नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बौद्धिक र उच्च चरित्रवान् व्यक्ति मात्रै प्राज्ञ हुन सक्ने बताएका छन् । उदयपुर, गाईघाटस्थित आइतबार नेपाल बाङ्मय प्रतिष्ठान र डा.रणशेर राई समृति फाउन्डेसनले बोक्सेमा गरेको ‘वर्तमान सन्दर्भमा जनसाहित्य प्रवर्द्धनमा प्रज्ञा-प्रतिष्ठानको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कुलपति राईले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा उनले प्रतिष्ठानले नेपालमा बोलिने सबै जातजातिका १ सय ३० भन्दा बढी भाषाहरूलाई समेटेर अघि बढ्ने सुनाउँदै ती भाषामा लिपिबद्ध भएका लेखनहरूको खोजअनुसन्धान, शब्दकोषको परिमार्जन र कृति प्रकाशन गर्ने समेत बताए । साहित्यकार पूण्य कार्कीले अबका दिनमा प्रज्ञा-प्रतिष्ठानले जन साहित्यको मर्मअनुरूप अघि बढ्नुपर्ने सुझाए ।
कार्यक्रममा ताराबहादुर बुढाथोकी,लक्ष्मी रायमाझी,चन्द्र मादेन, टङ्कप्रसाद दाहाल, सुक्ष्मा दाहाल, केदारकुमार कार्की, राजेन्द्र सर्वहारा लगायतका साहित्यकारहरूले धारणा राखेका थिए ।