२१ वर्षपछि वडाध्यक्षले गरे एसईई उत्तीर्ण

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति संवाददाता
308 Shares
म्याग्दी

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण गरेका छन्।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोका २ दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन्।

विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए। एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारका सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताए। उनी २०६९ सालमा घर फर्किएका थिए।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घसंस्थामा आबद्ध भएका थिए। उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए।

सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटकपटक पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका