एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने सङ्कल्पसहित आफू कर्णाली आएको बताएका छन् । जन वर्गीय सङ्गठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रीत सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
इन्चार्ज भट्टले जन वर्गीय सङ्गठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे । ‘जन वर्गीय सङ्गठनको बजार नै पार्टी हो, जन वर्गीय सङ्गठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘सङ्गठनका सदस्यहरूले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’ पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्ताबेजहरू जन वर्गीय सङ्गठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाई थियो ।
बैठकमा जन वर्गीय सङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भर्त्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गरे । कुण्ठा पोख्ने, अराजकता प्रदर्शन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भने, ‘जन वर्गीय सङ्गठनहरूले कार्यशालामार्फत आफ्नो सङ्गठनका मुद्दाहरूको पहिचान गरी जनतासँग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।
पार्टी केन्द्रीय सदस्य एवं स्कुल विभागको प्रदेश समन्वय इन्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौती रहेको औँल्याए । पार्टीले मिसन ग्रासरुटपछि जनसङ्गठन, पार्टी स्कुल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्य योजनाका साथ काम अघि बढाउने निर्देशन दिएको बताए साथै उनले पार्टी स्कुल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी पार्टी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना रहेको सुनाए ।
अर्का केन्द्रीय सदस्य नीरज आचार्यले पार्टी प्रचार सङ्गठनलाई पालिका तहसम्म पुर्याउनुपर्ने बताए । प्रदेश प्रचार विभागको इन्चार्जसमेत रहेका उनले यही असार २८ गते प्रदेश प्रचारको कार्य योजना बनाउन बैठक बस्ने र उक्त बैठकले पालिका तहसम्म पुगेर प्रचार विभाग गठन गरी प्रचारको काम गर्ने जानकारी दिए ।
बैठकमा कर्णाली प्रदेशमा क्रियाशील २० वटा जन वर्गीय सङ्गठनका इन्चार्ज, अध्यक्षहरू तथा सङ्गठनका जिल्ला संयन्त्र संयोजकहरूले रिपोर्टिङ गरेका थिए । जन वर्गीय संयन्त्रको बैठकको अध्यक्षता एमाले प्रदेश कमिटी उपसचिव एवं संयन्त्रका संयोजक टेकराज पछाई, सञ्चालन अनेरास्ववियूका इन्चार्ज रुद्र शाही र संयन्त्रका प्रदेश इन्चार्ज गुलाबजंग शाहले बैठकका उद्देश्यमाथि प्रकाश पारेका थिए ।