थापागाउँस्थित मण्डला थिएटरमा हाल मञ्चन भइरहेको नाटक ‘हिउँभन्दा चिसो’मा कर्णालीको सिंगो परिवेशलाई देखाउने दुई वटा जीवनहरु छन्, नौरती र गोपी । स्वास्थ्य सुविधाको पहुँच नभएकै कारण प्रसव चरणमै सन्तान गुमाएकी नौरतीले एउटा खेलौनालाई सन्तान मानिरहेकी छन् । मानसिक रुपमा विचलनमा रहेकी उनलाई सन्तान गुमाइसकेको भेउ छैन । शून्य र निर्जन गाउँमा खेलौनामै सन्तान प्रेमसँगै सुखले बाँचेकी नौरतीको खुसीमा साथ दिएका छन्, श्रीमान्, गोपीले । तिनै गोपीको भूमिकामा छन्, रंगकर्मी गोविन्द सुनार ।
हरेक दिन नाटकको मञ्चन सकिए लगत्तै गोविन्द निकैबेर घोत्लिरहन्छन् । ‘गोपी–नौरती भर्सेज गोविन्द–रेणु’ यिनै जीवनहरुलाई उनी काठमाडौंका सडकहरुमा हिँड्दाहिँड्दै तुलना गर्छन् । अनि आफैंलाई प्रश्न गर्छन्,‘नाटकको जीवन सत्य हो कि मैले बाँचेको जीवन । कुन चाहीँ ठिक हो र कुनमा म खुसी छु । मैले गरिरहेको कुनचाहीँ सत्य हो ।’ उनलाई मनभित्र बेस्सरी हिर्काएको नाटकको पाटो नै यही हो । काठमाडौं र कर्णालीको जीवन, गोपी र गोविन्दको जीवनको यथार्थ लय पत्ता लगाउने बाटो उनले तय गरेका छन् । उनले सत्य र असत्यबिच बगिरहेको काठमाडौं र कर्णालीको दूरी, आफैं नै हराइरहेको संसारलाई सत्य र असत्यको धरातलबाट खुट्याउने निक्र्योल गरेका छन् । उनी एकै छिन मन र दिमागलाई ठण्डा पार्छन्, र सोचमग्न हुन्छन्,‘खुसी त म नौरतीको पाटोमा छु । त्यता शान्त र खुसी छ । कसैको देखासिखी छैन । जीवनको उत्तारचढाव सबै सरल रेखामा छन् ।’
जतिबेला कर्णालीबासीलाई काठमाडौं र राज्यले देखेको थिएन, त्यतिबेला नै उनीहरु सुखी थिए । उनीहरु आफ्नै भूमि कोपर्थे, मीठोमसिनो फलाएर सुखले बाँचेका थिए । राज्य संरचनाले नै कर्णालीलाई गरिब र अभावको रुपमा परिभाषित गरेपछि कर्णालीबासीलाई आफु निरीह र केही नभएको महसुस भयो ।
त्यहाँका मान्छेहरु आफैंमा र आफ्नै माटोमा निर्भर छन् । त्यही रमाइरहेका छन् । यहाँबाट हेर्दा दुःख होला तर त्यहाँ सुख छ । उनीहरु आफ्नै संस्कार, रीतिरिवाज र जीवनपद्धतिमा रमाइरहेका छन् ।
कर्णालीको सरल रेखामा बगिरहेको जीवनहरुलाई बक्ररेखामा कुदाउने काम राज्य संरचना र आफ्नै स्वार्थका लागि भौतारिरहेका सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले गरिरहेको गोविन्दको ठहर छ । ३० औं बसन्तमा हिँडिरहेका उनले गोपी र नौरतीहरुको जीवन आफैंले नजिकबाट नियालेका छन् । भौगोलिक विकटतासँगै राज्यले गरिरहेको विभेदले गोपी र नौरतीहरुको जीवन कठिन बन्दै गएको उनी सुनाउँछन् । उनी कर्णाली लवजमै भन्छन्,‘जै बेलादेखि कर्णालीमा सेतो चामल हेरिकप्टरबाट आया त्यही दिनदेखि कर्णाली न गरिब बनाया ।’ उनका अनुसार जतिबेला कर्णालीबासीलाई काठमाडौं र राज्यले देखेको थिएन, त्यतिबेला नै उनीहरु सुखी थिए । उनीहरु आफ्नै भूमि कोपर्थे, मीठोमसिनो फलाएर सुखले बाँचेका थिए । राज्य संरचनाले नै कर्णालीलाई गरिब र अभावको रुपमा परिभाषित गरेपछि कर्णालीबासीलाई आफु निरीह र केही नभएको महसुस भयो । उनीहरु अहिले अरुमाथि निर्भर रहेर परजीवी जस्तो बनिरहेका छन् ।

सरकार र विभिन्न संघ–संस्थाहरुले बेला–बेलामा गरिबीको नाममा बाँड्ने अन्नदाना र गर्ने सहायताले कर्णालीलाई झनै गरिब बनाइरहेको उनको तर्क छ । उनलाई कर्णालीको प्राकृतिक छटा र सौन्दर्यप्रति प्रेम छ । त्यसैले त उनी रारा र सेफोक्सुण्डोको सौन्दर्यता, कर्णालीको जीवन्त संस्कृतिलाई जिउँदो बनाइराख्ने अभियानमा लागेका छन् । कर्णालीको सुख र समृद्धिलाई राज्यले नै ओझेल पारिरहेको उनको आरोप छ । ‘राज्याले त कर्णालीका आँसु र दुःखकन बेच्या छ’, उनी आफ्नै रैथाने लयमा केही भावुक हुँदै सुनाउँछन् ।
कर्णालीको सौन्दर्यलाई विश्वसामु पुर्याउन सक्ने हो भने यसले सिंगो राज्यलाई पाल्न सक्ने गोविन्दको मत छ । सरकारले विकास, बजेट, स्वास्थ्य सुविधा, पूर्वाधार सबैमा कर्णालीलाई पछाडि नै छोडेर सधैं मागेर नै बस्ने अवस्था सिर्जना गरिहरेको छ । उनलाई लाग्छ, यो कर्णालीबासीमाथि भइरहेको गलत प्रवृत्ति हो । यही भ्रमलाई चिर्न उनले रंगमञ्चलाई आधार बनाएर अगाडि बढ्ने सोच बनाएका छन् । काठमाडौं र जुम्ला गरेर कर्णालीको कथा भन्ने सुरमै उनी दौडधुपमै छन् । आफ्नो जन्मथलो जुम्लाको खलंगामा नाटकघर स्थापना गरेर कर्णालीबासीलाई सुख र सम्पन्नताको कथा नाटकबाटै भन्नुछ ।
प्रेमवर्षाको लेखन तथा निर्देशनमा २०७४ मा तत्कालिन अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक ‘मेटासिड’बाट आफ्नो औपचारिक नाट्य यात्रा सुरु गरेका गोविन्दको यात्रा पनि सोझो सरल रेखामा कुदेका छैनन् । यसबिचमा उनले ‘गर्भछिटा’, ‘पम्फाफूल’देखि फिल्म ‘प्रकाश’सम्म कर्णालीकै पात्रमा अभिनय गरिसकेका छन् । यसभन्दा अघि काठमाडौंमा अध्ययनरत छँदा नै उनले कर्णालीकै सामाजिक विषयमा आधारित रहेर नाटकहरु प्रस्तुत गरेका थिए । सुखद कर्णालीको सपना बोकेर काठमाडौं छिरेको गोविन्दको बाटो अग्रज रंगकर्मी सुनील पोखरेलको नाटक ‘रसोमन’ले तय गरिदियो । झण्डै ९ वर्षअघि मण्डलामै मञ्चन गरिएको नाटक ‘रसोमन’ हेरेपछि उनले आफुलाई पनि यसैमा समर्पित गर्ने वाचा गरे ।

आफु र आफ्नो परिवेशको कथा भन्ने सबैभन्दा सहज बाटो थिएटर हुन सक्छ भन्ने सोचले रित्तो हात बोकेर उनी रंगकर्मी पोखरेल समक्ष पुगे । ‘ज्ञ’ थिएटर मार्फत रंगमञ्चको ज्ञान फैलाइरहेका पोखरेलले उनलाई चेलाको रुपमा स्विकार गरे । केही समय थिएटर अध्ययनपछि उनी जुम्लातिर फर्किए । विद्यार्थी जीवन र थिएटर सपनाले मात्र उनलाई काठमाडौंमा थेग्न कठिन थियो । उतै उनले विद्यालयहरुमा थिएटर सम्बन्धि नै पढाउन सुरु गरे । उनी पुनः नाटक ‘मेटासिड’का लागि काठमाडौं फर्किएका थिए । यसै अवधिमा उनले थुप्रै कचहरी र चौतारी नाटकहरु गरेका छन् । रंगमञ्चको ज्ञान लिनकै लागि उनी सुलक्षण भारतीको पुरानो घरसम्म पुगे । उनी जहाँ पुगे पैसाबिना नै सिक्ने अवसर पाए । कुराकानीकै क्रममा उनले पोखरेल र भारतीप्रति आभार व्यक्त गरे । काठमाडौं, रंगमञ्च र जुम्ला उनको ओहोरदोहोर क्रम जारी छ । थिएटर र फिल्मको माध्यमबाट कर्णालीलाई जगाउँछु भन्ने प्रण गरेपनि त्यता नाटक बुझ्ने माहोल छैन । यता आफ्नो पनि दैनिकी चलाउन हम्मे-हम्मे नै छ । यही दौडानमा जुम्लामा थिएटर घरको लागि जमीनको कुरा समेत अगाडि बढिसकेको उनले निकै खुसी भएर सुनाए ।
उनी फेरि सोच्छन्,‘गाउँमा सुखी भएको मान्छे सहर देखेपछि दुःखी भए । किनकी उनीहरुले सहरका सपना देख्न थाले । त्यही सपनामा उनीहरुले दुःखै दुःख बोक्न थाले ।’ उनलाई अब कर्णालीका गोपी र नौरतीहरुलाई खुसी र सुख दिनुछ । उनीहरुलाई सहरको भ्रमबाट छुट्याएर गाउँको सौन्दर्यमा फर्काउनु छ ।