भनिन्छ नि‚ मेहनत गर्ने कहिल्यै असफल हुँदैनन्। जीवन सङ्घर्ष हो‚ जहाँ समस्या, चुनौती र उतारचढाव आउँछ र त्यसलाई सामना गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा सफल भइन्छ । त्यसको एक उदाहरण बनेकी छन्‚ फुर्पा लोप्चन। रसुवा आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङकी लोप्चन सदरमुकाम धुन्चेमा बसोबाससँगै एक व्यावसायिक बनेकी छन् । लोप्चनले तामाङ संस्कृति झल्काउने पटुका, झोला, किट्टी लगायत पङगव, टोपी, मोजा, पेटी, ऊनीको धागोले बुनेर बनेका सामग्रीहरू बिक्री गरिरहेकी छन् ।
६ वर्ष अगाडि कमल ह्याण्डि क्राफ्ट उद्योग घरेलुमा दर्ता गरी व्यवसाय सुरु गरेकी हुन् । उनले धुन्चेमा व्यवसाय सुरु गरेदेखि नै दैनिक १० हजार व्यापार हुने गरेको उनी बताउँछिन् । महिनाको ८० देखि ९० हजारसम्म पुग्दथ्यो‚ लोप्चन भन्छिन्‚ ‘राम्रो थियो तब कोरोना सङ्क्रमण बढ्यो त्यस पछिका दिनहरूमा महिनाको १० हजार पनि हुन मुस्किल पर्यो ।’
स्थायी घर गोल्जुङ भए पनि कृषि विकास कार्यालयमा श्रीमान् जागिरे भएपछि सदरमुकाम झरेको लोप्चनले बताइन् । पहिले उद्योगको दर्ता थिएन र पनि काम गरिरहेको थिए । ‘रोगका कारण श्रीमानको मृत्यु भयो । त्यसपछि घर धान्नका लागि पनि घरेलु कार्यालयमा गरेर दर्ता गरी विगत ६ वर्षदेखि व्यवसाय गरेको थिए । तर कोरोना भन्दा अगाडि त राम्रो थियो त्यसपछि व्यवसाय ठप्प जस्तै छ’‚ उनले भनिन्।
दुई छोरा र तीन छोरीको आमा लोप्चन । उनलाई ठुलो छोराले व्यवसायमा सघाउँछन् । एक छोरी विदेशमा छ । एक छोरा हाइड्रोपावरतिर सानोतिनो काममा अल्झिएको छ । एक छोरी पढ्दै काम गर्छन् । कान्छी छोरी व्याचलर पढ्दै छिन‚ उनले बेलिबिस्तार बताइन्। उमेरले ५२ लागिसकेको छ । एकल महिला भएपछि समाजले हेर्ने नजर नै अर्को हुन्छ । तैपनि छोराछोरीको मुख हेरेर काम गरिरहेको छु‚ लोप्चनले सुनाइन् ।
तामाङ समुदायलाई मिल्ने सामान हातले बुन्छु । अहिले धेरथोर वसिवियालो भएको उनी बताउँछिन् ।