‘डम्फु’ को उत्पत्ति‚ अर्थ र प्रयोग

7.9k Shares
काठमाडौं

केही दिन पहिला ‘ईन्टरनेशनल तामाङ स्पिकिङ क्रिश्चियन फिलोसोफि’ नामक संस्थाको फेसबुक पेजमा क्रिस्चियन धर्म प्रचारक ‘मदन मोक्तान’ भन्ने व्यक्तिले क्रिश्चियन धर्मको प्रतीक चिन्ह क्रस तामाङ समुदायको सांस्कृतिक/राष्ट्रिय बाजा ‘डम्फु’ को चरा हुने ठाउँमा प्रयोग गर्नुका साथै ‘डम्फु’ को उत्पत्तिका कथा समेतलाई गलत सन्देश जाने गरी निर्माण गरिएको श्रव्यदृष्य भजन सामग्री युट्युब च्यानल र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको देखियो । त्यस विषयलाई लिएर प्रायः सबै तामाङहरूले तथा विभिन्न तामाङ संघसंस्थाहरुले विरोध गर्नुको साथै गम्भीर ध्यानाकर्षण गराइरहेको थियो । त्यसै बिचमा सो फेसबुक पेजबाट नै ‘मदन मोक्तान’ भन्ने व्यक्तिले लेखेरै माफी तथा त्यस्ता गल्ती अब उप्रान्त नदोहोर्‍याउने भनेर लेखेको पनि देखियो भने फेरि सोमबार मात्रै विभिन्न तामाङ संघसंस्थारूले ‘डम्फु’को गलत प्रचार गरिएको भन्दै सार्वजनिक गरिएको सामग्री हटाउनुका साथै गल्ती नदोहोर्‍याउने गरी माफी माग्नुपर्ने प्रेस विज्ञप्ति नै जारी गरिएको छ । त्यसैले यो बेला तामाङ जातिको सांस्कृतिक तथा राष्ट्रिय बाजा ‘डम्फु’ बारे केही चर्चा गर्नु सान्दर्भिक लाग्यो । मैले विभिन्न लेख रचना तथा पाठ्य सामग्रीदेखि तामाङ अध्येताहरूसँग सोधखोज गरी अनुसन्धानात्मक टिपोटहरूको सँगालोको रूपमा यहाँ छोटो लेख प्रस्तुत गरिएको छ । सो सम्बन्धी चर्चा गर्नु भन्दा अघि तामाङ जाति को हो त ? भन्ने बारे छोटो चर्चा गरौँ ।

जुन चराचर जगतको जननी (तामाङ भाषामा अमाधिनी) हो  । ३२ (बत्तीस) किलाले घामको किरणलाई जनाउँछ साथै ३२ (बत्तीस) किलाले ३२ (बत्तीस) शुभ लक्षण (गुण) लाई पनि बुझाउँछन् । त्यस्तै गरी मानिसको अनुहारको एक अङ्ग मुखभित्र ३२ वटा सेतो दाँतहरू हुन्छन्, त्यस दन्तको प्रतीकको रूपमा पनि डम्फुको घेरोको ३२ वटा किलालाई जनाउँदछ भने सम्पूर्ण डम्फुलाई मानिसको अनुहारको रूपमा ।

