राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गतेको मिति सार्वजनिक गरेको छ ।
अन्तिम ग्रेड ‘सी’ या ‘सी’ भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरू भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।
यस्तै नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।
आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई या परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा निवेदन दिन सकिनेछ ।