चलचित्र भने होइन । त्यसैले आदिवासी दृष्टिकोणबाट गर्नु पर्ने र गर्न सकिने धेरै सवाल छन् । यति हुँदा हुँदै पनि यो चलचित्रलाई यस तर्फको प्रारम्भिक कदमको रुपमा लिन सकिन्छ । बोम्बो र लामाको सामञ्जस्यता देखाए पनि चोहो र ताम्बा जस्ता ह्युलठिमका अन्य प्रथाजनित स्वशासित संस्था तथा ह्रुइको सबल उपस्थिति देखाउन सकेको भए अझ बेस हुने थियो ।

फूलमान बलजीबाट आउने दिनमा आदिवासीको कथा आदिवासी चलचित्रको फम्र्याटमा रहेर आउने अपेक्षा गर्नु अन्यथा नहोला ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका