राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविताको घोषणा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
105 Shares
काठमाडौं

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०८० भव्य रूपमा सम्पन्न भएको छ ।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व रहेक‍ो बताए ।

यसै गरी प्रतिष्ठानका कुलपति भूपाल राईले प्रधानमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक ‘प्रचण्ड’लाई प्रमुख संरक्षकको प्रतीक चिह्न तथा पुस्तक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकार लगायतका विविध खेलकुद विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यस अवसरमा कलाकारहरू विकासनाथ योगी, सुरेश बज्राचार्य र रमेश अधिकारीले वाद्यवादन प्रस्तुत गरिएको थियो ।

प्रतिष्ठानका संरक्षक संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले नेपाली भाषा, साहित्य, संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग थप बसाल्न सक्ने सम्भावना छ र यसलाई हामीले विश्वभरि पुर्‍याउनुपर्ने बताए । उनले प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ प्रधान सम्पादक रहेको बाल पत्रिका लालपातेको विमोचन गरिएको थिए ।

प्रतिष्ठानका कुलपति तथा महोत्सवका सभाध्यक्ष राईले कुनै कुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर विकास भएको बताए । ‘एकलभाषी चरित्र आजबाट भत्काएर पून:संरचित गरिएको छ, यसले सकारात्मक र नवीन चेतनाको सुरुवात भएको छ’‚ उनले भने ।

यस क्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्रअनुसार यस वर्ष प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरेको छ । यसबाट आफूलाई गौरवबोध भएको कुरा उल्लेख गर्दै शुभकामना पत्र पठाएर ऐक्यबद्धता जनाए ।

यसै गरी प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले राष्ट्रिय कविता महोत्सवको माहौल उल्लासमय भएको बताए । मनीषीहरूको सार्थक उपस्थितिले उत्साह थपेको छ । साथै युग चेतनामा केन्द्रित कविता देखा पर्नु सुखद उपलब्धि भएको औँल्याए ।

यस प्रतिष्ठानको उद्घाटन सत्र सञ्चालनका क्रममा सदस्यसचिव डा। धनप्रसाद सुवेदीले समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सव प्रति अनेकौँ प्रश्न र जिज्ञासाबिच आकर्षक र उत्साहप्रद ढङ्गले उपस्थित भएका छौँ । यसले नयाँ चेतना प्रवाह गरेको छ ।

यसै गरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , पद्यरकाव्य विभाग प्रमुख तथा राष्ट्रिय कविता महोत्सवका संयोजक बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सवलाई समावेशी सिद्धान्तअनुरूप अपनाइएको हो र यसले झन् विधागत रूपमा कवितालाई समृद्ध तुल्याउने बताए ।

यसै गरी प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’को अध्यक्षतामा कविता वाचन सत्र सम्पन्न भयो ।

महोत्सवमा इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्‍याएर कविता पठाएको पाइएको छ । यसले गर्दा ६४४ वटा कविता मात्र आधिकारिक रूपमा दर्ता भएका हुन्।

साथै कविहरू प्रतिसरा सायमी,रमण घिमिरे ,हाङयुग अज्ञात,ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको एक छनोट समितिले मूल्याङ्कन गरी २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छानेको हो ।

यी वाचिक कविताहरू मध्येबाट नेपाली भाषामा उमेश पुन-काठमाडौँ /छोरी, सिमाना र देश, कृपाकरुणा पोखरेल-सुनसरी/रक्तिम कथा, जीवन आरोही -उदयपुर /प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा-सुनसरी/कविले के सम्झियो ?, नवीन अभिलाषी-बाँके/भेरी अभिशप्त बगिरहेछ, प्रकाश दिप्साली राई -सुनसरी /नौरानको नाम, राधिका कल्पित-काठमाडौँ /परिचयपत्र तथा नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी -दार्चुला /मुई गोठ नाइँ भान्या हूँ र पूर्णानन्द ओझा -डोटी/सन्नीको मान्सा तथा खाम मगरभाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप)/हुन्के वे बड्डाका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ ।

यसै गरी अतिथि कविहरू नर्मदेश्वर प्रधान, रमण घिमिरे, गोपाल अश्क, रामबहादुर थापा मगर, सन्जाकुमारी दनुवार, धीरेन्द्र प्रेमर्षी, योगेन्द्र प्रधान , दिग्विजय मिश्र, केवल विनाबी, गीता कार्की, प्रगति राई, मुक्तान थेवा, प्रकाश गुरागाई, भूमिका चौधरी, हाङयुग अज्ञात, टङ्कमणि अधिकारी‚ सोझो गाउँले, स्वप्निल स्मृति, डा. सोमबहादुर धिमाल, शोभा सुनुवार, रचना तामाङ ‘यात्री’ , छम गुरुङ र वसन्त बर्लाकोटीले कविता वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका