लामो समयदेखि शारीरिक रूपमा अस्वस्थ रहेकी स्रष्टा दुर्गादेवी नेपालको निधन भएको छ । मंगलबार साँझ अनामनगरस्थित नइगृहमा नेपालको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।
नेपालद्वारा लिखित कवितासंग्रह ‘उनैको माया’ र आत्मकथा’ बगेको खोला’ प्रकाशित छन् । उनको आत्मकथालाई गत कात्तिक महिनामा गोधुली साहित्य प्रतिष्ठानले ‘गोधुली विशेष पुरस्कार-२०७९’ समर्पण गरेको थियो । उनले आफ्नो सिर्जनाका माध्यमबाट मानव जीवन, आस्था, सङ्घर्ष र प्रेम भावलाई अभिव्यक्त गरेकी छन् । शारीरिक अस्वस्थताकै क्षणमा पनि नेपालले ‘सुकेको खोला’ कृति लेखनको थालनी गरेकी थिइन् । झन्डै दुई वर्षअघि उनले आँखाको दृष्टि समेत गुमाएपछि उनको कृति अधुरै रह्यो ।
नेपालको निधनप्रति स्रष्टाहरु उषा शेरचन, प्रमोद प्रधान, विपिनकुमार घिमिरे लगायतकाले दुःख व्यक्त गर्दै श्रद्धाभाव अर्पण गरेका छन् ।