६ जना स्रष्टालाई संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
154 Shares
काठमाडौं

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ६ जना स्रष्टालाई ‘संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९’ प्रदान गरेको छ ।

मंगलबार लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा गरिएको कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल लगायतको सहभागितामा उक्त पुरस्कार समर्पण गरिएको हो ।

नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा पुरस्कारका लागि लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नविन किशोर राई, सङ्गीत विधाबाट वरिष्ठ गायक, संगीतकार तथा गीतकार गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। त्यसैगरी रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी भैरव क्षेत्री, नृत्य विधाबाट वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली र नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा कलाकारहरुलाई जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्रले सम्मान गरियो।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले प्रतिष्ठानले वर्षौदेखि यो क्षेत्रमा सक्रिय रहेर योगदान पुर्याउँदै आएकोमा खुशी व्यक्त गरे । प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै लैजानुपर्ने उनले बताए । ‘नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ’ उनले भने ।

प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । ‘प्रतिभाहरुको सम्मानले प्रतिभाहरुलाई सिर्जनाको क्षेत्रमा कर्मशील र क्रियाशील हुने प्रेरणा प्रदान गर्दछ’ उनले भने, ‘अग्रज स्रष्टाहरुको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो । यस्तो सम्मान गर्ने परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ ।’

कुलपति शर्माले कला स्थिर तत्व भएको बताउँदैे स्थिर तत्व स्रष्टा कलाकारहरुको माध्यमबाट मात्रै चलायमान हुने बताइन् । उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।

पुरस्कृत स्रष्टाहरुको प्रतिनिधित्व गर्दै सम्मानित रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गरे । उनले नेपाली  मौलिक संगीत, नृत्य तथा नाटकमा दशकौँ योगदान दिने श्रष्टा तथा कलाकारलाई प्रतिष्ठानले आजीवन सदस्य बनाउन समेत आग्रह गरे ।

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको लगायतका नेपाली संगीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया