जो हराएका जीवनहरु खोतल्दैछन्

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1k Shares
काठमाडौं
कलाकार मन गुरुङ
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी आफ्नो कला प्रदर्शनीमा कलाकार मन गुरुङ

टाउकोमा खास्टो, शरीरमा लुङ्गी, पटुकी र चौबन्दी चोली एवं नाकदेखि ओठसम्म छुनेगरी बुलाकीसहित देखिने आमाहरु अचेल कलाकार मन गुरुङको आँखाबाट ओझेल परिसके । ती मौलिक पहिरन, ती सौम्य र शान्त ग्रामिण परिवेश झल्काउने मुहारहरु अहिले उनको सम्झनाहरुमा मात्र कैद छन् । ती आमाहरु सधैंका लागि अस्ताएपछि उनीहरुसँगै गाउँ हराएको छ । आमाहरुले सम्हालि राखेका गाउँको रीतिथिति, परम्परा, संस्कृति र गाउँ चिनाउने सबैथोक हराउँदै छन् । ती सबै चीजबिजहरु हराउँदै जाने हो भने भोलिका पुस्ताले गाउँ चिन्ने बाटो कसरी पत्ता लगाउलान् ? गाउँलाई जीवितै कसरी राख्ने र सहरसम्म गाउँ कसरी ल्याइपुर्‍याउने ? यिनै प्रश्नहरुले मनमा हानेपछि गुरुङले गाउँलाई पुनर्जीवन दिने बाटो समाए, ललितकला सिर्जना । तिनै सिर्जनाका माध्यमबाट गाउँका कथा र जीवनहरु बोल्ने डेढ दर्जनभन्दा बढी कलाकृतिहरु यतिबेला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत छन् ।

गोर्खा, खोर्लाका गुरुङ अध्ययनकै सिलसिलामा २०५६ सालमा काठमाडौं आए। ललितकला अध्ययनकै क्रममा उनले समकालीन समय र जीवनहरुलाई आफ्नो कलामा उतार्ने जमर्काे गरे । उनलाई काठमाडौंको बसाइँ र जीवनले भन्दा पनि आफ्नै ठाउँले तानिरह्यो । त्यसपछि उनले काठमाडौं र आम मानिसको हेराईमा निकै दूर रहेका जीवनहरु र त्यहाँका संस्कृतिहरुलाई क्यानभासमा कलाको फर्ममा उतार्ने प्रण गरे । ‘मैले अहिले देख्दै गरेको बसन्तपुर, हनुमानढोकाको परिवेशलाई पनि उतार्न सक्थेँ’, उनी भन्छन्,‘सहरलाई देखाउने त अरु पनि छन् तर उता गाउँलाई उतार्ने कोही छैनन् । भोलि हराएर जाने गाउँलाई मैले भिजुअलमा देखाएको हुँ ।’ गुरुङले विशेषत क्यानभासमा पुराना तस्बिरहरु जस्तै देखिने गरी पाका उमेरकाहरुलाई मुहारचित्रमा चित्रण गरेका छन् । उनका अनुसार उनले क्यानभासमा अहिले कैद गरेका अधिकांश अनुहारहरु अहिले भौतिक रुपमा अस्तित्वमा छैनन् । ती अनुहारहरुलाई उनले तस्बिरमा कैद गरिराखेको आधारमै क्यानभासमा उतारेका हुन् ।

गुरुङ विगत झण्डै आधा दशकदेखि हराएका जीवनहरु खोतल्दै त्यसलाई कला मार्फत दस्तावेजीकरण गरिरहेका छन् । ती जीवनहरु खोज्दै जाँदा उनी गोरखाका खोर्ला, सिंला, लाप्राक लगायतका ग्रामिण भेगहरुमा पुगेका छन् । घुम्दै जाने क्रममा उनलाई आदिवासी समुदायको जीवनहरु क्रमशः हराउँदै गएको ज्ञात भयो । ती हराएका चिजहरुको भिज्युअल डाटा समेत उपलब्ध छैनन् । त्यहाँका पात्रहरु र तिनका जीवनपद्धतिलाई संग्रह गरेर राख्न आफुले दृश्यसहितको दस्तावेज राख्ने जमर्काे गरेको उनी सुनाउँछन् । उनी भन्छन्,‘मैले देखेको यी पात्रहरु अहिले हुनुहुन्न । जति वर्ष बित्दै जान्छ, यो त्यति नै नौलो हुन्छ । यी सबै अर्काे जेनेरेसनले देख्न पाउने छैनन् भन्ने मलाई लाग्यो र यसरी भिजुअल फर्ममा देखाउन सुरु गरेँ ।’ उनको मुख्य ध्येय नै गाउँबाट हराउँदै गएका पुराना कुरालाई नयाँ पुस्तासमक्ष देखाउनु हो । आधुनिकताले ओझेल परेका गाउँ र त्यहाँका जीवनहरुलाई खोज्न निकै विलम्ब भइसकेको उनको ठहर छ । गाउँमा जे हुन्थ्यो र जुन कुराहरु भइरहन्थे ती सबै दिनप्रतिदिन हराएर गइरहेका छन् । युद्ध, राजनीति र सुविधासम्पन्न जीवनयापनकै क्रममा गाउँ रितिँदै छन् । युवाहरु गाउँमात्र होइन देशै छोडेर पलायन भइरहेका छन् । सिंगो भूगोल र मानवीय जीवन अनि तिनका जीवनपद्धति नै फेरिँदो छ । यसलाई गुरुङले संक्रमणकालीन अवस्थाको रुपमा इंगित गरेका छन् ।

गुरुङका कलाकृतिहरु नियाल्दै गर्दा पुरानै ग्रामिण भेगहरुको झलक दिन्छ । फिक्का खैरो र श्याम श्वेत जस्ता देखिने उनका चित्रहरु नियाल्दै गर्दा पुरानै गाउँबस्तीमा पुगेको भान हुन्छ । हातमा लठि, शिरमा टोपी र झोला भिरेका बाहरु, खुट्टामा मोजा र प्लास्टिकका चप्पलमा हिँडिरहेका आमाहरु र तिनका मुहार आकृतिलाई गुरुङले जीवन्त रुपमा प्रस्तुत गरेका छन् ।

‘पुरानो समय भन्ने बित्तिकै हामीलाई फ्ल्यास ब्याकमा लैजान्छ । यसले रंगिन भन्दा पनि धुमिल रुप नै ल्याउँछ । त्यसैले मैले कलरहरु पनि त्यसैगरी प्रयोग गरेको छु’, उनले कलाकृतिहरु देखाउँदै भने । उनी सानो छँदा यस्तै जीवनहरु हेरेर हुर्के । नुन, चामल किन्न लेकबाट बजार जाने यी अनुहारहरुलाई उनले स्मरणमा अझै राखेका छन् । उनी कसैले वास्ता नगरेका यी अनुहार र जीवनहरुलाई चिनाउन चाहन्छन् । उनको एउटा चित्रमा वृद्धा, अधवैंशे, किशोरी र साना उमेरसम्मका महिलाहरु चित्रण छन् । तिनै चित्रको पृष्ठभुमिमा भने ‘वेस्टर्न युनियन’, ‘आइ एम ई’, ‘सिटी एक्प्रेस’ जस्ता रेमिट्यान्स भित्र्याउने अनलाइन माध्यमहरु छन् । जसले वैदेशिक रोजगार र युवाविहीन बनिरहेको गाउँलाई संकेत गरेको छ । यसले पनि हराएका धेरै कुराहरुलाई प्रतिकात्मक रुपमा जनाउने गुरुङको तर्क छ । उनी चाहन्छन्,‘यो समयमा हराएका प्रत्येक जीवन र कथाहरु खोजिनुपर्छ र खोज्ने जमर्काे गर्नुपर्छ । हामीले अहिले नै नखोजे, अहिले नै माया नगरे ती सबै हाम्रा भनेकाहरु हराएर जानेछन् । हामी रित्तो र शुन्य हुनेछौं ।’ उनलाई लाग्छ हामी रहनुको अस्तित्व राख्नलाई पनि हामीले हाम्रा भनिनेहरु सबथोक संगालेर राख्नुपर्छ । यसैमा हामी छौं र हाम्रा पछिल्ला पुस्ताहरु रहनेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका