अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ ।
जल तथा मौसम विभागका अधिकारीहरूका अनुसार मंलगवार बिहान तिनाउ नदीमा आएको बाढीले खतराको सङ्केत दिइएको बताइएको छ।
जल तथा मौसम विज्ञान विभागले बाढी बुलेटिन निकालेर तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागले तिनाउका २ ठाउँमा ५ वर्षअघि वर्षा तथा बाढी मापन यन्त्र राखेको थियो । तीमध्ये दोभान र झुम्सा खोलाभन्दा ५० मिटर तल राखेको वर्षा तथा बाढी मापन यन्त्र ३ वर्षअघिको बाढीले बगाएको थियो ।
बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।
यस्तै, नवलपरासी (पूर्व), इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र दाङ आसपास भई बहने केही स-साना नदीहरूमा समेत पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना बाढी पूर्वानुमान महाशाखाले जनाइएको छ ।
यस्तै पाँचथर, सङ्खुवासभा, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर, रसुवा, दोलखा, बागलुङ, पर्वत, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर र आसपास भई बहने केही स-साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।