रसुवाको आमाछोदिङमो गाउँपालिकाले आगामी २०८०/८१ का लागि ३० करोड ४५ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रवार गाउँपालिकाको १४ औँ गाउँ सभामा पालिकाका उपाध्यक्ष चण्डिका तामाङले सो बजेट प्रस्तुत गरेकी हुन् ।
बालश्रम, बालविवाह, बहुविवाह, दाइजो र दहेज, बोक्सी, छाउपडी जस्ता प्रथा रोकथामका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उपाध्यक्ष तामाङ बताइन् । उनले महिलाहरूको सीप तथा क्षमता विकास गर्न, घरेलु हिंसा, बालबालिकाहरूलाई हुने बाल श्रम शोषण तथा लैङ्गिक हिंसा अन्त्यका लागि चेतनामूलक कार्यक्रम गर्न महिला बालबालिका शाखाको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमध्ये सामाजिक, आर्थिक, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र बजेट विनियोजन गरिएको उपाध्यक्ष तामाङले जानकारी दिइन।
‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार समृद्ध आमाछोदिङमो निर्माणको मूल आधार’ भन्ने नारासाथ बजेट विनियोजन गरेको बताइएको छ।
गाउँ सभाले वन जङ्गलमा आगलागी हुन नदिन सचेतना कार्यक्रम सञ्चालन गरिनुको साथै वन जङ्गलमा आगलागी गराउन संलग्न हुनेहरूको पहिचानको लागि सुराकी दिने व्यक्तिहरूलाई उचित पुरस्कारको व्यवस्था समेत गरेको र अन्य विविध शीर्षकमा नीति कार्यक्रम र बजेट ल्याएको पालिका अध्यक्ष वुचुङ तामाङले बताए ।