सत्ता र कुर्सीमा बस्नेहरूले नै संसार जटिल बनाए

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
434 Shares
काठमाडौं

म जुन सपना बोकेर जनयुद्धमा लागेको थिएँ‚ त्यो पूरा भएन । सपना बिथोलिएपछि मैले आमालाई सम्झेँ । बाबु, दिदीबहिनी, गाउँका बूढाबूढीहरू र घरलाई सम्झेँ र त्यही वरिपरिको परिवेशमा कविता लेख्न थालेँ । म धेरै पर कहीँ पनि गईन । मलाई मेरो कविता, कविताका पात्र र विषय घर वरिपरि नै छ जस्तो लाग्छ । दलान, पीँढी, कुलेसोतिरै छ । त्यही वरिपरि कविता लेख्न थालेँ । ‘रामबहादुर मार्ग’ कविता मैले यसरी नै लेखेको थिएँ । घरमा जाँदा बुवाले जहिले पनि निजगढदेखि राप्तीपुलसम्म बाटो मैले बनाएको हो भनेर भन्नुहुन्थ्यो । कुल्ली, भान्से भएर काम गर्नुभएको र काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले टाउकोमा लागेर बेहोस भएको कुरा पनि सुनाउनुहुन्थ्यो । यो सुनाउँदा-सुनाउँदै मलाई के लाग्यो भने यो देशमा कति राजमार्गहरू बने । बिपी राजमार्ग, महेन्द्र राजमार्ग, पुष्पलाल जस्ता मार्गहरु बने । जो माथि छन्, उनीहरूको नाममा मात्र प्राय राजमार्गहरू छन् । जसले राजमार्ग बनाए तिनीहरू कहीँ पनि छैनन् । मैले मेरो बाउहरू र मजदुरहरूप्रति समर्पित गर्दै यो कविता लेखेँ ।

 हामी युद्धमा हिँड्यौं । त्यही परिवेशमा हामी प्रेम खोज्दै हिँडेका थियौँ । गाउँको गरिबी, बहिष्करण जस्ता विविध कारण खोज्न र त्यहाँको मुक्तिका लागि हामी युद्धमा हिँड्यौँ । तर युद्धमा आइपुग्दा हामीले खोजेको जस्तो केही पनि पाएनौँ । युद्धमा हामीले जुन किसिमको लगानी गर्‍यौं त्यो अनुसारको केही भएन ।

हाम्रो घर डाँडामा थियो । तल गहिरीमा चाहीँ समाजमा उच्च वर्गका मानिसहरूको खेत, जमिनहरू थिए । आमाले १५/२० वटा आँपहरु लिएर आउनुहुन्थ्यो । त्यो आँप हामीलाई खुवाउनुहुन्थ्यो र त्यो आँपको बदला उहाँले बिहानदेखि बेलुकासम्म मल बोक्ने, घरका काम गर्ने विभिन्न कृषि कर्महरू जस्तै धान रोप्ने, गोड्ने, काट्ने गर्नुहुन्थ्यो । हाम्रो खेत किन भएन ? हामी जङ्गलको फेदीमै किन बस्नुपरेको होला भन्ने मनमा सधैँ खुल्दुली लागिरहन्थ्यो । त्यही बिचमा देशमा माओवादी युद्ध सुरु भयो । अरूभन्दा माओवादीको व्यवहार र विचार फरक लाग्यो । हामी युद्धमा हिँड्यौं । त्यही परिवेशमा हामी प्रेम खोज्दै हिँडेका थियौँ । गाउँको गरिबी, बहिष्करण जस्ता विविध कारण खोज्न र त्यहाँको मुक्तिका लागि हामी युद्धमा हिँड्यौँ । तर युद्धमा आइपुग्दा हामीले खोजेको जस्तो केही पनि पाएनौँ । युद्धमा हामीले जुन किसिमको लगानी गर्‍यौं त्यो अनुसारको केही भएन । त्यसपछाडि हामी भ्यालीमा आयौँ । भ्यालीमा हामीले बन्दी जस्तो जीवन बितायौँ । चार/पाँच वर्षसम्म ललितपुरको एउटा थोत्रो गार्मेन्टमा बन्दी जस्तो भएर बस्यौँ । पार्टीले हामीले पैसा दिन्थ्यो । त्यही पैसा लगेर सुरु सुरुमा त केही दिन मासु भात खायौँ । जब माओवादीको उमेर र स्तर खस्किदै गयो तब हामी भोकै पनि बस्नुपर्ने अवस्था पनि आयो । अन्त्य त हामीले त्यो टिम छोड्यौँ । ७० को आसपासमा म त्यही टिम वरिपरि रुमलिरहेको थिएँ । जब जब सङ्कट आउँदै गर्‍यो । दुःख, चुनौतीहरू आए । संविधानहरु बने, भत्किए । हामीले खोजेको सपनाहरू पूरा भएनन् । त्यो परिवेशले मलाई न घरमा जानु, न परदेश जानु न के गर्नु भन्ने बनायो । परदेश जान मन लाग्दैनथ्यो, घरमा कसरी जानु, सहरमा बसुँ भने टिक्ने सक्ने अवस्था थिएन । यसरी परिवन्दमा हामी फसेका थियौँ । त्यही परिवन्दको वरिपरि हिँड्दाहिँड्दै कविता लेख्न थालेको थिएँ । यसैमा हाम्रा कुराहरू सरल रूपमा आए । मलाई के लाग्छ भने संसार नै सरल छ । हाम्रो बाउबाजेको जीवन हेर्ने हो भने उहाँहरुले आफ्नो ज्यानले सकेको गरेर जे छ त्यही खानुहुन्थ्यो । त्यसैमा उहाँहरू जानुभयो । यो संसार त सत्तामा र कुर्सीमा बस्नेहरूले बनाइदियो । त्यही जटिलताभित्र हामीलाई सधैँ अलमलाएर राखे । त्यस कारण मेरो कविता जानीजानी आफैँ सरल बनाएको होइन । लेख्दा-लेख्दै भयो । कतिपय ठाउँमा जटिल शब्द आएनन् पनि होला । मलाई जटिल पनि मन पर्दैन । किनकी संसार जटिल बनाउनेहरूले नै शासन गरिरहेका छन् । खासमा जटिल संसार बनाएर सिमाना बनाउने, देश बनाउने, आकाश, धर्ती टुक्राउने पुलिस, प्रशासन, सेना दुनियाँ बनाएर समाजलाई जटिल बनाउने उनीहरू नै हुन् । विश्व विद्यालयमा ज्ञान हुन्छ । ज्ञान पण्डितका छोराहरुसँगै हुन्छ भनेर संसार जटिल बनायो । यही परिवेशलाई बदल्न पनि हामीले लेख्नुपर्छ भन्ने मलाई महसुस भएको हो । शास्त्रीय छन्दमा लेख्ने हाम्रो आदरणीय सरहरू हुनुहुन्छ । उहाँहरुले कविता लेख्ने तरिका यस्तो हो भनेर देखाउनुभयो । जुनबेलासम्म उहाँहरुले कविता लेख्ने तरिका यो हो भनेर घोकाउनुभयो त्यतिबेलासम्म कविता लेख्न सकिएन । उहाँहरुको लगानी र मेहनत हामीमा पनि अवश्य छ । अहिले मैले जे लेखेँ सबै मै मात्र भन्ने होइन उहाँहरुको पनि लगानी छ । तर शास्त्रको ठुलो चंकुलमा हामी फसिरहेका रहेछौँ । जुन चङ्गुलमा रहेसम्म हामीले कविता लेख्न सकेनौँ । त्यहाँका विधि विधान र नीति नियमहरूले हामीलाई धेरै अलमलायो । संसार सरल छ । सरल तरिकाले नै आफ्ना कुराहरू कवितामा राखौँ भन्ने हिसाबले कोसिस गरिएको हो ।

