इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल (EVMIAN), मिडिया स्पेस सोलुसन तथा फ्युचरएक् ट्रेड फेर एन्ड इवेंट्स को संयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरु हुने भएको छ ।
नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी दिए ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन् ।
एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेसन लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन् ।
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादित विद्युत् खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ ।
यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ । गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने आयातका हिसाबले कार जिप भ्यानको शीर्षकमा विद्युतीय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतीय दुई पाङग्रे, रिक्सा माइक्रोवस बस तथा अन्य सवारी साधनहरूमा पनि उल्लेख्य रूपमा बढेको छ । आउने बर्सहरूमा विद्युतीय सवारीको बजार क्षेत्र अझै विस्तारित हुँदै जानेमा कुनै शङ्का छैन ।
हालका दिनहरूमा प्रायजसो ग्राहकहरूको रोजाइ विद्युतीय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विद्युतीय सवारीहरू राम्रो सँग बिक्री भई रहेको EVMIAN का अध्यक्ष तथा यस एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटाले बताए। EVMIAN को उद्देश्य र कार्यक्रमहरू माथि थप प्रस्ट पार्दै सापकोटाले, EVMIAN विद्युतीय सवारी साधन सम्बन्धी काम गर्ने आयातकर्ता , निर्माणकर्ता , व्यवसायी , डिलर , चार्जिङ स्टेसन सञ्चालक सबैको साझा संस्था रहेको र विगत ११ वर्ष देखी विद्युतीय सवारीको प्रवर्धन , विस्तार तथा नीति निर्माणको काममा सहयोग गर्दै आएको इतिहास बोकेको संस्था हो । यो एक्स्पो EVMIAN को आयोजनामा हुन गइरहेको पहिलो कार्यक्रम भए तापनि भविष्यमा पनि यसलाई निरन्तरता दिने र अझै परिष्कृत गर्दै लगिने सापकोटाले बताए ।