तामाङ जाति बारे छोटो चर्चा

तामाङ जातिहरू हिमालय पर्वतको मध्यवर्ती खण्डको आदिवासी जनजाति हो । यो जातिको मुख्य घना आवदी रहेको र पहिलो चुमेको मुलुक नेपाल भन्ने देश नै हो । आधुनिक राज्यहरूको निर्माण हुनुभन्दा पहिले यस क्षेत्रमा तामाङहरूको स्वतन्त्र स्वशासित भू–क्षेत्रहरू थिए । त्यसलाई तामाङहरूले तामाङ भाषामा ताम्सालिङ भनिन्थ्यो । तर आधुनिक राज्यहरूको राजनैतिक भौगोलिक सीमा रेखाहरू कोरिएर निर्माण भए सँगसँगै तामाङहरूको पुर्ख्यौली क्षेत्रहरू विभिन्न देशहरूमा रहन वा विभाजित हुन पुग्यो । भारतका केही ठाउँहरू सिक्किम‚ दार्जिलिङ, भुटान, म्यानमार (बर्मा), तिब्बत‚ चीन आदि देशहरूमा तामाङको पुर्ख्यौली भू–क्षेत्रहरू रहन पुग्यो । आधुनिक राज्यहरूको राजनैतिक भौगोलिक सीमा रेखाहरू कोरिनुभन्दा पहिला नै ताम्सालिङ भूमि नेपाल, म्यानमा (बर्मा), भारतका दार्जिलिङ, सिक्किम, भुटान, तिब्बत चीन, आदि नामधारी देशहरूमा बाँडिएका थिए । सो भूक्षेत्रमा अहिले पनि तामाङ जाति बसोबास गर्दै आइरहेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको साङपो नदी दक्षिण, खास गरी केरुङ–कुतीदेखि महाभारत पहाडसम्मको भूभाग आदि कालदेखि तामाङ जातिका ऐतिहासिक उद्गम भूमि/किपट/मूल थलो/थातथलो वा उत्पत्ति भूमि हुन् । यसलाई तिब्बती भाषामा माङयुल भनिन्छ । भने भारतीय भाषा मिश्रित नेवा बोलीमा सेंषान्त र तामाङ भाषामा ताम्सालिङ (तामाङ भू–क्षेत्र) भन्ने गरिन्छ । तामाङ जातिको उद्गम भूमि तिब्बतको दक्षिण पश्चिम स्याङस्युङ, केरुङ, कुती, पुराङ हुँदै नेपालको शैलुङ, मेलुङ, रिस्याङ्गु, तेमाल, मुगु, मुस्ताङ क्षेत्रबाट त्रिशूली नदी उद्गमस्थलको भाग हुँदै बुढी गण्डकी गणेश हिमालको शृङ्खलातिर प्रसारित वा फैलिएर वा बसोबास गर्दै गएको/आएको देखिन्छ । हाल नेपालको मध्य भागमा तामाङ जातिको जनघनत्व बाक्लो रहेको छ ।  हिमाली ठन्डी प्रदेशदेखि मध्य पहाड, भित्री मधेस र तराईसम्मको भूगोलमा समेत बाक्लै उपस्थिति रहेका पाइन्छन्‚ तामाङ जातिहरू ।

नेपाल देशमा खासगरि पूर्वमा दूधकोसी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सीमादेखि पश्चिम, पश्चिममा बुढी गण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासहित पूर्व–पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासम्मको भू–भाग ताम्सालिङ हो । ताम्सालिङ प्रदेशको बिचमा नेवार जातिको बाहुल्य रहेको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको क्षेत्र नेवा: राज्य प्रदेश पर्दछ । ताम्सालिङ प्रदेशको भूभागसँग जोडिएको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको तामाङ बाहुल्य गाउँपालिकाको दक्षिणका राजमार्गसँग अविच्छिन्न रूपमा जोडिएका तामाङ बाहुल्य वडाहरू साबिक गा.वि.स.का क्षेत्रहरू पनि ताम्सालिङ स्वायत्त प्रदेशकै भू–भागहरू हुन् । हालमा सो ताम्सालिङ भू–भाग काठमाडौँ उपत्यका वरिपरिका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्लाहरू हुन् । चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका केही तामाङ बाहुल्यता रहेका गाउँपालिका तथा वडाहरू साबिकका गा.वि.स.हरू हुन् ।

त्यसो त अहिले तामाङ जाति नेपालको प्रायः सबै जिल्लाहरूमा तथा विश्वका जुनसुकै विकसित देशहरू अस्थायी वा स्थायी रूपमा बसोबास गरिरहेका छन् । जस्तो खाडी मुलुक दुबई, कतार, साउदी अरब, इजरायल आदि । यस्तै एसियाका विभिन्न देशहरू जापान, कोरिया, हङकङ आदि । युरोपका विभिन्न देशहरू फ्रान्स, जर्मन, बेलायत आदि तथा अमेरिका, क्यानडा इत्यादि देशहरूमा अध्ययन, अनुसन्धान तथा रोजगारीको सिलसिलामा पुगेर अस्थायी वा स्थायी रूपमा बसोबास गरिरहेका छन् ।

अब चर्चा गरौँ डम्फु बारे ।

तामाङ जातिको सांस्कृतिक बाजा ‘डम्फु’ को उत्पत्ति बारे :–

तामाङ जातिको इतिहाससँगै जोडिएर आउँछ तामाङ जातिको सांस्कृतिक/राष्ट्रिय बाजा ‘डम्फु’ उत्पत्तिको कथा वा मिथक पनि । मानव सभ्यता र समाज विकास हुने क्रममा सिकारी युगतिर तामाङहरूको म्हेमे (जिजु बुवा/एक पुर्खा) पेङदोर्जे नाम गरेका सिकारी सिकार खेल्दै शैलुङ डाँडा क्षेत्रमा पुगेको कहावत तामाङ समुदायमा प्रचलित पाइन्छन् । उक्त कथा वा मिथक अनुसार सोही क्षेत्रमा पेङदोर्जेले ताङसर रा (घोरल बाख्रा) लाई तीर प्रहार गरेर सिकार गर्छन् । त्यो दृश्य देखेपछि पेङदोर्जेको श्रीमती अत्यन्तै दुःखी भएछ । पेङदोर्जेले जति नै फकाउँदा पनि फकाउन नसकेपछि पेङदोर्जेको मनमा अचानक एउटा जुक्ति फुरेछन् । उनले सिकार गरेको घोरलको छाला उतारेर सुकाएर ह्रोल्मो (बाजा) बनाउन अम्बुसिङ (कोइराला काठ) को हाँगा काटेछन् । त्यो हाँगा ताछेर डम्फुको घेरा बनाएछन् । त्यसपछि पेङदोर्जे मधेसतिर झरेछन्  । त्यहाँबाट बाँस लिएर आएपछि त्यो बाँसको ३२ (बत्तिस) वटा फुर्बा (किला) बनाएछन् । पेङदोर्जेले कोइराला काठको त्यो आफूले बनाएको डम्फुको घेरामा घोरलको छाला एकपट्टि मोरेर किल्ला ठोक्दै तन्काउँदै ३२ (बत्तिस) वटा किला घेराको वरिपरि ठोकेछन् । स्मरण रहोस्‚ आजकल डम्फु बाजा घोरलको साट्टो बाख्राको छाला मोरेर बनाउँछन् । त्यसपछि डम्फु बाजा बजाउँदा बाजाको आवाज ‘प्लाक धुई धुई…, ताक धुई धुई…, ‘धिङ, धिङ ताक… ’ भन्ने आएछन् । सो आवाज सुनेर हर्ष विभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै पेङदोर्जे नाच्न थालेछन् । त्यो आवाज डाँफे चरीले सुनेछ । डाँफे चरी पनि नाच्न थालेछन् । डाँफे चरी नाचेको देखेपछि पेङदोर्जेले डाँफे चरीको प्रतीक स्वरूप डम्फुको घेरोको शिर पट्टी डाँफे चरीको प्रतीक पनि बनाएछन् । त्यस्तै गरी डम्फुको घेरोको तलतिर चोयाको टुक्रा पनि राकेछन् । जसलाई ‘टेपटेप’ भन्दछन् । यसरी तामाङ जातिको राष्ट्रिय बाजा डम्फुको उत्पत्ति भएको देखिन्छ अर्थात् पेङदोर्जेले डम्फु बनाएको हो भनिन्छ ।

 ‘डम्फु’ को ऐतिहासिक, आध्यात्मिक तथा वैज्ञानिक अर्थ र प्रयोग:

तामाङ पुर्खाहरूको अनुसार डम्फुलाई नै डम्बा, डम्बुर, डम्फा र डम्फुर पनि भन्ने गरिन्थ्यो तर अहिले चलनचल्तीको भाषामा डम्फु नै भनिन्छ । यसको प्रयोग खास गरी ताम्बाले गर्छन् । ताम्बा भनेको तामाङ जातिको इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाज सम्बन्धी ज्ञान भएको व्यक्ति हो । ताम्बाहरूले डम्फु बजाउँदै तामाङ इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाज सम्बन्धी ज्ञान गीत जस्तै गरी गाएर भन्छन् । त्यस्तै गरी तामाङ सेलो गीत, तामाङ ब्हाई (माया पिरतीका गीत) आदिमा पनि आजकल डम्फुको प्रयोग गरेको देखिन्छ । त्यसैले आजकल ‘ताम्बा’ र ‘डम्फुरे’ मा मान्छेहरू झुक्किन्छन् । कतिपयले ताम्बालाई नै डम्फुरे, डम्फुरेलाई नै फेरि ताम्बा भनेर भन्छन् । तर त्यो ठिक होइन । ताम्बा भनेको तामाङ समुदायको सांस्कृतिक धरोहर, इतिहासकार हो भने डम्फुरे भनेको संस्कृतिको एउटा अङ्ग गीताङ्गी वा डम्फुरे मात्रै हो । ताम्बाले चाहिँ डम्फु जथाभाबी बजाउँदैनन् । बजाउनु नै पर्दा विधि पुर्‍याएर मात्रै बजाउँछन् । डम्फु बजाउन सुरु गर्दा ‘आम्मैले होई, आम्मैले…’ भन्ने शब्दबाट गाउन सुरु गर्दछन् । त्यो सम्बोधन आमा र धर्ती वा पृथ्वीलाई गरिएको हो । डम्फु बजाइसकेपछि थन्क्याउने विधि पनि ताम्बाहरूले अवलम्बन गर्छन् तर, डम्फुरेले यी विधि अवलम्बन गर्दैनन् । ताम्बाले डम्फुको प्रयोग कुनै पनि कार्य वा कार्यक्रम सुरु गर्दा सर्वप्रथम सङ्सेरकेम (चोख्याउने वा धूप चढाउने) गीतदेखि विवाह संस्कारको एक चरण चारदम/चरतम (विवाह संस्कार) मा डम्फुको प्रयोग गर्छन् । जन्मदेखि विवाहको संस्कारसम्म डम्फुको प्रयोग गरिन्छ । कतैकतै आजकल घेवा (मृत्यु संस्कार) मा समेत डम्फुको प्रयोग भएको देखिन्छन् ।

यो बाजालाई पहिला पहिला तामाङ भाषामा ह्रोल्मो भनिन्थ्यो । तर, पछि ‘डम्फु’ नाम राखियो । मानिसको गोलो अनुहार वा गालालाई तामाङ भाषामा ‘ग्राम्बा वा डम्बा’ भन्दछन् । त्यही गोलो अनुहार जस्तै वृत्ताकार देखिएकै कारण ‘ग्राम्बा वा डम्बा’ हुँदै ‘डम्फु’ भएको केही तामाङ अध्येयताहरूको मत पाइन्छन् । तामाङहरू पहिला पहिला बोन धर्म मान्दथ्यो । त्यसो हुँदा बोन धर्म र बौद्ध धर्म मान्ने तामाङ पुर्खाहरूको मतअनुसार त्यो डम्फु जो गोलो/वृत्त आकारको हुन्छ । त्यस वृत्तले घाम वा सूर्यलाई इंकित गर्दछ । जुन चराचर जगतको जननी (तामाङ भाषामा अमाधिनी) हो  । ३२ (बत्तीस) किलाले घामको किरणलाई जनाउँछ साथै ३२ (बत्तीस) किलाले ३२ (बत्तीस) शुभ लक्षण (गुण) लाई पनि बुझाउँछन् । त्यस्तै गरी मानिसको अनुहारको एक अङ्ग मुखभित्र ३२ वटा सेतो दाँतहरू हुन्छन्, त्यस दन्तको प्रतीकको रूपमा पनि डम्फुको घेरोको ३२ वटा किलालाई जनाउँदछ भने सम्पूर्ण डम्फुलाई मानिसको अनुहारको रूपमा । डम्फु बाजा एकातिर छालाले मोरेको हुन्छ, भने अर्कोतिर खाली हुन्छ । त्यो खाली पट्टीको अर्थ शून्य/महाशून्यलाई जनाउँदछ । जहाँ ‘अमाधिनी’ (आमा) वा सूर्यको उत्पत्ति भएको थियो भन्ने बुझाई छ । त्यसैलाई ताम्बाले सूर्यको टुक्राबाट ग्रह बन्ने क्रममा जम्बुलिङ (पृथ्वी) पनि बनेको थियो भनेर गीत मार्फत गाउने गरिन्छ र भनिन्छ । तामाङहरूले घाम वा सूर्यलाई अमाधिनी मान्दछन् । डम्फुको घेरोको तल्लो भागमा चोयाको टुक्रा पनि राखिएको पाइन्छ । त्यसको अर्थ सिकारी युगमा प्रयोग गरिएको धनुषबाण र तीरलाई सङ्केत गरिरहेको हुन्छ । यसरी  तामाङ जातिले सांस्कृतिक तथा राष्ट्रिय बाजा ‘डम्फु’ को ऐतिहासिक, आध्यात्मिक तथा वैज्ञानिक अर्थ बुझेर प्रयोग गरिरहेको देखिन्छ ।

– aurlinimoktan@gmail.com
(लेखक नेपाल तामाङ घेदुङको संघिय सचिव हुन् ।)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
17
+1
12
+1
4

तपाईको प्रतिक्रिया

पत्रपत्रिका