भक्तपुरमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ ।
भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकारसहित भक्तपुरको सूर्य विनायकमा मेला हुने भएको हो ।
नगरपालिकाले विभिन्न स्वरोजगारका कार्यक्रम साथै सीप मूलक तालिम दिँदै आएको छ । नगरपालिकाको उपलब्धि साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको सूर्य विनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार मेलामा ९५ भन्दा बढी स्टलहरू रहने छन् ।
नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्दै उक्त मेला हुन लागेको भक्तपुर घरेलु तथा साना उद्योगका अध्यक्ष प्रेम खर्बुजाले जानकारी दिए ।
सूर्य विनायक नगरपालिकाको सहयोगमा हुन लागेको हो । मेलामा भक्तपुरमा उत्पादन हुने तथा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शनी हुनेछ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगटेको साना तथा घरेलु उत्पादनलाई नेपाली माझ चिनाउन मेला आयोजना गर्न लागेको अध्यक्ष खर्बुजाले जानकारी दिए ।
मेलामा घरेलु उत्पादनका साथै स्थानीय खानाहरूको स्टल नेवारी खाना, योमरी, चटामरी, समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने खर्बुजाले बताए ।
भक्तपुर जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्य विनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्नको लागि मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए । उनका अनुसार भक्तपुरका घरेलु, रैथाने उत्पादनसँग पर्यटन जोड्न नसके पर्यटन उद्योग र घरेलु उद्योग दुवै धारासायी हुने उनको धारण रहेको छ ।
सूर्य विनायक नगरपालिका वडा नम्बर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए ।
भक्तपुरको स्थानीय उत्पादन प्रवर्धन तथा पर्यटन प्रवर्धनका लागि सांस्कृतिक प्रस्तुति गर्न लागेको उनले जानकारी दिए ।
सूर्य विनायक नगरपालिकाको आयोजनमा हुने कार्यक्रममा रैथानेतर्फ (गो लोकल) प्रवर्धनका लागि आयोजना गर्न लागेको सूर्य विनायक नगरपालिकाले जानकारी दिएको छ ।
मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, नेवारी खाना, विभिन्न खानाहरू, सहकारी, बैङ्किङ, शिक्षा, लगायतका स्टलहरू समावेश हुनेछन् ।