नयाँ पुस्तामा कविता जटिल हुन्छ भन्ने मानकहरूबारे सोच्नुपर्ने बेला भएको छ । कवितामा हाम्रो पीडाहरू अभिव्यक्त भएको छ कि छैन, भित्री दिलसम्म शब्दहरूले छोएको छ कि छैन भन्ने कुरा मुख्य हो जस्तो लाग्छ । हिमाल, पहाड, तराई, झरना लालिगुराँस, युवतीका अङ्गहरूको वर्णन गरेर लेखिने साहित्यहरू आजको सन्दर्भमा पुराना भए कि ? ती सन्दर्भहरू अब हामीले क्रमशः खारेज गर्नुपर्ने हो भन्ने लाग्छ । किनकी हामी लामो समयदेखि अर्कै खालको भूगोलमा बाँचिरहेका छौँ । शताब्दीदेखि आजसम्म हामीलाई गीतहरूमार्फत तिमी झुक्दै नझुक्ने नेपालीको छोरो भनेर हजार पल्ट भनिरहेको छ । प्रकृति र अन्य अतिशय वर्णनभन्दा पनि हाम्रो शिर र हाम्रो पीडाहरू अब हाम्रो लेखनमा आउनुपर्छ । हामीले हिमालको वर्णनभन्दा पनि हिमाल चढ्दै गरेका शेर्पाहरु, तेन्जिङ नोर्गे, भरिया शेर्पा, हिमाली भोटे, तामाङहरूको कथा ल्याउनुपर्छ । मानवीय संवेदनामा हामीले जोडिनुपर्ने हो कि जस्तो लाग्छ । अहिले गाउँ हराएको छ, मानवता हराएको छ । त्यसकारण प्रकृति, युवतीको कम वर्णन गर्दै अब अलिकति लेखनको ढाँचा नै परिवर्तन गर्नुपर्छ होला । आज हामी आर्यघाटमा भन्दा एयरपोर्टमा धेरै मान्छेहरू रुने देशमा छौँ । यो खालको परिस्थितिमा भएको देशमा कवि, लेखकहरूले आफ्नो लेखनमा सोच्नुपर्छ भन्ने मलाई महसुस भएको हो ।

हाम्रो देशमा गरिबीको भुमरीमा बाँच्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि नेपालमा तथ्याङ्कमा मात्र गरिबी घटेको हो । हाम्रो मनमा, छातीमा र भावनामा अझै पनि गरिबी घटेकै छैन । केही समययता रेमिट्यान्स हिरोहरूले पठाएको पैसाबाट हामी गरिबीबाट केही छेलिएको होला । समग्रमा हामी गरिबीमै छौँ । संसार नै पुलमुनि र माथिको देशमा विभाजित छ । संसारमा कोही मानिसहरू मङ्गल ग्रहतिर पनि जान खोज्दैछन् । हामी साँच्चै नै आज पुलमुनिको देशमा छौँ । काठमाडौँ सहरमा पनि कैयौँ मानिसहरू पुलमुनि नै बसेर जीविका चलाउँदैछन् । हामी घर, डेरा जहाँ बसिरहे पनि हाम्रो नियति पनि पुलमुनि नै हो । यिनै विषयहरू र आफ्नै जीवनका यात्राहरू जोडिएर मेरो कवितामा आएको छ ।

(हालै राजधानीमा जनकला समूहले कवि राजु स्याङ्तानको पहिलो कवितासंग्रह ‘ओ पेङदोर्जे’ माथि गरिएको छलफल कार्यक्रममा कवि स्याङ्तानले आफ्नो भोगाई, कविता सिर्जना, समकालीन साहित्य र देशको अवस्थामाथि व्यक्त गरेको धारणाको सम्पादित अंश । महोत्तरी खयरमाराका कवि स्याङ्तान पत्रकारितासँगै खोज अनुसन्धान र साहित्य सिर्जनामा सक्रिय छन् ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका