साहित्यकार रमेश विकलको ललितकला सिर्जनाहरु र तिनका विविध आयामहरु समेटिएको पुस्तक ‘लुकेको प्रतिभा(हिडन ट्रेजर’) सार्वजनिक भएको छ ।
बिहीबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा अग्रज कलाकार हरिप्रसाद शर्मा, विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे लगायतकाले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकको लेखन यमप्रसाद शर्मा र सम्पादन कलाकार एवं प्रतिष्ठानका पुर्व कुलपति केके कर्माचार्यले गरेका छन् ।
पुस्तकमा विकलले आफ्नो जीवनकालमा सिर्जना गरेका ल्याण्डस्केप, मुहार चित्र लगायतका थुप्रै चित्रहरु समेटिएका छन् । उनको कला सिर्जना यात्रा, शैली र स्वरुपका बारे लेखक शर्माले खुलाउने जमर्को गरेका छन् । पुस्तक र विकलको सिर्जनाबारे बोल्दै प्राध्यापक अभि सुवेदीले उनी एउटा साहित्य मात्र नभएर बहुल कलाको साधक रहेको बताए । ‘साहित्य सिर्जनाका क्रममा मानव र पात्रको आयाममा दिमागमा आएका कुरा उहाँले चित्रमा व्यक्त गर्नुभएको छ’, उनले भने,’उहाँ संगीत, चित्र, साहित्य जस्ता कलामा जानुभएको छ । सबैमा पात्रत्वको अनुभवहरु पाइन्छ ।’
ललितकला, साहित्य, संगीत जस्ता सबैखाले कलाहरु माध्यम मात्र फरक भएकोले त्यसले व्यक्त गर्ने भाव एकै किसिमको रहेको ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सुनाए । स्रष्टा विकल जस्तै सबै कलाकार र कलालाई एकैसाथ कोलाब्रेसन गरेर अगाडि बढ्न प्रतिष्ठान सदैव आतुर रहेको धारणा उनले राखे ।