नेपाली मौलिक तथा रैथाने खानाको खोज तथा अनुसन्धानका लागि सेफ प्रेमलाल तामाङ १ सय १ दिने नेपाल यात्रामा निक्लेका छन् । उनलाई आज असोज १३ गते सोमबार पर्यटन विभागका महानिर्देशक ढुन्डुराज घिमिरेले एक समारोह बीच बिदाई गरेका हुन् ।
ग्लोबल नेप्लिज सेफ फेडेरेशनले सेफ तामाङको यात्रा सफलताको कामना गर्दै आज विहानै काठमाडौंमा बिदाई समारोहको आयोजना गरेको थियो ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक ढुन्डुराज घिमिरेले नेपाली खानाको प्रवद्र्धन गर्ने प्रयासको सह्राना गर्दै नेपाली मौलिक खानालाई विश्व माझ चिनाउन सेफको ठूलो हात रहने हुँदा हरेक नेपाली सेफले नेपाली मौलिक खानाको विशेषता बारे थाहा पाउन आवश्यक रहेको बताए ।
विश्व साईकल यात्रि पुस्कर शाह नेपाली मौलिक खानाको स्वादलाई विदेशीको जिब्रोमा झुण्डाउन सके त्यसबाट नेपालले ठूलो लाभ लिन सक्ने बताए । त्यस्तै, फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले नेपाली खानाको प्रवद्र्धनमा सरकारले यथेष्ट ध्यान दिन नसकेको औल्याउदै नेपाली खानालाई अन्र्तराष्ट्रियकरण गर्न विलम्ब गर्न नहुने तर्क पेश गरे ।
सेफ तामाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी हुँदै गई रहेको प्रति चिन्ता ब्यक्त गर्दै आफूले नेपाली परम्परागत खानाको महत्वलाई आम नेपाली एवं विश्व समुदाय सामु उजागर गर्न नेपाली खानाले स्वास्थ्यमा पार्ने प्रभाव, पोषण आदीको विषयमा खोज र अन्वेषण गर्ने बताए । तामाङले भने, ‘यात्राको क्रममा नेपालका सबै जातजातिका मौलिक खाना, त्यसको पाककला र पाउन सत्कार समेतको अध्ययन हनेछ ।’
नेपाली मौलिक खानाको पहिचान गरी नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य सहित नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा तय गरिएको सेफ तामाङले विधाई समारोहलाई बताए ।
सेफ तामाङको नेपाल भ्रमण झापाबाट आरम्भ हुनेछ । उनी आजै काठमाडौंबाट झापाका लागि हिँडीसकेका छन् ।
कार्यक्रममा सेफ एशोसियसन नेपालका अध्यक्ष श्रीराम अधिकारी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका बरिष्ठ उपाध्यक्ष नारायण बहादुर थपलिया र महासचिव मोहन गजुरेलले नेपाली खानाको महत्व बारे प्रकाश पार्दै संस्थागत रुपमा सेफ संगठन र सेफहरुले नेपाली खानाको प्रवद्र्धनका निम्ती चाल्दै आएको भूमिकाको चर्चा गरेका थिए ।
सोही कार्यक्रम माझ कुलिनरी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका संघ संस्था, संचार निकाय तथा कर्पोरेट हाउसहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।