कोन्ज्योसोमको बजेट आधा अर्ब‚ लोकल रक्सीलाई ब्राण्डिङ गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
2.3k Shares
ललितपुर

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ५१ करोड ३७ लाख ३१ हजार बराबरको बजेटको आयव्यय प्रस्तुत गरेको छ । आइतबार १२ औँ गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।

नीति कार्यक्रममा स्थानीय लोकल रक्सी ब्राण्डिङ गरिने अध्यक्ष कृष्णमान लामाले जानकारी दिए ।

गाउँपालिकाले शिक्षामा १ करोड १० लाख रुपैयाँ, कृषिको लागि १ करोड १० लाख रुपैयाँ, स्वास्थ्यमा ३० लाख रुपैयाँ, सामाजिक सुरक्षामा २० लाख रुपैयाँ, पशुमा ३१ लाख रुपैयाँ रकम विनियोजन उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी दिए ।

यसै गरी क्रमगत योजना अन्तर्गत शंखु अस्पताललाई यस वर्ष ७ करोड रकम विनियोजन गरिएको छ ।

यस्तै सूचना प्रकाशन शाखा स्थापना गर्ने‚ गाउँपालिकाको भाषा संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने काम वाङमय प्रतिष्ठान मार्फत गर्ने‚ कृषिजन्य उत्पादन, रैथाने बालीको बजारीकरण गर्दै दूध पकेट क्षेत्र, कृषि पकेट क्षेत्रको विकास गर्ने‚ सेलो र तीज गीतहरूको प्रतियोगिता गर्ने‚ सहिदको नामबाट सम्मान गरिने परिपाटीको थालनी गरिने लगायतका नीति कार्यक्रममा समावेश गरिएको अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले यसपटक अध्यक्ष उपाध्यक्ष कार्यक्रम बन्द गरेको छ। साथै आवश्यकताको आधारमा सबै विषयगत समितिलाई पनि बजेट उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

गाउँ सभामा उत्कृष्ट कर्माचारीहरुलाई सम्मान गरिएको थियो ।

महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरू

१ ) पालिकाले अध्यक्ष ,उपाध्यक्ष कार्यक्रम शीर्षकमा रकम विनियोजन नगरी वडालाई २ लाख भन्दा कम रकमको योजना नबनाउने गरी कार्यक्रम गर्ने अधिकार दिइएको साथै शिक्षा ,स्वास्थ्य ,सामाजिक ,आर्थिक विकासका कार्यक्रममा विशेष जोड दिइने

२)काठमाडौँ उपत्यका भित्रका नगरपालिका ,महानगरपालिका सँग भगिनी सम्बन्ध स्थापना गरी सामाजिक सेवाका कामहरू गर्ने

३) ५ वर्ष भित्र प्रत्येक वडामा नमुना विद्यालय स्थापना गर्ने साथै शिक्षकहरूको तलब भत्ता प्रत्येक महिना निकासा गर्ने

४) ५ वर्ष भित्र लेले चन्दनपुर ,मध्यमार्गी सडक ,बिर्खे धारा दल्चोकी शंखु सडक पक्की बनाई सक्ने साथै नल्लु कोरिडोर ,सिँगाने भन्ज्याङ तिनपाने सडक,कतवन भन्ज्याङ भट्टेडाँडा सडक ,ठोट्ने खोला कोरिडोर लगायतका सडक स्तरोन्नति गर्ने लगायत अन्य सडकहरूको पनि स्तरोन्नति लगायतका अन्य विकास कार्य गर्ने

५)बन वातावरणको क्षेत्र निर्धारण गरेर पर्यटन प्रवर्धन पूर्वाधारका क्षेत्रमा काम गर्ने

६ ) गाउँपालिकाको भाषा संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने काम वाङ्मय प्रतिष्ठान मार्फत गर्ने

७) गाउँ खेलकुद विकास समिति गठन गरी खेलकुद क्षेत्रको विकास प्रवर्धन गर्ने

८) सम्भाव्यता अध्ययन गरी गाउँपालिका क्षेत्रभित्र १ मेगावाट को सोलार प्लान्ट निर्माण गरी बिद्युत् उत्पादन गर्ने

९) गाउँपालिकाले तालिम केन्द्रको स्थापना गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा समेत खपत हुने दक्ष जनशक्ति उत्पादनमा जोड दिने

१०) प्राविधिक तथा अन्य विषय अध्ययनको लागि कोषमार्फत छात्रवृत्ति प्रदान गर्ने

११ ) ठोट्नेखोला र टुङ्गुन खोलामा ड्याम निर्माण गरी पर्यापर्यटनमा जोड दिने

१२ ) खानेपानी ,सिँचाइ ,भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै माइलस्टोन तोकेर विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्ने

१३ ) कृषिजन्य उत्पादन,रैथाने बालीको बजारीकरण गर्दै दूध पकेट क्षेत्र ,कृषि पकेट क्षेत्रको विकास गर्ने

तपाईको प्रतिक्रिया

पत्रपत्रिका