धनकुटामा ५० घरपरिवारलाई जस्तापाता

मलाती मोक्तान संवाददाता
धनकुटा

धनकुटा पाख्रिबास नगरपालिकाले शनिबार सुरक्षित नागरिक गरिबीनीवारण जनता आवास कार्यक्रम अन्तर्गत वडा नं. ६, ७ र ८ का ५० घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद राजेन्द्र कुमार राईले जस्तापाता हस्तान्तरण गर्दै दशैं, तिहार, छठ् र उभौलि पर्वको शुभकामना दिएका थिए । सांसद राईले कार्यक्रममा खानादेखि छाना लगायत सम्पूर्ण जनताका आवश्यकता सरकारले पुरा गर्ने बताए ।

नगरपालिकाले नगरभित्र रहेका गरिब, विपन्न, एकल महिला, दलित र पिछडिएका घरपरिवार छनोट गरेर १४ लाख बराबरको जस्तापाता  वितरण गरिएको नगरसभा सदस्य सरोज राईले जानकारी दिए । उनले अन्य वडाहरुमा मंसिरपछि जस्तापाता वितरण गरिने र नगरभित्र रहेका गरिब पहिचानका लागि गणना कार्य सञ्चालन भइरहेको बताए ।

पाख्रिबास नगरपालिका भित्रका नागरिकले जस्तापाता पाएपछि खुसी व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला विकास समन्वय समिति धनकुटाका संयोजक टङ्क चहवान, नगर प्रमुख विर्षबहादुर राई वडाका जनप्रतिनिधि लगायत उपस्थित रहेका थिए ।

कार्यक्रम पाख्रिबास नगरपालिकाे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष शान्तिराम गौतमकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया