एक श्रीमानले श्रीमती र भर्खरै जन्मेका सन्तानलाई छोडेर जाँदैछन् । काखे नानीहरु रुवाउँदै आमाहरु आँसु पुछ्दै–पुछ्दै टाढा हुँदैछन् । बुढेसकालको सहारा बन्ने सन्तानले बाबुआमाको काँधमा घरको जिम्मा लगाएर एक्लै छोडेर हिँडेका छन् । छोड्दै–छोड्दै ती छोडी जानेहरुले घरगाउँ, मेलापात, असारे भाका र वनपाखालाई मात्र होइन कुरी बस्नेहरुको आशालाई नै रित्तो बनाएका छन् । ती रित्तोपनालाई भर्ने मनको बहभन्दा बाहेक विकल्प अरु के नै हुन सक्छ र रु छुटिएकाहरुको बाटो हेरेर बस्ने एउटै अर्को बाटो छ, पर्खाइ । त्यो पर्खाइमा पीडा, छटपटीसँगै आशाका गोरेटाहरु पनि छन्, भन्ने कुरालाई महसुस गरेकी छन्, कलाकार रीति महर्जनले । पर्खेर बस्नेहरुको पीडालाई उनले नजिकैबाट नियालेकी छिन् । पर्खाइमा देखिएको एउटी आमा, श्रीमती र सन्तानहरुको पीडालाई उनले क्यानभासमा कलामार्फत उतारेर प्रदर्शन गरेकी छन् ।
बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी महर्जनको एकल कला प्रदर्शनीमा उनले झण्डै दुई दर्जन कला सिर्जनाहरुमा पर्खाइका पीडाहरु उतारेकी छन् । ‘पर्खाइ’ नै शीर्षक दिएर गरिएको प्रदर्शनीमा उनले वैदेशिक रोजगारको विषयलाई मूल रुपमा उठान गरेकी छन् । झण्डै एक दशकदेखि कला क्षेत्रमा सक्रिय उनले समकालीन रुपमा महिला तथा बालबालिकाको सामाजिक मुद्दालाई आफ्नो कलाकृतिहरुमा उतार्दै आएकी छन् ।
पछिल्लो जारी प्रदर्शनीलाई भने विशेषत विभिन्न कारणले देश छोडेर जानेहरु र कुरेर बस्नेहरुको कथालाई उतार्ने जमर्को गरेको उनले बताइन् । उच्च शिक्षा अध्ययनकै क्रममा उनी चार वर्ष चीनमा बसिन् । त्यो समयमा उनले घर, परिवार र देशलाई निकै सम्झिइन् । यही कुराले मन बिझिरहेकै समयमा नेपाल फर्केपछि विवाह गरी लमजुङमा पुगिन् । लमजुङको गाउँबस्ती, त्यहाँको परम्परा, रीतिथिति र एक्लिँदै गएको गाउँको कथाले भने उनको मनमा छोयो । त्यस पश्चात् उनले आफ्नो कला सिर्जनाको विषय नै यसैमा केन्द्रित गरिन् । उनको कला कृतिहरुमा विशेषत घर कुरी बसेका पाका उमेरका आमाहरु, घरको दृश्य, घरको दैलो तथा भित्तामा सजिएका कलात्मक सौन्दर्य बुट्टाहरु छन् । सँगै एक्लै भएका विवाहित जोडीहरु, सन्तानहरुलाई पनि उनले समेटेकी छन् । ‘म पहिला बालबालिकाहरुको विषयसँगै महिलाको इस्युमा काम गरिरहेकी थिएँ’, उनले भनिन्,‘विवाहपछि जब लमजुङमा गएँ । त्यहाँका घर र आमाहरु देखेर मनमा यसैलाई आर्ट स्टोरी बनाउँछु भन्ने आइडिया आयो । त्यसपछि नै अझै मैले रिसर्च गर्न थालेँ ।’ उनका अनुसार अध्ययन र अनुसन्धान गर्दै जाँदा आफुले देखेको र सुनेका कथाहरुलाई नै उनले क्यानभासमा उतारेकी छन् ।
उनको एउटा क्यानभासमा दैलोमा हात र चिउँडो अड्याएर बसेकी पाको उमेरकी महिलाको चित्र देखिन्छ । जहाँ उनको अनुहार निरश र शुन्य झैं लाग्छ । चित्रमा देखिएको पात्रलाई उनले नजिककैबाट नियालेको महर्जनले बताइन् । ‘लमजुङको एउटा ठूलो घर थियो । त्यो घरमा एउटी बुढी आमा मात्र बस्नुहुने रहेछ । उहाँका छोराछोरीहरु अमेरिका, अस्ट्रेलियातिर बस्नुहुन्छ रे । बुढेशकालमा पनि घरको दैलोमा लिपपोत गरी एक्लै बसेर देख्दा मलाई कस्तो( कस्तो लाग्यो । उहाँलाई नै मैले चित्रमा यसरी देखाएँ’, उनले चित्र देखाउँदै भनिन् ।
वृद्ध अवस्थाका आमा र बाहरु सन्तानको बाटो कुरी बसि नै रहेका छन् । सन्तान आउने बाटो हेरेरै उनीहरुले घरलाई उज्यालो बनाएका छन् र गाउँको संस्कृतिलाई जिउँदो बनाइरहेका छन् ।
वृद्ध अवस्थाका आमा र बाहरु सन्तानको बाटो कुरी बसि नै रहेका छन् । सन्तान आउने बाटो हेरेरै उनीहरुले घरलाई उज्यालो बनाएका छन् र गाउँको संस्कृतिलाई जिउँदो बनाइरहेका छन् ।
हामी एउटै घरको सन्तानहरु विभिन्न कारणले विभिन्न देशहरुमा छरिएका छौं । एक जना बाबुले सन्तान र परिवारलाई एउटा मोबाइलमा कैद गरेर तस्बिरलाई हेरी सम्झना बोकि हिँड्नुपर्ने बाध्यताहरु छन् । बाबुआमा र सन्तानबिचको प्रेमलाई एउटा मोबाइलको स्क्रिनमा साट्नुपर्ने परिस्थितिहरुमा हामी बाँचिरहेका छौं । बाबुआमाको काखमा रमाउनुपर्ने सन्तानहरु एक्लै देशमा छन् भने परदेशमा बाबुआमाहरु सन्तान बिछोडको पीडामा छट्पटिरहेका छन् । वृद्ध अवस्थाका आमा र बाहरु सन्तानको बाटो कुरी बसि नै रहेका छन् । सन्तान आउने बाटो हेरेरै उनीहरुले घरलाई उज्यालो बनाएका छन् र गाउँको संस्कृतिलाई जिउँदो बनाइरहेका छन् । यी सबै पीडाहरु महर्जनका सिर्जनाहरुमा झल्कन्छन् । उनका अनुसार लमजुङका घरहरुमा देखिएका परम्परागत घर र त्यसमा सजिएका कलाहरु बिस्तारै लोप हुने अवस्थामा छन् । नयाँ संरचनाहरुमा परम्परागत कलाहरु नदेखिए पनि पुराना बचेका घरहरुमा अझै बाँकी रहेको उनले सुनाइन् । नयाँ पुस्ताकाहरु विदेशिएसँगै ती पुराना कला र संस्कृतिहरुलाई संरक्षण गर्ने ध्येयले उनले कलामा उतारेकी हुन् । ती घर, संस्कृति र कलाहरुले पनि छोडेर जानेहरुलाई कुरेर बसेको झैं उनलाई लाग्छ । उनी भन्छिन्,‘प्रत्येक घरहरुमा अहिले कोही न कोही विदेश गएकै छन् । बुवाआमाहरु सम्झना मात्र बोकेर बस्नुभएको छ । घर नै उहाँहरुको सहारा हो। यो त अहिले हामीले सबैतिर देखि नै रहेका छौं ।’ जानेहरु त गइहाले अबको पुस्तामा देश छोड्नुभन्दा अघि पखाईको पीडा बोध आफ्नो कलाहरुले गरोस् भन्ने उनी चाहन्छिन् ।
आमाहरुको परम्परागत सीप र कलाहरुलाई अर्काइभ नै गर्ने उद्देश्यले उनले त्यसलाई दुरुस्तै कलामा उतारेकी छन् । कालान्तरमा यदि लोप नै भएमा यही नै दस्तावेज बनोस् भन्ने उनको ध्येय हो । अर्कोतिर महिलाहरुको सीपप्रतिको उनको सम्मान पनि हो । यसलाई उनले प्रदर्शनीमा भिडियोमा समेत प्रस्तुत गरेकी छन् । हाम्रो जस्तो मुलुकमा कोही न कोही विभिन्न परिस्थितिहरुमा देश छोडेर जानुपर्ने र आफ्नै संस्कृतिहरुबाट टाढा हुनपर्ने अवस्थाहरु आउँछन् । त्यस्तो परिस्थितिमा कलाकृतिहरुले समकालीन समयको कुरा बताओस् भन्ने उनको अर्को उद्देश्य हो । ‘हामीले पढेको र सुनेको भन्दा देखेको कुरा बढी पावरफुल हुन्छ । यी चित्रहरुले पनि अहिलेको समय र जेनेरेसनलाई बुझाउँछ होला भन्ने लाग्छ ।’ उनको चित्रहरुमा बगेका रङहरु जस्तै बिछोडमा तड्पिरहेका मनहरु रोदनमा झर्नु नपरोस् भन्ने उनको मनोकामना छ । साँचै उनलाई लाग्छ, अबका कलाहरुमा यो समयका कथाहरु जीवन्त रुपमा उठान गर्नुपर्छ र समग्र कला जगतले समस्या समाधानको बाटो खोज्नुपर्छ ।