‘आमा तपाइँ बिहे गर्नुस्’ । कुनै दिन बुबाको देहान्तपछि एक्लो बनेकी आमाको जीवनलाई नियाल्दै गर्दा साहित्यकार स्वप्निल नीरवले आमासँग यही आग्रह गरेकी थिइन् । तुरुन्तै उनकी आमा बालकुमारी थापाको प्रतिउत्तरका रुपमा उनलाई प्रश्न थियो,‘तँलाई बिहे भनेको के हो थाहा छ ?’
जीवन यात्रासँगै साहित्य लेखनमा आफुलाई स्थापित गराउँदै गरेकी स्वप्निलले विवाह, समाज र त्यसैमा आफुलाई उभ्याउनुपर्ने महिलाको विवशतालाई थोरबहुत बुझेकी थिइन् । र त उनले आमाको प्रश्नको उत्तरलाई आमा समक्ष तुरुन्तै फर्काउने चेष्टा पुनः गरिनन् । आमाको विवाहको कुरालाई उनले मनको कुनै कुनामा गाँठो बनाएर राखिन् । बुबा बितेर जब उनकी आमा सामान्य जीवनमा फर्कदै गरेको देखेपछि उनले फेरि आमाको विवाहको कुरालाई ब्युँताइदिइन् । यसपटक भने उनले आमाको विवाहका लागि सोच्ने मात्र होइन, आमाका लागि वरसँगै विवाहको चाँजोपाँजो समेत मिलाइन् र आमालाई बेहुली बनाइन्, कथा ‘बगान’ मार्फत । उनको त्यही ‘बगान’ले अहिले फिल्मको रुप लिएको छ । सुरेश वाग्लेको निर्माण तथा सरोज खनालको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि देशभरको फिल्म हलहरुमा प्रदर्शनरत छ । एकल महिलाहरुले भोग्ने आरोह–अवरोहसँगै उनीहरुलाई पनि श्रीमान्को मृत्युपछि आफ्नै तौरतरिकाले बाँच्न दिनुपर्छ । प्रेम, विवाह, सम्बन्ध र खुसी हुनुपर्ने हक उनीहरुको पनि छ भन्ने पक्षलाई स्वप्निलले जोडदारका साथ ‘बगान’मा उठान गरेकी छन् ।
आमाहरु कहिल्यै आफ्नो लागि बाँचेनन् । उनीहरुले आफ्ना सबै रहर परिवार, सन्तान र समाजकै प्रतिष्ठाका लागि बाँधि राखेका छन् ।
आफ्नो कथाले फिल्मसम्म गरेको यात्रालाई स्वप्निलले आमालाई सुनाएकी थिइनन् । एकैचोटी आमालाई उनले पाल्पा, रामपुरदेखि काठमाडौं बोलाएर फिल्म नै देखाइदिइन् । छोरीले लेखेको कथा, त्यसमाथि आफ्नै जीवन कथाबाटै आएको ‘बगान’ हेरेपछि पनि उनले छोरी स्वप्निल सामु कुनै प्रतिक्रिया जनाइनन् । आमा र छोरीले एक अर्काप्रति गरेको गर्वलाई दुवैले आँखाकै परिभाषामा साटासाट गरे । आमाले भन्न खोजेको र स्वप्निलले आमालाई प्रकट गर्न चाहेको प्रेमभावलाई भावनात्मक रुपमा बुझे । फिल्म हेरेपश्चात् उतै पाल्पा फर्किएकी आमालाई सम्झँदै स्वप्निलले यस्तै अनुमान लगाइन् । परिवारकी जेठी छोरी हुन् स्वप्निल । डेढ दशकअघि बुबाको मृत्यु हुँदा उनी प्लस टुको अध्ययन क्रममै थिइन् भने दुई भाइहरु ६ र ८ कक्षामा पढ्दै थिए । बुबाको मृत्युपछि उनकी आमामा आएको परिवर्तनले उनलाई नराम्रोसँग बिझ्यो। ‘बुबा खसेपछि मेरो आमाको हुलिया नै चेन्ज भयो । आमा पहिलाको जस्तो रहनुभएन’, उनले त्यो समयको स्मरण गर्दै भनिन्,‘सधैं रातो र रंगिन लुगामा देख्ने आमालाई मैले सादा रुपमा देखेँ । सधैं खुसी र रमाइलो गर्ने आमा बुबा बितेपछि शान्त हुनुभयो ।’ बुबाको मृत्यु कर्मकाण्ड सकेर चोखिने दिनको याद स्वप्निलको स्मरणमा अझै ताजै छ । चोखिने दिन उनले आमालाई हरियो र रातो मिसिएको फूलबुट्टे लुंगी ल्याइदिएकी थिइन् । रातो मिसिएकै कारण गाउँकै नाता पर्नेले उनको आमालाई त्यो लुंगी लगाउन दिएनन् । लुगाकै निम्ति झगडा नै भयो । हरियो सादा पोसाकमै उनकी आमालाई चोख्याइयो । त्यो बेला उनले प्रतिवाद पनि गरेकी थिइन् तर गाउँ र समाजको अगाडि उनको केही लागेन । त्यतिबेला उनी खुब रोइन् । उनले स्मरण गरिन्,‘मेरो आमाको हालत दिएर म धेरै रोएँ । आमालाई त्यो हालतमा देखेर जति रोएकी थिएँ, त्यति त बुबा बित्नुभएको बेला पनि रोएकी थिइँन ।’ त्यो क्षणलाई उनले त्यतिकै बिर्सिएर जान दिइनन् । दिनहरु बित्दै गए । आमालाई उनले दिनप्रतिदिन बुबाको रुपमा देखिन् । ‘बुबा नभएपछि आमा एक्लो त हुनुभयो तर कमजोर हुनुभएन । आमा एकदम बलियो रुपमा बाहिर आउनु भयो । घरको कामभन्दा अरु केही नगरेको मेरी आमाले तीन छोराछोरीको जिम्मेवारी लिनुभयो र आफैं पनि उभिनुभयो’, उनले आमाको बारेमा सुनाइन् । आमा परिवार, सन्तान, समाज र आफ्नै जीवनसँग पनि एक्लै लडिरहेको देखेर स्वप्निललाई कता–कता मनमा चिसो पसिरहन्थ्यो तर आमालाई अर्काे जीवनको सुरुवात गर्नका लागि उनी सुझाउन असमर्थ हुन्थिन् । यही कुरा मनमा खड्कीरहेपछि नै उनले एकै बसाइमा ‘बगान’ कथा लेखेकी थिइन् । उनका अनुसार जुन कथा जनता पब्लिकेशनले २०७८ तिर प्रकाशन गरेको ‘प्रेमिल’ संयुक्त कथासंग्रहभित्र संग्रहीत छ । आमालाई वास्तविक रुपमा बेहुली र नयाँ जीवनमा जिउँदै गरेको सपना पूरा गर्न उनले लेखनको सहारा लिइन् । भलै कथाकै फर्ममै उनले जन्माएकी एकल महिला पात्र छिन्, तर उनले त्यसैमा आमामाथि देखेको सपना पूर्ण गरेकी छन् ।
विवाहको कुरा अगाडि सार्दा फिल्ममा झैं ‘को हो तँ मेरो बिहेको निर्णय गर्ने ? के बोलिरा छु भनेर होस त छ तँलाई ?’ भनेर स्वप्निललाई आमाले गालामा चड्कन लगाइनन् । ‘होस त यो ढोंगी र पाखण्डी समाजलाई छैन’ भनेर उनले आमालाई जवाफ पनि सिधै फर्काइनन् । कथामार्फत नै आफ्नी आमा मात्र होइनन् सदियौंदेखि एकल जीवन जिउन विवश लाखौं आमाहरुको कथालाई अगाडि ल्याउँदा उनी निकै खुसी र सन्तुष्ट छिन् । अझ उनीभन्दा उनकी आमा झनै खुसी छिन् । जुन खुसी शब्दमा व्यक्त गर्न नसकिने खालको असीमित छन् । उनकै शब्दमा ‘आमा हुनु भनेको मसँग कोही छ भन्ने महसुस हुनु हो । सन्तान र आमाबीचको सम्बन्ध कुनै शब्द र भावले प्रस्ट्याउन सकिँदैन ।’ आफैं आमा भएपछि लेखेको कथामा आमा हुनुको भावसँगै जिम्मेवारीले थिचिएका भावहरु मिश्रित रुपमा अभिव्यक्त भएको उनको भनाई छ । उनलाई थाहा छ, उनकी आमा विद्रोही स्वभावकी छिन् । मान्छे एक ठाउँमा मात्र होइन, चलायमान हुनुपर्छ । मूल जरा छोडेर गएपछि मान्छेले बाँच्न सिक्छ भन्ने उनकी आमाको धारणा छ । ६० वर्षको दौरानमा पनि आफ्नो आमासँग अझै गरेर एक्लै खान र उभिन सक्ने आँट छ । तर आमाले एक्लै कटाएका दिन, रात र वर्षहरु उनले नजिकैबाट नियालिरहेकी छन् । महिलाका लागि साथ भनेको आर्थिक रुपमा मात्र होइन । भावनात्मक साथ जुनसुकै उमेर र समयमा पनि चाहिन्छ भन्ने उनको तर्क छ । ‘नाता र सम्बन्धमा आफुलाई भाग लगाउँदा लगाउँदै कहिल्यै तिमी आफ्नो भागमा परिनौ’ ‘बगान’मा समेटिएको यो संवाद जस्तै आमाहरु कहिल्यै आफ्नो लागि बाँचेनन् । उनीहरुले आफ्ना सबै रहर परिवार, सन्तान र समाजकै प्रतिष्ठाका लागि बाँधि राखेका छन् भन्ने उनलाई लाग्छ । आमालाई पनि बोल्न, घुम्न, साथी बनाउन, मन्दिर या पार्क जान मन लाग्छ । आजको सन्तानहरुले आमाहरुलाई बुझ्न जरुरी रहेको उनको मत छ । सबै सन्तानप्रति उनको आग्रह छ, ‘आमालाई भगवानको रुपमा पुज्ने होइन मान्छेका रुपमा बाँच्न दिउँ । हिजोसम्म सन्तान र समाजका लागि बाँचिरहेकी आमालाई आज आफ्नै रहरहरुमा खुलेर बाँच्न दिउँ ।’
आमाजस्तै थुप्रै महिलाहरुका भोगाइहरु लेखनमा आउनुपर्ने स्वप्निलको धारणा छ । देखे/सुनेको भन्दा भोगेका कुराहरु जीवन्त हुने सुनाउँदै महिलाका भोगाईहरु लेखनमा गहन रुपमा आउन महिला स्रष्टाहरुको सहभागिता अझै प्रभावकारी बन्न सक्ने उनको ठम्याई छ ।
कथासंग्रह ‘उज्यालोतिर’ प्रकाशनका साथै थुप्रै कथा र कवितामार्फत आम साहित्यप्रेमी माझ स्थापित स्वप्निललाई अब आफु चिनिन होइन पोखिनका लागि लेख्न मन छ । जीन्दगी र सम्बन्ध भनेको कुरा कसैको परिभाषा र समयमा बाँधिएको छैन । यसमा कुनै भरोसा छैन भन्ने कुरा उनले जीवनका वियोगान्त उत्तारचढावहरुमा बुझेकी छन् । त्यसैले लेखनप्रति पनि उनको योजना छैन । जे देखिन्छ, जे लेख्नुपर्छ भन्ने लाग्छ, त्यही नै लेखेर उनी आफुलाई शब्दहरुमा समर्पित गरिदिन्छिन् । यसरी नै यात्रा अगाडि बढिरहन्छ भन्ने उनलाई लाग्छ ।