दोलखाको जनसङ्ख्या तथ्याङ्क विभाग दोलखाले सार्वजनिक गरेका छन् । सोमबार एक कार्यक्रमबिच दोलखाको जनसङ्ख्या १ लाख ७२ हजार ७ सय ६७ जना रहेको सार्वजनिक गरेका हुन् ।
२०७८ को जनगणना अनुसार दोलखामा ८९ हजार ४७ जना महिला र ८३ हजार ७ सय २० पुरुष रहेका छन् । पुरुषको तुलनामा महिलाको जनसङ्ख्या ५ हजार ३ सय २७ ले बढी रहेको छ ।
यसअघि २०६८ सालको जनगणनामा पनि पुरुष भन्दा महिलाको सङ्ख्या १२ हजार ५ सय ५१ र २०५८ को गणनामा ४ हजार ३ सय ३ ले बढी थियो ।
२०५८ सालको दाँजोमा २०७८ मा जनसंङ्या घटेको तथ्याङ्कमा देखाइएको छ । २०६८ सालमा दोलखाको जनसङ्ख्या १ लाख ८६ हजार ५ सय ५७ रहेकोमा २०७८ सालसम्म आइपुग्दा १३ हजार ७ सय ९० ले घटेर १ लाख ७२ हजार ७ सय ६७ रहेको छ ।
२०५८ सालमा दोलखाको जनसङ्ख्या २ लाख ४ हजार २ सय २९ थियो । त्यसको १० वर्षपछि २०६८ सालमा जनगणना गर्दा दोलखाको कुल जनसङ्ख्या १ लाख ८७ हजार २ सय २९ मात्रै देखिएको थियो । २०५८ देखि २०६८ सम्मको १० वर्षको अवधिमा १६ हजार ६ सय ७३ ले जनसङ्ख्या घटेको थियो ।
२०५८ सालमा दोलखामा जनसङ्ख्या वृद्धिदर १ दशमलव ६५ प्रतिशत रहेको थियो । त्यसपछि भएका दुवै जनगणनामा जनसङ्ख्या वृद्धि घट्दो दरमा रहेको छ । २०६८ मा शून्य दशमलव ९१ प्रतिशतले जनसङ्ख्या घटेकोमा २०७८ मा शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
दोलखामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाको जनसङ्ख्या ३४ हजार ७ सय १२ रहेको छ भने सबैभन्दा कम तामाकोसी गाउँपालिकाको १५ हजार १ सय ६३ रहेको तथ्याङ्कले देखाएको छ ।
यस्तै कालिन्चोक गाउँपालिकाको २१ हजार ९७‚ बैतेश्वरको १७ हजार ८ सय ९६ रहेका छन् । शैलुङ गाउँपालिकाको १७ हजार ९ सय २३, बिगु गाउँपालिकाको १६ हजार ४ सय ९०, जिरी नगरपालिकाको १६ हजार १ सय ९, गौरीशंकरको १५ हजार ९ सय ९५ र मेलुङको १५ हजार ८ सय ९३ जनसङ्ख्या रहेको छ ।
२०७८ सालको जनगणना अनुसार सबैभन्दा बढी मेलुङ गाउँपालिकामा २ दशमलव ३१ प्रतिशतले जनसङ्ख्या वृद्धिदर घटेको छ ।
यस्तै तामाकोशीमा २ दशमलव शून्य ९, बिगुमा १ दशमलव शून्य ८, वैतेश्वरमा १ दशमलव शून्य १, कालिन्चोकमा शून्य दशमलव ८१ र गौरीशङ्कर गाउँपालिकामा शून्य दशमलव ६२ प्रतिशतले जनसङ्ख्या वृद्धिदर घटेको छ । तर, भीमेश्वरमा शून्य दशमलव ६४ र जिरी नगरपालिकामा भने शून्य दशमलव ३६ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको छ ।
यसैबिच, दोलखामा सबैभन्दा बढी क्षेत्री समुदायको जनसङ्ख्या ५३ हजार ९ सय ८७ रहेको छ भने तामाङ समुदाय ३० हजार ४ सय ६८ का साथ दोस्रो स्थानमा छ । थामी समुदाय १८ हजार ७५, नेवार समुदाय १५ हजार ७ सय ३१, ब्राह्मण पहाडी समुदाय १३ हजार १९, शेर्पा समुदाय ९ हजार ४ सय ८० र सुनुवार समुदायको जनसङ्ख्या १ हजार ९ सय ४० रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा जिरेल समुदायको जनसङ्ख्या ४ हजार ४ सय ९४ र सुरेल समुदायको जनसङ्ख्या १ सय ४३ मात्रै रहेको छ । दोलखामा ६६ दशमलव ४७ प्रतिशत हिन्दु, २६ प्रतिशत बौद्ध, ५ दशमलव ३९ किराँत र २ दशमलव शून्य ५ प्रतिशत क्रिश्चियन रहेका छन् ।
नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ ।