खुल्ला प्रकृतिमा कविता यात्रा

सैलुङअनलाइन
सैलुङअनलाइन
336 Shares

युवा कविहरुको समूह ‘सम्भव’ले खुल्ला प्रकृतिलाई मञ्च बनाएर पदयात्रासँगै कविता प्रस्तुत गरेका छन् ।

शुक्रबार समूहले ‘पदयात्रामा कविता’ कार्यक्रमलाई चन्द्रागिरी नगरपालिकाको चेकपोस्टबाट सुरु गरेका थिए । समूहले पदयात्रासँगै चन्द्रागिरीकै हिलमा पुगेर कविता वाचनसँगै कार्यक्रम सम्पन्न गरे। कार्यक्रममा कविहरु सुरज राना,राज एकान्त र मन्जुल मिथाेचले कविता प्रस्तुत गरेका थिए भने कविता माथि कवि सन्जित फलानाले टिप्पणी गरेका थिए। कार्यक्रममा अतिथि कविकाे रुपमा कवि भुमिका थारुले कविता प्रस्तुत गरेकी थिइन्। मिथाेचले ‘प्ले:क्आस, पहाडमा रातो पोखरी’, ‘झण्डाकाे मान्छे’ र ‘असम्भव’ कविताहरु प्रस्तुत गरेका थिए। त्यसैगरी कवि एकान्तले ‘घाम’, ‘युवा’ लगायतका कविताहरु सुनाए। कवि रानाले भने ‘बन्दुकले कविता लेख्न थाल्छ’, ‘अक्षरहरु’, ‘ओ बाहुनी’ जस्ता कविताहरु वाचन गरे । कविता माथि टिप्पणी राख्दै फलानाले कविहरूको कवितामा फरक-फरक स्वाद र फ्युजन भएको बताए। कवि रानाको कवितामा प्रतिरोधी चेत पाइएको बताउँदै उनले कवि एकान्तको कविताहरूमा प्राकृतिक सौन्दर्यको विम्बहरूलाई मीठो तरिकाले बुनेको मत राखे। ‘कविताहरु कोमल र फाइन छन्’, उनले भने, ‘कवि मिथोचका कविताहरू पहिचानको मुद्दामा केन्द्रित भएर सशक्त छन् ।’

साहित्य सिर्जनालाई साँघुरो घेरामा मात्र नभएर खुल्ला प्रकृतिमा पनि गर्न सकिन्छ। नेता, घन्टाघर, धरहरा, र सिंह दरवारलाई मुनि बनाएर प्रकृतिलाई उँचो बनाउनुपर्छ भन्ने समूहको अवधारणा हो । कार्यक्रममा युग सर्वनाम, कवि उत्तम लिम्बुको पनि सहभागिता रहेको थियो। कार्यक्रम निकै सफल रूपमा सम्पन्न भएको कवि सर्वनामको ठहर छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका