शताब्दी घरमा गुन्जिए स्रष्टाको सिर्जना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
483 Shares
काठमाडौं

पर्वतको कुश्मास्थित शताब्दी घरमा दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ-आफ्नो साहित्य सिर्जना प्रस्तुत गरेका छन् । यात्रा साहित्य कार्यक्रम ‘अक्षरयात्रा’ मा स्रष्टाहरुले शताब्दी घरमा शनिबार गजल तथा कविताहरु प्रस्तुत गरेका हुन् ।

कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको निमन्त्रणा र आयोजनामा गरिएको कार्यक्रम अन्तर्गत द्विशतक श्रृंखलामा कवि तीर्थ श्रेष्ठ, लोक गायिका हरिदेवी कोइराला लगायतका पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए । ‘जीवन र जगतको यथार्थबोधको लागि अक्षरयात्रा’ मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा कार्यक्रम संचालित छ ।

कार्यक्रमका कवि श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ सम्बन्ध रहेको सुनाउँदै आफ्नी प्रातःस्मरणीय माताको सम्झना गरे। आफु तीन वर्षको हुँदा आमाको देहान्त भएपछि कालीगण्डकी नदीमा दाहसंस्कार भएको भएको स्मरण गर्दै उनले १३ वर्षको उमेरमा नदी हेर्न आएको सुनाएर सबैलाई भावुक बनाए ।

अभियन्ता गिरीले कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लैले गर्दै आएको साहसलाई उनले प्रशंसा गरे । ‘राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठूलो आँट र साहस हो’, उनले भने, ‘कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नुपर्छ।’ उनका अनुसार कला मनोरञ्जनका लागि मात्र नभएर जीवनका लागि पनि हो । ‘कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो’ उनले भने। श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन समेत गरे ।

त्यस्तै कार्यक्रममा प्रसिद्ध लोक गायिका कोइरालाले आफुले जीवनमा तीनसय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका समेत सुनाइन । असार महिनाको झरीसँगै ८५ वर्षिय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाए भने प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेलले आ-आफ्ना धारणा सहित रचना वाचन गरेका थिए। एन पि घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर तत्स्थानीय रुपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाए ।

परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सिरहेका छौँ । त्यही हामीले भुल्दै, बिर्सिंदै गएको आफ्नोपनको आभासलाई जोगाउने प्रयत्न स्वरुप आफूले कुश्मा कला परियोजनाको परिकल्पना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष गिरीले बताए । संस्थाले नै फरक आवश्यकता महशुस गरी शताब्दी घरको परिकल्पना गरेको हो । गिरीले भने, ‘हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिनै रहेका छौँ । विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु अहिलेको प्रमुख आवश्यकता पनि हो।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका