लाङटाङ राष्ट्रिय निकुञ्ज पर्यटकको उत्कृष्ट गन्तव्य

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
126 Shares
रसुवा

लाङटाङ राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो। यो सङ्घीय राजधानी काठमाडौँबाट नजिकैको निकुञ्जमा पर्छ । निकुञ्ज भित्र एक हजारभन्दा बढी प्रजातिका वनस्पतिहरू पाइन्छ । यसका अलावा दुर्लभ रेडपाण्डा पनि यहीँ भेट्न सकिन्छ । स्तनधारी ४६, पन्छी ३८०, सरीसृप ११, माछा ४०, माकुरा १०, पुतली ५८, २१ प्रकारका रैथाने वन्यजन्तु तथा वनस्पति पाइन्छ ।

लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका, गोसाईंकुण्ड र यसका ताल शृङ्खला, दोर्जेलाक्पा पास, जुगल हिमाल बेसक्याम्प, मेलम्ची घ्याङ, हेलम्बु, तार्के घ्याङ, ह्योल्मो आमायाङ्री, शेर्माथाङ, घ्याङफेदी, पाँच पोखरी, दुप्चेश्वरी आदि निकुञ्जभित्रका प्रमुख पर्यटकीय आकर्षणका गन्तव्यहरू हुन् ।

निकुञ्जले सार्क मुलुकका पर्यटकबाट एक हजार पाँच सय, विदेशी पर्यटकबाट तीन हजार र स्वदेशी पर्यटकबाट सय रुपैयाँ शुल्क लिने गरिएको छ । लाङटाङ क्षेत्र घुम्न आउने सार्क मुलुकलगायत अन्य देशका पर्यटकमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत राष्ट्रका छन् ।

काठमाडौँबाट छोटो र सजिलो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकका लागि घुम्न रसुवामा तीन वटा पदमार्ग रहेको छ । धुन्चे, गोसाईंकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेँसी हुँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, वृदिम हुँदै स्याफ्रुबेँसीसम्मको पदमार्ग रहेको छ । नेपालको तेस्रो ठुलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ ।

भूकम्पपछि असामान्य भएको स्थानीयवासीको दैनिकी पनि अहिले पुरानो अवस्थामा फर्किएसँगै पर्यटनको प्रवर्द्धनमा केन्द्रित हुँदै गएको छ । भूकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकहरूको आवागमन बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जमा गएको  साउन  १ देखि जेठ मसान्तसम्ममा नेपाली १९ हजार १ सय २३, सार्क मुलुकबाट ३ सय ८६ र अन्य मुलुकबाट ७ हजार ७ सय १० जना गरी २७ हजार २ सय १९ जना आएका छन् । त्यस्तै राजश्वमा यो वर्ष अगिल्लो वर्षको तुलनामा २ गुणा राजश्व सङ्कलन गरेको छ ।

अगिल्लो वर्ष १७ हजार ६ सय ८८ जना आएका थिए भने यो वर्ष २७ हजार २ सय १९ जना आएका छन् त्यस्तै अगिल्लो वर्ष पर्यटकबाट १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने यो वर्ष ३ करोड १७ लाख १५ हजार ७ सय ११ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जसमा वन पैदावारी बिक्रीबाट १४ लाख १५ हजार ९ सय ७५ रुपैयाँ , काठ दाउरा बिक्री बापत ७ लाख ३९ हजार ७४ रुपैयाँ , गैर काठ वन पैदावारी बिक्री बापत ६ लाख ७६ हजार ९ सय रुपैयाँ, पर्यटनबाट २ करोड ६३ लाख ४ हजार ८ सय ९७ रुपैयाँ, दण्ड सजायबाट १ लाख ५५ हजार ४ सय ५७ रुपैयाँ र अन्य शीर्षकबाट ३८ लाख ३९ हजार ३ सय ८२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

२०३२ साल चैत ९ गते स्थापना भएको यस निकुञ्ज रसुवा ५७५, नुवाकोट ७५, सिन्धुपाल्चोक ३६५ गरी १७ सय १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

मानव र वन्यजन्तु बिच सहअस्तित्व कायम गर्दै स्थानीय नागरिकको जीविकोपार्जनमा टेवा पुर्‍याई धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जैविक विविधताको संरक्षण गरी यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पति तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका